close

साओमीले ल्यायो १ इन्चको सेन्सर भएको फोन, डल्बी भिजन एचडीआर भिडिओ रेकर्ड गर्न सकिने

टेकपाना टेकपाना

असार २१, २०७९ २२:७

साओमीले ल्यायो १ इन्चको सेन्सर भएको फोन, डल्बी भिजन एचडीआर भिडिओ रेकर्ड गर्न सकिने

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले आफ्नो फ्ल्यागशिप स्मार्टफोन ‘मी १२ एस अल्ट्रा’ सार्वजनिक गरेको छ । लाइकासँगको सहकार्यमा क्यामेरामा ठूलो परिवर्तनसहित कम्पनीले आफ्नो फ्ल्यागशिप फोन बजारमा ल्याएको हो ।

यससँगै स्मार्टफोनको बजारमा मी १२ एस अल्ट्रामा सबैभन्दा आकर्षक क्यामेरा फिचर उपलब्ध भएको बताइएको छ । यसअघि कम्पनीले मी ११ अल्ट्रामा अल्ट्रावाइड र पेरिस्कोप जुम क्यामेरालाई लक्षित गर्दै आधा इन्चका दुई ओटा सेन्सर उपलब्ध गराएको थियो ।

मी १२ एस अल्ट्रामा भने एक इन्चको सेन्सर राखिएको छ । कम्पनीले यो फोनमा ५०.३ मेगापिक्सेल क्यामेरामा सोनीको फ्ल्यागशिप सेन्सर अर्थात एक इन्चको आईएमएक्स ९८९ (IMX989) प्रयोग गरेको छ । 

कम्पनीले आफ्नो फ्ल्यागशिप फोनको क्यामेरालाई अपग्रेड गर्न लाइकासँग सहकार्य गरेको हो । मी १२ एस अल्ट्रा क्यामेरामा लाइकाका दुई ओटा सफ्टवेयर प्रयोग गरिएको छ ।

जस्ताको तस्तै तस्वीर खिच्नको लागि लाइका अथेन्टिक लुक प्रयोग गर्न सकिन्छ भने कम्प्युटेसनल फोटोग्राफी अर्थात वास्तविक भन्दा अलिक फरक वा राम्रो तस्वीरको लागि लाइका भाइब्रेन्ट लुकको प्रयोग गर्न सकिनेछ । 

यसका साथै फोनमा लाइकाका विभिन्न फिल्टरहरू पनि उपलब्ध गराइएको छ । त्यसैगरी मोबाइलको ट्रिपल क्यामेरा सेटअपमा बाँकी दुई क्यामेरामा भने एउटा ४८ मेगापिक्सेलको सोनी आईएमएक्स ५८६  (IMX586) १/२.० सेन्सर छ भने १२/१२ मेगापिक्सेलका अल्ट्रावाइड र टेलिफोटो क्यामेरा पनि दिइएका छन् । 

भिडिओ तर्फ भने मी १२ एस अल्ट्रा डल्बी भिजन एचडीआर रेकर्डिङ गर्ने पहिलो एन्ड्रोइड फोन हुनेछ । स्न्यापड्रागनको एट प्लस जेन वान चिपसेट भएको यो फोनमा १२० हर्जको रिफ्रेश रेट सहित ६.७४ इन्चको डिस्प्ले र ४,८६० एमएएचको ब्याट्री राखिएको छ ।

फोन ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज तथा १२ जीबी र्‍याम सहित ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ । 

हाललाई चिनियाँ बजारका लागि मात्र सार्वजनिक भएको यो फोनको ८ जीबी र्‍याम र २५६ जीबी भेरियन्टको मूल्य ५,९९९ युआन (१ लाख १२ हजार रुपैयाँ) र १२ जीबी र्‍याम सहित २५६ जीबी भेरियन्टको मूल्य ६,४९९ युआन (१ लाख २२ हजार रुपैयाँ) राखिएको छ ।

त्यसैगरी १२ जीबी र्‍याम सहित ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य भने ६,९९९ युआन (१ लाख ३१ हजार रुपैयाँ) रहेको छ ।       

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३