close

डिजेल पेट्रोलबाट चल्ने गाडीलाई कसरी बनाउने बिजुली गाडी ? 

अनु पाैडेल अनु पाैडेल

असार २१, २०७९ १८:४

डिजेल पेट्रोलबाट चल्ने गाडीलाई कसरी बनाउने बिजुली गाडी ? 

काठमाडौं । निरन्तर उकालो लागिरहेको इन्धनको मूल्य, वातावरण प्रदुषण जस्ता विविध कारणले अहिले बिजुली गाडी आईसी इन्जिन गाडीको विकल्प भएका छन् । यस्तोमा पुराना गाडीलाई हाइब्रिड (इन्धन र ब्याट्री दुवैबाट चल्ने) वा पूर्ण विद्युतीय सवारीमा रूपान्तरण गर्न समेत थालिएको छ । 

यस्तोमा इन्धनयुक्त सवारीलाई विद्युतीय वा हाइब्रिड गाडी कसरी बनाइन्छ र र यसको कानूनी प्रक्रिया के छ भन्ने विषयमा तपाईँलाई पनि उत्सुकता हुन सक्छ । त्यसैले आज हामी यसैको विषयमा चर्चा गर्दैछौँ ।

इन्जिन गाडीलाई यसरी बनाइन्छ बिजुली गाडी 

इन्जिन गाडीलाई बिजुली गाडीमा कसरी रूपान्तरण गरिन्छ भन्ने कुरामा चर्चा गर्नु अघि एकैछिन यी दुई गाडीबीचको आधारभूत भिन्ताको विषयमा कुरा गरौँ । इन्जिन गाडी डिजेल वा पेट्रोल जस्ता इन्धनको सहयोगमा चल्छ भने बिजुली गाडी ब्याट्रीबाट सञ्चालन हुन्छ ।

डिजेल पेट्रोलबाट चल्ने गाडीमा इन्जिन भए जस्तै बिजुली गाडीमा विद्युतबाट चल्ने मोटर हुन्छ । इन्धन भर्न पेट्रोल पम्प गए जस्तै बिजुली गाडी घरमै वा चार्जिङ स्टेसनमा चार्ज गर्नुपर्छ । 

त्यस बाहेक दुवै प्रकारका सवारीको बाहिरी र भित्री डिजाइन करिब करिब मिल्दोजुल्दो नै हुन्छ । इन्जिन गाडीमा चालकले एक्सिलेटर प्रयोग गर्दा इन्जिनबाटै शक्ति बढेर आउँछ भने विद्युतीय सवारीमा त्यसको काम कन्ट्रोलरबाट हुन्छ । 

हाइब्रिड सवारीलाई प्रायः स्ट्यान्डर्ड हाइब्रिड वा प्यारालल हाइब्रिड सवारी पनि भन्ने गरिन्छ । यस्ता गाडीमा ‘इन्टरनल कम्बश्चन’ (आईसी) इन्जिन र विद्युतीय मोटर दुवै हुन्छ । यसमा रहेको आन्तरिक कम्बश्चन इन्जिनले डिजेल, पेट्रोल लगायतका अन्य प्रकारको इन्धनबाट ऊर्जा प्राप्त गर्छ भने मोटरले ब्याट्रीबाट । 

पछिल्लो समय नेपालमा विभिन्न कम्पनीले दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीलाई ‘मोडिफाई’ (स्वरूप परिवर्तन गर्ने) गरेर पूर्ण विद्युतीय वा हाइब्रिड बनाउन थालेका छन् । पुराना तथा नयाँ इन्धनयुक्त सवारीलाई विद्युतीय वा हाइब्रिडमा सवारीमा रूपान्तरण गर्न निश्चित प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । 

यसका लागि पहिलो चरणमा रूपान्तरण गर्न चाहेको सवारीलाई विद्युतीय वा हाइब्रिडमा रूपान्तरण गर्ने कम्पनीमा लगेर चेकजाँच गराउनुपर्ने हुन्छ । त्यसक्रममा आफ्नो सवारीमा प्रयोग गर्ने कन्ट्रोलर, मोटर र ब्याट्री क्षमताबारे राम्रोसँग बुझ्नुपर्ने हुन्छ ।

