२०७९, २६ श्रावण बिहिबार   |  
Thursday 11th August 2022

गुगलमा व्यक्तिगत डेटा देखियो ? अब आफैंले हटाउन मिल्ने

google search for free to use images

काठमाडौं । गुगलमा आफ्नो व्यक्तिगत विवरण देखिए अब प्रयोगकर्ताले हटाउनका लागि अनुरोध गर्नसक्ने भएका छन् । यो फिचर प्रयोगकर्ताले वर्षौँ अघिदेखि ल्याउन आग्रह गर्दै आएका थिए ।

गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले हालै सार्वजनिक गरेको नयाँ पाेलिसी तथा टुलमा प्रयोगकर्ताले आफ्ना निजी जानकारीहरू हटाउन अनुरोध गर्नसक्ने फिचर ल्याएको उल्लेख छ ।

यो टुलका माध्यमबाट प्रयोगकर्ताले इन्टरनेटमा भएका आफ्ना व्यक्तिगत विवरणहरू सहजै हटाउन सक्छन् ।

हामीले भुलचुक इन्टरनेटमा आफ्नो ईमेल एड्रेस, फोन नम्बर लगायत अन्य संवेदनशील विवरणहरू इन्टरनेटमा राखेका हुनसक्छौं, जसलाई अब गुगलको यो फिचरका माध्यमबाट हटाउन सकिनेछ ।

विगतमा आफ्नो कुनै व्यक्तिगत विवरण हटाउन अनुरोध गर्दा त्यो इन्टरनेटमा हुँदा त्यसले पार्ने सम्भावित असरहरू उल्लेख गर्नुका साथै प्रमाण बुझाउनुपर्ने हुन्थ्यो ।

अब प्रयोगकर्ताले आफ्नो विवरण एउटा क्लिक गरेको भरमा हटाउनसक्ने गुगलले आफ्नो ब्लगपोस्टमा उल्लेख गरेको छ ।

‘प्रायः मानिसहरूलाई अनलाइन तथा इन्टरनेटमा सुरक्षित महसुस गर्नका लागि उनीहरूको संवेदनशील तथा व्यक्तिगत रूपमा पहिचानयोग्य जानकारीमा आफ्नो नियन्त्रण हुनु आवश्यक छ,’ गुगललका सह-अध्यक्ष डेनियल रोमेनले बुधबार आफ्नो ब्लगपोस्टमा उल्लेख गरेका छन् ।

आफूले हटाउन चाहेका विवरण हटाउन सकिन्छ भन्दैमा त्यहाँ भएका सम्पूर्ण व्यक्तिगत विवरण हटाउन भने सकिँदैन । यदि कुनै पनि जानकारी संवेदनशील लागेको खण्डमा गुगलले हटाउँछ ।

विशेषगरी कुनै पनि व्यक्तिगत जानकारी जो समाचारका रूपमा राखिएका छन्, वा कुनै सरकारी वेबसाइटमा छ वा आधिकारिक साइटमा छन् भने त्यस्ता विवरण नहट्ने गुगलले बताएको छ ।

‘सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने हामीले पाएका कुनै पनि व्यक्तिगत विवरण हटाउने अनुरोध हामीले पाइसकेपछि त्यसलाई विश्लेषण गर्छौं । यदि त्यो कुनै समाचारका लागि राखिएको होइन, आधिकारिक वेबसाइट वा सरकारी वेबसाइटमा राखिएको छैन भने मात्र सो विवरण हट्नेछ,’ गुगलले आफ्नो ब्लगपोस्टमा उल्लेख गरेको छ ।

तत्काललाई कसैले आफ्नो व्यक्तिगत वा संवेदनशील विवरण हटाउने अनुरोध गर्न अनलाइन फर्म भर्नुपर्ने हुन्छ ।

बुधबार कम्पनीले नयाँ आउन लागेको टुलबारे घोषणा गरेको हो, जहाँ प्रयोगकर्ताले इन्टरनेटमा भेटिएका आफ्ना विवरण एउटै क्लिकमा हटाउन सक्नेछन् ।

कम्पनीले सो टुल आउँदो महिना सार्वजनिक हुने बताएको छ । यो कार्यका लागि गुगल करिब एक दशकदेखि लागिपरेको थियो ।

सन् २०१४ मा युरोपियली न्यायलयले गुगल जस्तो सर्च इन्जिनले प्रयोगकर्ताको व्यक्तिगत विवरण हटाउने आग्रहलाई सम्बोधन गर्न फैसला सुनाएको थियो, जसलाई ‘राइट टु फर्गटन’ नाम दिइएको थियो ।

गुगलका अनुसार यसमा चार वर्षको अवधिमा करिब ६ लाख ५० हजार बढी त्यस्ता मात्र अनुरोध आइसकेका छन् जहाँ प्रयोगकर्ताले इन्टरनेटमा भएका आफ्ना व्यक्तिगत विवरण हटाउन अनुरोध गरेका छन् ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team