close

संसारमै सबैभन्दा धेरै बिटक्वाइन भएकी क्रिप्टोमहारानी ! एफबीआईको ‘टप टेन मोस्ट वान्टेड’

टेकपाना टेकपाना

असार २७, २०७९ १९:९

संसारमै सबैभन्दा धेरै बिटक्वाइन भएकी क्रिप्टोमहारानी ! एफबीआईको ‘टप टेन मोस्ट वान्टेड’

काठमाडौं । पछिल्लो समय क्रिप्टोकरेन्सी बजारमा आएको ठूलो उतारचढावले धेरै लगानीकर्तालाई प्रभावित तुल्याएको छ । यसरी प्रभावित हुनेमा एक महिला रुजा इग्नातोवा पनि रहेको अनुमान बीबीसीले गरेको छ ।

बीबीसीले तयार पारेको एक रिपोर्टले क्रिप्टो लगानीकर्ता रुजा पनि क्रिप्टोमा लागेको घाटाकै कारण गायब भएको सङ्केत गर्छ ।सन् २०१७ मा ‘वनक्वाइन’ नामक क्रिप्टोकरेन्सीको मूल्य अत्यधिक मात्रामा बढेको थियो र धेरै लगानीकर्ताले यसमा अर्बौं रुपैयाँ लगानी गरेका थिए । त्यसै वर्षदेखि रुजा पनि गायब भइन् । 

ठगी र मनी लन्ड्रिङ (आपराधिक गतिविधि तथा ठगी गरेर पैसा आर्जन गर्ने गतिविधि) को आरोपमा उनी अमेरिकी गुप्तचर एजेन्सी एफबीआईका १० ओटा मोस्ट वान्टेड फरार व्यक्तिको सूचीमा परेकी छिन् ।

अक्सफोर्डमा अध्ययन गरेकी यी उद्यमीले आफ्ना लगानीकर्तालाई आफूले ‘बिटक्वाइन किलर’ (अर्थात बिटक्वाइनलाई माथ खुवाउने क्रिप्टोकरेन्सी) बनाएको दाबी गरेकी थिइन् । तर बीबीसीका अनुसार उनी हराउनु अघि उनले आफ्नो प्रतिद्वन्द्वी डिजिटल मुद्रामा गोप्य रूपमा अर्बौं जम्मा गरेकी थिइन् ।

यस विषयमा विस्तृत विवरण पहिलो पटक सन् २०२१ मा फेला परेको थियो । तत्कालीन समयमा एक वकिलले दुबई अदालतको कागजातमा रुजालाई ‘इतिहासको सबैभन्दा सफल अपराधी’ भनेर वर्णन गरेको पाइएको कुरा अनलाइनमा पोस्ट गरिदिएका थिए । 

बीबीसीको पोडकास्ट ‘द मिसिङ क्रिप्टोक्विन’ को आगामी एपिसोडमा रुजा कसरी लुकेर बसेकी छिन् र कसरी उनले क्रिप्टो संचय गरिन भन्ने विषयमा अनुसन्धान हुने बताइएको छ । 

दुबई अदालतको कागजातमा के थियो ?

बीबीसीले दुबईको अदालतले तयार पारेको दस्ताबेजमा भएका केही जानकारीहरू प्राप्त गरेर यसलाई प्रमाणित गर्न सफल भएको छ । ती दस्तावेजले दुबई रुजाको लागि एक महत्त्वपूर्ण आर्थिक मार्ग (कारोबार गर्ने ठाउँ) थियो भन्ने सङ्केत गरेको देखिन्छ ।

एफबीआईले पनि रुजासँग जोडिएका पाँचओटा देशमा संयुक्त अरब इमिरेट्स (यूएई) पनि रहेको उल्लेख छ । अदालतको यो दस्ताबेजलाई अनलाइनमा पोस्ट गर्ने वकिल जोनाथन लेभीले करोडौं डलर जोखिममा रहेको बताएका छन् भने उनले वनक्वाइन (onecoin) का पीडितले क्षतिपुर्तीको लागि दाबी गरेको रकमका आधारमा यो जोखिमको विषयमा स्पष्ट पारेका छन् ।

वनक्वाइन प्रयोग गर्ने वेब डोमेनको होस्ट ब्रिटिश हिन्द महासागर क्षेत्रमा गरिएको अनुमानमा सोही क्षेत्रको सर्वोच्च अदालतमा क्षतिपुर्ती दाबी गरिएको छ ।

