close

विश्वमा पहिलो फोन बनाएका इन्जिनियरले नै भने- मोबाइल धेरै नचलाउनू

टेकपाना टेकपाना

असार १८, २०७९ १५:२५

विश्वमा पहिलो फोन बनाएका इन्जिनियरले नै भने- मोबाइल धेरै नचलाउनू

काठमाडौं । आज हामीले प्रयोग गरिरहेका जति पनि डिभाइस छन्, सबैले जीवन सहज बनाइरहेका छन् । विशेषगरी हामीले प्रयोग गर्ने सेलफोन हाम्रो जीवनको अभिन्न अंग बन्न पुगेको छ । फोनबिनाकाे दैनिकी कल्पनासम्म गर्न नसक्ने भएका छाैं ।

तर यो आवश्यकताभन्दा बढी लत बनिरहेकाे त छैन भन्ने प्रश्न सर्वत्र उठिरहेकाे छ । हामी हाम्रो महत्त्वपूर्ण समय मोबाइल चलाएर नै बिताउने गर्छौं ।

तर पहिलो पटक वायरलेस फोन विकास गर्ने इन्जिनियर भने आज आएर डिभाइस धेरै प्रयोग नगर्न आग्रह गरिरहेका छन् । सेल फोनको आविष्कार गर्ने इन्जिनियर मार्टिन कुपरले मानिसहरूलाई आफ्नो वास्तविक जीवन जीउन र डिभाइसहरू धेरै प्रयोग बन्द गर्न आग्रह गरेका छन् ।

हाल ९३ वर्ष उमेर पुगेका कुपरले सन् १९७३ मा मौलिक वायरलेस सेलुलर उपकरणकाे रूपमा मोटोरोला डाइनाट्याक ८००० एक्स (Motorola DynaTAC 8000X) विकास गरेका थिए ।

तर आज आफैंले वायरलेस डिभाइस आविष्कार गरेको लगभग ५० वर्षपछि उनले फोनमा कम समय बिताउन आग्रह गरेका छन् ।

हालै बीबीसी ब्रेकफास्टसँगको कुराकानीमा, यी अमेरिकी आविष्कारक एवं इन्जिनियरले मानिसहरूले धेरै डिभाइस प्रयोग गरेर आफ्नो समय बर्बाद गरिरहेको अभिव्यक्ति दिएका हुन् ।

आफ्नो जीवनको धेरै समय डिभाइसमा बिताउने व्यक्तिहरूले मोबाइलभन्दा बाहिर आएर वास्तविक जीवन जीउनुपर्ने भन्दै उनले उक्त कार्यक्रम मार्फत सुझाएका थिए ।

मार्टिनले सन् १९५० मा इलिनोइ इन्स्टिच्युट अफ टेक्नोलोजीबाट आफ्नो स्नातक सकेर आईआईटीबाट इलेन्ट्रिकल इन्जिनियरिङमा स्नातकोत्तर गरेका थिए ।

सन् १९५४ मा मोटोरोला कम्पनीमा काम गर्नुभन्दा अगाडि उनी टेलिटाइप कर्पोरेशनमा काम गर्थे । उनले आफ्नो जीवनकालमा थुप्रै उत्पादनको आविष्कारमा महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

कुपरले सन् १९७० मा कार फोनको आविष्कार गरेका थिए । उक्त कार फोन गाडीको ब्याट्रीमा जडान गरिन्थ्यो र रेडियो च्यानल प्रयोग गरेर फोनकल गर्नको लागि प्रयोग गरिएको थियो । त्यो समयमा यो प्रविधि त्यति धेरै चल्न सकेन ।

उनले अन्तर्वार्तामा बताए अनुसार यो प्रविधि प्रयोग गर्दा २० वटा कलमा एउटा कल लाग्ने सम्भावना थियो । यद्यपि पछि गएर मार्टिन पहिलो पोर्टेबल फोन अथवा वायरलेस फोनको आविष्कार गर्न सफल भए ।

उनले यो फोनले कसरी काम गर्नेछ भनेर अवधारणा बनाउनुअघि वायरलेस फोन कस्तो देखिनेछ भन्ने अवधारणा बनाएका थिए । उनले वायरलेस फोन मानिसको गोजीमा अट्ने जत्रै सानो हुनुपर्छ, तर कानदेखि मुखसम्म आइपुग्ने जत्रो ठूलो हुनुपर्छ भन्ने सोचेका थिए ।

आफ्नो रेडियो टेक्नोलोजी प्रविधिको अनुभवलाई प्रयोग गरेर उनले वायरलेस फोनका लागि काम गर्न थाले । यसपछि मोटोरोलाको अन्य सहकर्मीहरुसँग मिलेर उनले तीन महिनाभित्र नै वायरलेस फोन निर्माण गरे, जसका लागि कम्पनीले करिब १० करोड अमेरिकी डलर खर्च गरेको थियो ।

सन् १९७३ अप्रिल ३ तारिखमा मार्टिनले विश्वको पहिलो वायरलेस फोनमार्फत आफ्नै साथीलाई फोन गरेर यसको सफल परीक्षण गरेका थिए ।

त्यतिबेला बनाइएको उक्त फोन चार्ज हुन १० घण्टा लाग्थ्यो र त्यसको ब्याट्री २५ मिनेटमात्र टिक्थ्यो भने फोन करिब १० इन्च लामो थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३