close

कतै तपाईँले प्रयोग गर्ने वेबसाइट असुरक्षित त छैन ? यसरी थाहा पाउनुहोस्

टेकपाना टेकपाना

असार २४, २०७९ १६:२५

कतै तपाईँले प्रयोग गर्ने वेबसाइट असुरक्षित त छैन ? यसरी थाहा पाउनुहोस्

काठमाडौं । हामी आफ्नो महत्त्वपूर्ण समय स्मार्टफोन र कम्प्युटरमा बिताइरहेका हुन्छौँ । विभिन्न किसिमका खोज तथा अनुसन्धानमा पनि कम्प्युटर प्रयोग भइरहेको हुन्छ । 

हामी स्मार्टफोन तथा कम्प्युटरमै विभिन्न वेबसाइटमा समाचार पढ्ने, नयाँ कुराको जानकारी लिने, भिडिओ हेर्ने लगायतका विभिन्न सुविधा लिइरहेका हुन्छौँ । दैनिक कयौं वेबसाइट ब्राउज गर्ने भए पनि कुन सुरक्षित वा असुरक्षित भन्ने कुराको जानकारी नहुन सक्छ ।

आज हामी कुन वेबसाइट सुरक्षित अनि कुन असुरक्षित भन्ने कुरा सजिलै छुट्याउने उपाय बारे बताउँदै छौँ । धेरै प्रयोगकर्तालाई वेबसाइट असुरक्षित पनि हुन्छन् भन्ने कुराकै जानकारी नहुन सक्छ ।

त्यसमाथि कुनै वेबसाइट नै असुरक्षित छ भने त्यसबाट के कस्तो क्षति पुग्न सक्छ भन्ने थाहा हुने सवाल नै भएन  । यदि कुनै पनि वेबसाइट असुरक्षित छ भने सामान्य अर्थमा ती वेबसाइट ह्याकिङ प्रयोजनका लागि बनाइएका हुन सक्छन् ।

कतिपय अवस्थामा डेभलपरले वेबसाइट सुरक्षित बनाउन नसकेको पनि हुन सक्छ । यस्तो अवस्थामा त्यस्तो वेबसाइटलाई ह्याकरले हतियारको रूपमा प्रयोग गर्न पनि सक्छ । 

आखिर जे भए पनि असुरक्षित वेबसाइट प्रयोग गर्दा त्यसबाट कम्प्युटरमा भाइरस आउने, डेटा चोरी हुने, विभिन्न बैङ्क तथा वित्तीय संस्थाका अकाउन्ट जोखिममा पर्ने लगायतको सम्भावना धेरै हुन्छ । त्यसैले कुनै पनि वेबसाइट प्रयोग गर्नुअघि त्यो वेबसाइट सुरक्षित छ कि छैन राम्रोसँग विचार पुर्‍याउनु पर्ने हुन्छ । 

१. वेबसाइट एड्रेसमा ‘इरर’ छ वा छैन जाँच गर्नुहोस्

यदि तपाईँले प्रयोग गरिरहेको वेबसाइट सुरक्षित हो वा होइन भन्ने कुरा जान्नु पर्‍यो भने सबैभन्दा सजिलो उपाय भनेको ब्राउजरको माथि सिरानीमा रहेको एड्रेसबार तथा सर्च बारमा रहेको वेबसाइटको एड्रेस हेर्नुहोस् ।

त्यहाँ अगाडि ‘https://’ पछि वेबसाइटको नाम छ भने त्यसलाई सुरक्षित मानिन्छ । तर ह्याकरहरूले ‘https://’ को ठाउँमा त्यस्तै देखिनेगरी ‘http://’ मात्रै राखेका हुन सक्छन् । यस्ता वेबसाइट असुरक्षित हुन्छन् ।

त्यसैले कुनै पनि वेबसाइटको एड्रेसको सुरुमा ‘https://’ छ भने त्यस्तो वेबसाइट ढुक्क भएर ब्राउज गर्दा हुन्छ । उदाहरणको लागि तपाईँले टेकपानाको वेबसाइट खोलेर ब्राउजरको एड्रेस बारेमा हेर्दा ‘https://www.techpana.com/’ देख्न सक्नुहुन्छ ।

२. वेबसाइट एड्रेसको अगाडि ‘लक’ छ कि छैन ख्याल राख्नुहोस्

जुन वेबसाइट असुरक्षित छन् वा जसको मनसाय डेटा थुत्ने छ, त्यहाँ ‘लक’ (ताला) को चिन्ह नभएर त्रिभुज आकारको सङ्केत देखिन्छ । त्यसको अर्थ हो, वेबसाइट असुरक्षित छ वा त्यो वेबसाइटले डेटा थुत्न खोजेको छ ।

यदि त्यस्तो ठाउँमा भएको चिन्हमा क्लिक गर्नु भयो भने वेबसाइट सुरक्षित वा असुरक्षित भएको जानकारी पाउन सकिन्छ । त्यसैले कुनै पनि वेबसाइट ब्राउज गर्नु अघि वेब एड्रेसमा देखिने बारमा हेर्नु आवश्यक हुन्छ । 

