close

बन्द हुने भयो मेटाको क्रिप्टो वालेट ‘नोभी’

टेकपाना टेकपाना

असार १९, २०७९ ११:५४

बन्द हुने भयो मेटाको क्रिप्टो वालेट ‘नोभी’

काठमाडौं । मेटाले आफ्नो क्रिप्टोकरेन्सी वालेट ‘नोभी’ बन्द गर्ने भएको छ । सार्वजनिक भएको एक वर्ष पनि नपुग्दै कम्पनीले आफ्नो क्रिप्टोकरेन्सी वालेट बन्द गर्ने निर्णय लिएको हो ।

ब्लुमबर्गमा प्रकाशित लेखका अनुसार कम्पनीले सेप्टेम्बर १ बाट यो प्लेटफर्म बन्द गर्न लागेको हो । जसमा प्रयोगकर्ताले जुलाई २ सम्म अन्तिम पटक फन्ड लोड गर्न सक्नेछन् । मेटाले आफ्नो प्रयोगकर्तालाई जतिसक्दो चाँडो वालेटमा भएको रकम झिक्न सुझाव दिएको छ । अन्यथा मेटा आफैले नोभीको अन्तिम दिनसम्म प्रयोगकर्ताको वालेटमा बाँकी रकम उनीहरूको बैङ्क अकाउन्ट र डेबिट कार्डमा ट्रान्सफर गर्ने पनि बताइएको छ । 

कम्पनीले गत अक्टोबरबाट मात्रै नोभी (Novi) क्रिप्टोकरेन्सी वालेटको सुरु गरेको थियो । यो वालेट मेटाको आन्तरिक क्रिप्टोकरेन्सी संस्था डाइम (Diem) को समर्थन बिना नै सार्वजनिक गरिएको थियो । त्यसको एक महिनापछि मेटाका क्रिप्टो प्रमुख डेभिड मर्कस ले कम्पनी छोडे । सन् २०२२ को सुरुवातमा डाइमले आफ्नो सञ्चालन बन्द गर्ने घोषणासमेत गरेको थियो । नोभी र डाइम अस्ताएसँगै कम्पनीले कुनै डिजिटल वालेटमा काम गर्ने छैन भन्ने चाहिँ होइन । 

कम्पनी ब्लकचेन प्रविधिबाट धेरै टाढा नभएको कम्पनीको भनाई छ । आगामी दिनमा वेब थ्री स्पेसको प्रयोग मार्फत प्रयोगकर्तालाई धेरै कुराहरू अपेक्षा गर्न पनि आग्रह गरेको छ । यो प्रविधि मार्फत मेटाभर्सले मानिस र व्यवसायको भ्यालू बढाउन सक्ने कुरामा कम्पनी धेरै आशावादी भएको पनि लेखमा उल्लेख गरिएको छ । 

वास्तवमा कम्पनीले गत महिना नै ‘फेसबुक पे’ लाई ‘मेटा पे’ मा रिब्रान्ड गर्ने घोषणा गरेको थियो । जसमा कम्पनीका संस्थापक तथा सीईओ मार्क जुकरबर्गले मेटाभर्सका लागि डिजिटल वालेट निर्माण गर्नु पहिलो पाइला रहेको बताएका थिए । ‘मैले भविष्यको त्यस्तो कल्पना गरेको छु जहाँ मेटा पे’ले तपाईंहरूले खरिद गर्नुभएको वा भर्चुअल संसारमा सिर्जना गर्ने सबै डिजिटल बस्तुहरू स्टोर गर्ने ठाउँका रूपमा काम गर्नेछ ।’ उनले बताएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३