close

माइक्रोसफ्ट एक्सेलमा यसरी बनाउनुहोस् बबल भएको चार्ट

टेकपाना टेकपाना

असार २२, २०७९ १०:५४

माइक्रोसफ्ट एक्सेलमा यसरी बनाउनुहोस् बबल भएको चार्ट

काठमाडौं । कुनै पनि डेटाको विवरण प्रष्ट रूपमा सबैले बुझ्नेगरी राख्न निकै नै आवश्यक हुन्छ । त्यसका लागि हामी प्राय: माइक्रोसफ्ट एक्सेलको सहायताले चार्ट वा ग्राफ बनाउने गर्छौं ।

आज हामी ग्राफ वा चार्टका ठाउँमा त्यस्ता डेटालाई देखाउन बबल कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा चर्चा गर्छौं ।

विशेषगरी वित्तीय डेटा देखाउन स्क्याटर चार्टका रूपमा बबल प्रयोग गर्न सकिन्छ । यद्यपि यस्ता किसिमका चार्ट अन्य डेटा समेत देखाउन प्रयोग गर्न सकिन्छ ।

यदि कुनै पनि दुई वा दुईभन्दा बढी डेटाबीच तुलना गर्ने हो भने पनि तपाईंले बबल चार्टको प्रयोग गर्न सक्नुहुन्छ ।

यसरी तयार पार्नुहोस् बबल चार्ट सहितको डेटा

-बबल चार्ट एक्सेलमा निर्माण गर्न सकिने एक चार्ट हो । यो आकर्षक देखिने भएकाले जो कोहीको ध्यान चार्टमा सहजै जान्छ । चार्ट बनाउनुभन्दा पहिले तल उल्लेख गरिएका कुराहरू ध्यान दिन आवश्यक छ ।

-बबल चार्टका माध्यमबाट आफूले चार्टमा प्लट गर्न चाहेको डेटा आफ्नो शैलीले राख्न सकिन्छ ।

-यसमा सबैभन्दा बढी ध्यान दिन पर्ने त्यहाँ भएका विभिन्न डेटाको भ्यालुहरूमा हो । x को भ्यालु पहिलो पङ्क्ति (Row) वा कोलुममा राख्नुपर्ने हुन्छ । त्यस्तै y को भ्यालु दोस्रोमा र z को भ्यालु तेस्रोमा राख्नुपर्ने हुन्छ । याद गर्नुहोस् z मा भएको भ्यालुले नै त्यस बबलको आकारलाई निर्धारण गरेको हुन्छ ।

-ख्याल गर्नुहोस् तपाईंसँग कम्तिमा ४ वटा रो वा कोलमका डेटा हुनुपर्छ ।

-तपाईंले आफ्नो डेटा सेक्सनमा रो वा कोलमका हेडर समावेश गर्न हुँदैन । यदि तपाईंले त्यसमा समावेश गर्नुभयो भने डेटाहरू सही तरिकाले नदेखिन सक्छन् ।

याे जानिसकेपछि तपाईंले डेटा राखेर कसरी चार्ट बनाउन सकिन्छ भन्ने विषयमा सोच्नुभएको होला । अब भने डेटा कसरी राख्ने अनि त्यही अनुसारको चार्ट कसरी बनाउने भन्ने विषयमा जानकारी दिँदै छौं ।

हामी यहाँ अन्दाज गरेर निर्माण गरिएको डेटालाई लिएर एउटा चार्ट निर्माण गर्दै छौं । यसमा हामी काठमाडौं र पोखरामा बिक्री भएका ल्यापटप, त्यसको सङ्ख्या र त्यसबाट आम्दानी रकमबारे बबल चार्ट निर्माण गर्दै छौं ।

त्यसका लागि यहाँ दुईवटा टेबल निर्माण गरिएको छ । एउटामा कोठमाडौंमा बिक्री भएको ल्यापटपको विवरण र अर्कोमा पोखरामा बिक्री भएका ल्यापटपको विवरण रहेको छ ।

सबैभन्दा पहिलो रोमा वर्ष, दोस्रो रोमा सङ्ख्या र तेस्रोमा जम्मा मूल्य रहेको छ । दुबै टेबलमा फरक फरक विवरण रहेका छन् । अब यसका लागि बबल चार्ट बनाउन तपाईंले यहाँ उल्लेखित प्रक्रिया अपनाउन सक्नुहुन्छ ।

-सबैभन्दा पहिले डेटा भर्नुहोस् ।

-त्यसपछि सबै डेटालाई सेलेक्ट गर्नुहोस् ।

-त्यसपछि माथि इन्सर्टमा जानुहोस् ।

त्यहाँ गइसकेपछि तपाईंले चार्टको सेक्सन देख्न सक्नुहुन्छ । त्यसमध्ये तपाईंले स्क्याटर चार्टमा क्लिक गरी तल रहेको अल चार्ट टाइप छान्नुहोस् ।

त्यसपछि बबल भन्ने सेक्सन देख्न सक्नुहुन्छ । त्यहाँ क्लिक गर्नुहोस् ।

– चार्ट छानि सकेपछि तल ओके अप्सनमा क्लिक गर्नुहोस् ।

-त्यसपछि तपाईंले एक्जलको पेजमा आफूले नबुझ्ने किसिमको चार्ट देख्न सक्नुहुन्छ ।

त्यसलाई तल उल्लेख गरिएका प्रक्रियाबाट आकर्षक तरिकाले मिलाउन सकिन्छ । चार्टमा गएर राइट क्लिक गर्नुहोस् । त्यहाँ गएर सेलेक्ट डेटा (Select Data) छान्नुहोस् । त्यहाँ पहिले भएका सबै डेटा रिमुभमा क्लिक गरेर हटाउनुहोस् । त्यसपछि एडमा जानुहोस् । त्यहाँ गएर सिरिज नेम सेक्सनमा गएर सबैभन्दा माथिको टाइटल छान्नुहोस् ।

हामीले यहाँ काठमाडौंमा बिक्री भएका ल्यापटप छानेका छौं । त्यसपछि सिजिज एक्स भ्याल्यू (Series X value) को ठाउँमा पहिलो रो (Row) का डेटा छान्नुहोस  । 

हामीले त्यहाँ वर्ष छानेका छौं । त्यस्तै वाई (Y) को ठाउँमा सङ्ख्या र सिरिज बबल साइजका ठाउँमा जम्मा मूल्य छानेका छौं । यहाँ भएका बबलको आकार यही सेक्सनले निर्धारण गरेको हुन्छ । त्यसपछि OK मा क्लिक गर्नुहोस् । त्यसरी नै Add मा गएर पुनः पोखरामा बिक्री भएका ल्यापटपलाई छानिएकाे छ । पहिले जसरी नै सम्पूर्ण डेटा राखिसकेपछि बबल चार्ट यस्तो बनेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३