३. डोमेनको उमेर हेर्नुहोस्

डोमेनको उमेर भन्नाले त्यो वेबसाइट कहिले खोलिएको भन्ने मिति बुझिन्छ । कतिपयले डोमेन नेम किनेकै समयमा वेबसाइट बनाएका हुन्छन् भने कतिपयले डोमेन खरिद गरेको अलि समयपछि वेबसाइट तयार गर्ने गर्छन् ।

यदि कुनै वेबसाइट बनाएको समय धेरै भएको छ भने त्यस्तो वेबसाइट सुरक्षित नै मान्न सकिन्छ । तर, कतिपय त्यस्ता वेबसाइट हुन्छन्, जो निर्माण भएको केही दिन वा महिना मात्र पुगेका हुन्छन् ।

त्यस्ता वेबसाइट असुरक्षित हुनसक्ने आशङ्का गर्न सकिन्छ । ह्याकर वा भनौ प्रयोगकर्ताको डेटा चोर्ने नियत भएका खराब प्रवृत्तिका मानिसहरू, जसले दैनिक नयाँनयाँ वेबसाइट बनाउन सक्छन् ।

त्यसैले आफूले भिजिट गरिरहने वेबसाइट निर्माण भएको समय कति पुग्यो भन्ने कुरा ख्याल राख्नुपर्ने हुन्छ । यति भनिरहँदा नयाँ बनेका सबै वेबसाइट असुरक्षित हुन् भन्ने पनि होइन ।

कुनै पनि वेबसाइटमा आशङ्का लागेको अवस्थामा तपाईँले यसलाई आधार भने बनाउन सक्नुहुन्छ । यसका लागि तपाईँले गुगल सर्च गरेर विभिन्न ‘डोमेन एज चेकर’ साइटहरू प्रयोग गर्न सक्नुहुन्छ ।

४. वेबसाइटसँग सम्बन्धित कम्पनीको सामाजिक सञ्जाल र रिभ्यु पनि हेर्ने गर्नुहोस्

कतिपय वेबसाइटमा भर्खरै माथि उल्लेख गरिएका कमजोरी नदेखिन सक्छन् । जसले सुरक्षित भएको भ्रम पार्दै मानिसहरूलाई झुक्याइरहेका हुनसक्छन् ।

त्यसैले तपाईँले कुनै पनि साइट दैनिक भिजिट गरिरहनु भएको छ भने त्यसको सामाजिक सञ्जाल र वेबसाइटको रिभ्यु जाँच गर्न सक्नुहुन्छ । कुनै पनि आधिकारिक वा भरपर्दो वेबसाइटमा सबैले सकारात्मक प्रतिक्रिया दिइरहेका हुन्छन् ।

तपाईँले कुनै पनि वेबसाइट सुरक्षित छ वा छैन भन्ने कुरा जान्नका लागि यो पक्षलाई पनि आधार बनाउन सक्नुहुन्छ ।

५. वेबसाइटको डिजाइन वा नाम ख्याल गर्नुहोस्

कतिपय वेबसाइटहरूले ठूलाठूला कम्पनीको नामको स्पेलिङलाई यताउति गरेर डोमेन खरिद गरेका हुनसक्छन् । जसलाई पहिलो पटक हेर्दा परिचित शब्द जस्तै देखिन्छ । त्यस्ता वेबसाइटले प्रायः सामानको कम मूल्य राखेका हुन्छन् ।

उनीहरूले जुन सेवा दिने भनेर वेबसाइट बनाएका हुन्छन्, त्यस विपरित ठगी गरिरहेका हुन्छन् । त्यसैले कुनै पनि वेबसाइटमा कम गुणस्तरका फोटो छन्, मूल्य असाध्यै कम राखिएको छ, वेबसाइटको डिजाइन पनि आकर्षक छैन भने त्यस्तो अवस्थामा वेबसाइटमाथि शङ्का गर्न सक्नुहुन्छ ।

६. डोमेन कुन कम्पनीसँग सम्बन्धित छ, ख्याल गर्नुहोस्

डोमेन नेम कुन कम्पनीसँग सम्बन्धित छ भन्ने कुराले पनि वेबसाइट सुरक्षित वा असुरक्षित भन्ने कुरा निर्धारण गर्छ । कुनै पनि आधिकारिक वेबसाइटको डोमेन नेम ठूला कम्पनीको स्वामित्वमा रहेको हुन्छ । ह्याकरहरूले प्रायः फ्री डोमेन नेम प्रयोग गरेर ह्याकिङ गर्ने वा स्क्याम गर्ने गर्छन् ।

जुन तल उल्लेख गरिएको भन्दा फरक वा अपरिचित कम्पनीबाट लिएका हुनसक्छन् । डोमेन नेम कुन कम्पनीसँग सम्बन्धित छ भन्ने जान्नका लागि यहाँ क्लिक गर्नुहोस् । डोमेन नेम विशेषगरी गोड्याडी, हुइज (WHOIS), आईक्यान (ICANN), शोपिफाई हु इज (Shopify WHOIS)  को स्वामित्वमा हुने गर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३