close

भाइरल टिकटक च्यालेन्जका कारण २ बालिकाको मृत्यु भएपछि एप विरुद्ध मुद्दा 

टेकपाना टेकपाना

असार २२, २०७९ १५:३

भाइरल टिकटक च्यालेन्जका कारण २ बालिकाको मृत्यु भएपछि एप विरुद्ध मुद्दा 

काठमाडौं । भाइरल टिकटक च्यालेन्जका कारण दुई बालिकाको मृत्यु भएपछि परिवारले कम्पनी विरुद्ध मुद्दा दायर गरेका छन् । दुवै परिवारले आफ्ना छोरीहरूको मृत्युमा टिकटकको ‘खतरनाक’ अल्गोरिदम जिम्मेवार भएको आरोप लगाएका छन् ।

सन् २०२१ तिर टिकटकमा भाइरल “ब्ल्याकआउट च्यालेन्ज” नामक च्यालेन्ज भाइरल बनेको थियो, जसमा प्रयोगकर्तालाई आफू बेहोस नभएसम्म श्वास रोकेर बस्न हौस्याउने गरिन्थ्यो । सोही च्यालेन्जका क्रममा मृत्यु भएका दुई बालिकाका परिवारले मङ्गलबार अमेरिकाको लस एञ्जल्समा रहेको उच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।

“ती दुई बालिकाको ज्यान लिने किसिमका सामग्रीलाई प्रोत्साहन दिएको विषयमा टिकटकलाई जवाफदेखि बनाउन जरुरी छ,” सोसल मिडिया भिक्टिम ल सेन्टरका संस्थापक अधिवक्ता म्याथ्यु पी बर्गम्यानले भनेका छन् । १५ जुलाई २०२१ का दिन टिकटकको ‘ब्ल्याकआउट च्यालेन्ज’ प्रयास गर्ने क्रममा टेक्सासकी ८ वर्षीया बालिका ललानी एरिका रेनी वाल्टनको मृत्यु भएको थियो ।

मृत्यु भएकी बालिका ललानी एरिका रेनी वाल्टन/तस्वीर स्रोतः द गार्डियन

लेलानीले अप्रिल २०२१ मा आफ्नो आठौँ जन्मदिनमा उपहारमा एउटा फोन पाएकी थिइन् र चाँडै उनलाई टिकटक भिडिओको लत लाग्यो ।  टिकटकमा लोकप्रिय हुने आशामा उनी नाचेको र गाएको भिडिओ पोस्ट गरिरहन्थिन् ।

जुलाई २०२१ मा परिवारले ललानीको घाँटीमा चोट लागेको देखेको थियो, जसलाई उनले दुर्घटनाका कारण भएको बताएकी थिइन् । उनले घरमा कसैलाई थाहा नदिएरै उक्त ‘ब्ल्याकआउट च्यालेन्ज’मा भाग लिन थालेकी थिइन् ।

ललानीको मृत्यु भएको दिन उनले परिवारसँगको सडक यात्राका क्रममा घण्टौँसम्म उक्त च्यालेन्ज सहितका भिडिओ हेरेर बिताएकी थिइन् । “यदि ब्ल्याकआउट च्यालेन्ज गर्दै गरेको आफ्नो भिडिओ पोस्ट गरेको खण्डमा आफू पनि लोकप्रिय हुने विश्वासका साथ उनले त्यो च्यालेन्ज गरेकी थिइन्,” अदालतमा दायर गरिएको मुद्दामा भनिएको छ ।

“ललानी त्यस बखत आठ वर्षकी थिइन् र टिकटकले आफूलाई उक्त च्यालेन्ज गर्नका लागि उक्साएको कुरा उनले बुझ्न सकिनन् ।” यस्तै मृत्यु हुने अर्की बालिका थिइन् विसकन्सिनकी नौ वर्षीया अरियानी जाइलिन अरोयो ।

टिकटक च्यालेन्जका क्रममा मृत्यु भएकी बालिका अरियानी जाइलिन अरोयो/तस्वीर स्रोतः द गार्डियन

सात वर्षको छँदा उनले फोन पाएकी थिइन् र दैनिक थुप्रै टिकटक प्रयोग गर्थिन् । क्रमशः उनी टिकटक पारखी बन्दै  गइन् र नाचेको भिडिओ राख्दै गएपछि उक्त एपको लतमा परिन् ।

जनवरी २०२१ मा अरियानीको परिवारले उनीसँग च्यालेन्जका क्रममा एक टिकटक प्रयोगकर्ताले आफ्नो ज्यान  गुमाएको घटनाको बारेमा कुराकानी समेत गरेका थिए । तर आफूले कहिल्यै पनि त्यस्ता जोखिमपूर्ण च्यालेन्जमा भाग नलिने आश्वासन दिएकी थिइन् ।

यद्यपि २६ फेब्रुअरी २०२१ का दिन उनका पाँच वर्षका भाईले अरियानीलाई श्वास नफेरिरहेको अवस्थामा फेला पारे । तत्काल उनलाई स्थानीय एक अस्पतालमा पुर्‍याइयो, तर उनको मृत्यु भइसकेको थियो ।

“घातक ब्ल्याकआउट च्यालेन्ज आफ्नो एपमार्फत फैलिरहेको कुरा टिकटकलाई थाहा थिएन भन्ने हुँदैन र उनीहरूको अल्गोरिदमले ब्ल्याकआउट च्यालेन्जका सामग्री मृतक दुई बालिका सहित बालबालिकामा पुर्‍याइरहेको थियो ।”

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३