close

कोटेश्वर-कलङ्की सडक खण्डमा बनेको ‘रिङरोड ग्रिन बेल्ट’ उद्घाटन, अब स्मार्ट बत्ती जडान गरिने

टेकपाना टेकपाना

असार २२, २०७९ १६:४६

कोटेश्वर-कलङ्की सडक खण्डमा बनेको ‘रिङरोड ग्रिन बेल्ट’ उद्घाटन, अब स्मार्ट बत्ती जडान गरिने

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत कोटेश्वर कलंकी सडक खण्डमा तयार पारेको ग्रीन बेल्टको उद्घाटन भएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, वन तथा भूसंरक्षण विभागका महानिर्देशक डा. राजेन्द्र केसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले मंगलबार संयुक्त रुपमा उक्त ग्रीन बेल्ट उद्घाटन गरेका हुन् ।

एनसेलले वन तथा भूसंरक्षण विभागसँगको सहकार्यमा रिङरोडको कोटेश्वर-कलंकी सडक खण्डमा हरियाली विकास, निर्माण तथा संरक्षणको काम गर्दै आएको छ। कम्पनीले आफ्नो सामाजिक योगदान अन्तर्गत त्यस क्षेत्रमा ल्यान्ड स्केपिङ (सम्याएर जमिन मिलाउने कार्य) सहित हरियाली निर्माणको काम सम्पन्न गरी त्यसको संरक्षण गरिरहेको छ।

यो परियोजना हरियाली विकासको सवालमा एक उदाहरणीय काम बनेको र यसले रिङरोड सडक खण्डमा स्वच्छता र हरियालीलाई प्रवर्द्धन गरेको छ । कार्यक्रम अन्तर्गत एनसेलले सो क्षेत्रमा वृक्षरोणमा पनि योगदान पुर्‍याएको छ ।

यस किसिमको हरियाली विकास तथा संरक्षणले वातावरण संरक्षणमा योगदान पुर्‍याउनुका साथै समुदाय र जनमानसका लागि स्वस्थ वातावरण निर्माणमा समेत योगदान पुर्‍याउने अपेक्षा राखिएको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले दिगो विकास लक्ष्यसँग जोडिएको सरकारको वातावरणसम्बन्धी लक्ष्य र कम्पनीको नेट जिरो कार्बनको आकांक्षा अनुरूप स्वस्थ वातावरण निर्माणमा योगदान पुर्‍याउन पाएको भन्दै खुसी व्यक्त गरे ।

“हामी वन तथा भूसंरक्षण विभाग, ललितपुर महानगरपालिका, काठमाडौं महानगरपालिका, सम्बन्धित वडाहरू र अन्य सरोकारवालाहरूप्रति आभारी छौं । यो परियोजना सार्वजनिक—निजी साझेदारीको उत्कृष्ट उदाहरण हो र यसले हामी कसरी यस्ता परियोजनाहरू सामूहिक रूपमा साकार पार्न सक्छौं भन्ने कुरा प्रष्टाएको छ ।”

वन तथा भूसंरक्षण विभागका महानिर्देशक डा. राजेन्द्र केसीले कलङ्की-कोटेश्वर सडक खण्डका ९० प्रतिशत बोट बिरुवा जीवितै राख्ने आफूहरूको प्रतिबद्धता रहेको स्मरण गरे ।

“केही प्रतिस्थापन गरेर शत प्रतिशत बोट बिरुवा जीवित राख्न सक्नु ठूलो उपलब्धि हो । रिङरोडको ग्रीन बेल्ट क्षेत्रमा ल्यान्डस्केपिङ, हरियाली प्रवर्द्धन र सौन्दर्यीकरणमा निजी र सार्वजनिक सहकार्यको उत्तम उदाहरण प्रस्तुत गरेकोमा हामी एनसेललाई धन्यवाद दिन चाहन्छौँ,” उनले भने ।

यो परियोजनाको बारेमा आफ्नो उत्साह व्यक्त गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आफूहरूले सम्पन्न गरेका सुन्दर परियोजना मध्ये यो एउटा भएको बताए ।

“त्यसैले म ललितपुर महानगरपालिकाको तर्फबाट एनसेललाई धन्यवाद दिन चाहन्छु,” उनले भने, “ललितपुरलाई स्मार्ट सिटीमा परिणत गर्ने हाम्रो भिजन अन्तर्गत चार ओटा रुटमा स्मार्ट स्ट्रिट लाइट जडान गर्ने कार्य सम्पन्न गरी सहरमा १४०० बत्ती जडान गर्ने काम गरिरहेका छौं ।”

अर्को चरण भनेको ललितपुर भित्र पर्ने रिङरोडको ७.९ किलोमिटर क्षेत्रमा स्मार्ट बत्ती जडान गर्नु रहेको उनले बताए । आफ्नो सामाजिक पहल अन्तर्गत स्थापना कालदेखि स्वास्थ्य, शिक्षा, वातावरण, प्रकोप रोकथाम तथा प्रतिकार्य र जीविकोपार्जन लगायतका क्षेत्रमा एक अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको योगदान गरिसकेको एनसेलले बताएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३