यसमा प्रयोगकर्ताले राख्ने विविध पाटपुर्जासँगै सवारीको क्षमता पनि अध्ययन गरिन्छ । दोस्रो चरणमा सवारी धनीले आफ्नो सवारी रूपान्तरण गर्न चाहेको भन्दै सम्बन्धित यातायात कार्यालयमा निवेदन पेश गर्नु पर्छ । निवेदन दिएपछि विभागमा रहेका प्राविधिकले सवारी परीक्षण गर्दछन् । 

परीक्षण गर्दा रूपान्तरण गर्न मिल्ने भएमा बाँकी प्रक्रिया अगाडि बढ्छ । त्यस्तै, तेस्रो चरणमा सवारी रूपान्तरण गर्दै आएका विभिन्न कम्पनीमा गएर आफ्नो सवारीको इन्जिन परिवर्तनका लागि निवेदन दिनुपर्ने हुन्छ । 

सम्बन्धित कम्पनीमा निवेदन पेश गर्दा सवारी धनीले आफ्नो सवारीको ब्लुबुक र नागरिकताको प्रतिलिपि समेत बुझाउनु पर्छ । यति गरिसकेपछि सम्बन्धित कम्पनीले सवारीमा माग गरिए अनुसारका विभिन्न उपकरण जडान गरिदिन्छ । 

कम्पनीले सवारी रूपान्तरणपछि जडान गरिएको ब्याट्री, मोटर, कन्ट्रोलर लगायतमा ग्यारेन्टी तथा वारेन्टी जस्ता सुविधा उल्लेख गरेका विभिन्न कागजात प्रदान गर्दछ । ती सम्पूर्ण कागजात पुनः सम्बन्धित यातायात व्यवस्था कार्यालयमा गएर पेश गर्नु पर्छ । 

त्यसपछि यातायात कार्यालयले रूपान्तरण गरिएको सवारी पुनः परीक्षण गर्छ । परीक्षणका क्रममा रूपान्तरण भएको सवारीको सम्पूर्ण मापदण्ड पुरा भएको अवस्थामा कार्यालयले इन्धनबाट चल्ने सवारीको ब्लुबुकमा विद्युतीय सवारी भनेर उल्लेख गरिदिन्छ ।

के छ कानूनी आधार ?

नेपाल सरकारले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ का केही बुँदा संशोधन गर्दै इन्धनबाट चल्ने सवारीलाई विद्युतीयमा रूपान्तरण गर्न सकिने निर्णय गरेको छ ।

२०७८ चैत्र १४ गते राजपत्रमा एक सूचना प्रकाशित गर्दै ऐनको दफा ३९ को उपदफा (२) को प्रतिबन्धात्मक वाक्यांश तीन वर्षसम्म लागू नहुने ‘वातावरणमैत्री वा ऊर्जा दक्षता मूलक फेरबदल गरिने सवारी साधनको हकमा’ छुट दिने उल्लेख गरेको छ ।

ऐनको दफा ३९ मा सवारी साधनको स्वरूप परिवर्तन गर्न नपाउने व्यवस्था थियो । इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीयमा रूपान्तरण गर्न कर लगायतका नियम तथा प्रावधानको व्यवस्था नरहेकाले यस सम्बन्धमा कानुन नबनेसम्मका लागि सरकारले वैकल्पिक व्यवस्था गर्दै तीन वर्षसम्मका लागि सवारी रूपान्तरण गर्न पाउने अनुमति दिएको छ ।

यो व्यवस्थासँगै इन्जिनबाट विद्युतीयमा रूपान्तरण हुने सवारीले तीन वर्षसम्म करमा पनि छुट पाउने निर्णय भएको छ । सरकारको यो निर्णयसँगै पछिल्लो समयमा पुराना बेबारिसे र प्रयोगकर्ताले चलाउँदै आएका इन्जिन गाडीलाई पूर्णरूपमा विद्युतीय सवारीमा रूपान्तरण गर्न ‘रेट्रोफिटिङ’ प्रविधिको प्रयोग हुने गरेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३