close

राष्ट्रिय परिचयपत्रका लागि आवश्यकताभन्दा बढी मेकअप भए मुख धुन लगाउने !

टेकपाना टेकपाना

असार २४, २०७९ १२:१२

राष्ट्रिय परिचयपत्रका लागि आवश्यकताभन्दा बढी मेकअप भए मुख धुन लगाउने !

काठमाडौं । सरकारले आगामी दुई वर्षमा सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने घोषणा गरिसकेको छ । बजेटमार्फत २०७९/०८० भित्र २० लाख नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने घोषणा गरिएको थियो ।

यसका लागि सरकारले राष्ट्रिय अभियानकै रुपमा कार्यक्रम अगाडि बढाएको छ । राष्ट्रिय परिचयपत्रमा फोटो सहितका व्यक्तिगत विवरण मात्र नभएर औँठा छाप, आँखाको रेटिना जस्ता बायोमेट्रिक सूचना समेत सङ्कलन गर्ने गरिएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा अपनाउनुपर्ने नियमहरू भने केही रोचक नियमहरू छन् । जसमा महिलाको हकमा अनुहारमा आवश्यकताभन्दा बढी मेकअप भए मुख धुन लगाउने उल्लेख छ ।

यस क्रममा टिका हटाउने, काजल पुछ्ने, लिपिस्टिक पुछ्ने, कानको झुम्का हटाउने, नाकको फुली ठूलो भएमा हटाउन लगाउने र धेरै मालाहरू भएमा त्यो पनि हटाउन लगाउने भनिएको छ । यति मात्र होइन, चश्मा निकाल्ने र कपाल कालै हुनुपर्ने शर्त पनि छ ।

त्यस्तै पुरुषहरूका लागि उल्लेखित नियमहरूमा कानमा मुद्रा वा टप लगाएको भए खोल्न लगाउने, कपाल कालो बाहेक अन्य रङ्गको भए ढाका टोपी लगाउने र मफ्लर, गम्छा लगाउन नपाउने उल्लेख छ । 

तर राष्ट्रिय परिचयपत्र सञ्चालन कार्यविधि २०७७ ले भने फोटो खिच्दा पछाडिको भाग सफा सेतो रङ्ग र कोठामा पर्याप्त मात्रामा प्रकाश पुगेको हुनुपर्ने र फोटोको आकार अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) मापदण्ड अनुसार हुनुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तै महिलाले नाक कानमा समान्य खालका गहना बाहेक मुखाकृतिलाई असर पर्ने कुनै पनि प्रकारका गहना लगाउन नपाइने उल्लेख गरेको छ । साथै फोटो खिच्दा कान देखिनेगरी टोपी, ह्याट, क्याप, स्कार्फ, मास्क र चस्मा जस्ता चिजहरू लगाउन पाइँदैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३