वकिल लेवीको भित्री जानकारी दिने एक सूत्रबाट प्राप्त हजारौं दस्ताबेजहरू मध्ये धेरै जसो अरबी भाषामा लेखिएका दस्ताबेज रहेको पाइएको थियो । ती दस्ताबेजहरूका अनुसार दुबईका मानिसहरू गलत तरिकाबाट धनी बनिरहेका थिए । 

बिटक्वाइन डिल 

वकिल लेवीको कानुनी मुद्दामा सबैभन्दा ठूलो दाबी यूएईका शाही शेख साउद बिन फैसल अल कासिमीसँग भएको बिटक्वाइन सम्झौता रहेको छ । उनी एक प्रतिष्ठित व्यवसायीका छोरा हुन् । 

दस्ताबेज अनुसार सन् २०१५ मा शेख साउदले रुजालाई दुई लाख ३० हजार बिटक्वाइन रहेका चार ओटा यूएसबी मेमोरी स्टिक दिएकी थिइन् । तत्कालीन  समय अनुसार उक्त बिटक्वाइनको कूल मूल्य चार करोड ८३ लाख युरो रहेको थियो ।

यसको बदलामा रुजाले मशरेक बैंकको दुई करोड १० लाख दिह्राम बराबरको चेक शेख साउदलाई हस्तान्तरण गरेकी थिइन् । यो कथित सम्झौता हुनु अघि नै दुबईको मिशरेक बैंकले भने मनी लन्ड्रिङको आरोपमा रुजाको खाता बन्द गर्न सुरु गरिसकेको थियो ।

त्यसैले रुजाले उक्त चेक साट्न भने सकिनन् । त्यस समय भन्दा एक वर्ष अघि नै अमेरिकी न्याय विभागले रुजालाई धोखाधडीको आरोप लगाएको थियो र वनक्वाइनलाई पनि एउटा धोखाधडी क्रिप्टोकरेन्सी करार गरेको थियो ।

यति हुँदाहुँदै पनि दुबईले रुजाको खातामाथिको प्रतिबन्ध फुकुवा गरिदिएको थियो । फुकुवा हुनु भन्दा केही महिना अगाडि मात्र पनि रुजाका पूर्व फन्ड म्यानेजर मार्क स्कटमाथि न्यूयोर्कले वानक्वाइनको ४० करोड डलर ठगी गरेको आरोप लगाएको थियो ।

यो विषयमा बीबीसीले दुबईको सम्बन्धित निकायसँग बुझ्न खोज्दा केही जवाफ नआएको रिपोर्टमा उल्लेख छ । दुबईको पुनरावेदन अदालतको रेकर्ड अनुसार, २०२२ को अप्रिल २८ मा शेख साउदले रुजासँग भएको आफ्नो सम्झौतालाई उल्लेख गर्दै उनको खाता आफूलाई हस्तान्तरण गर्न माग राखेका थिए ।

यो मुद्दामा रुजालाई प्रतिवादीको रुपमा उभ्याइएको छ । जबकी विगत पाँच वर्षदेखि उनी गायब छिन् । 

रुजा र शेखको सम्झौता 

शेख साउदको बारेमा धेरै जानकारीहरू बाहिरिएका छैनन् । तर स्रोतका अनुसार होचो कद भएका शेखलाई बडी बिल्डिङको शौख छ र सार्वजनिक रूपमा उनी विरलै देखिन्छन् ।

उनी शिक्षाको क्षेत्रमा काम गर्ने दाबी गर्ने संस्था द इन्टरगभर्मेन्टल कोल्याबरेटिभ एक्सन फन्ड फर एक्सिलेन्स (आईसीएएफई) को २०१७ मा सार्वजनिक भएको युट्युब भिडिओमा देखा परेका थिए । दुबई अदालतको दस्ताबेज अनुसार संस्थाको वेबसाइटमा उनलाई उक्त संस्थाको सचिवको रूपमा उल्लेख गरिएको थियो । 

भर्खरै मात्र सार्वजनिक गरिएको क्रिप्टोकरेन्सीमा पनि शेख साउद अध्यक्ष भएको बताइएको छ । दुबई अदालतको दस्ताबेजले शेख साउदको परिवार र रुजाबीच घनिष्ठ सम्बन्ध रहेको बताउँछ । 

सन् २०१५ को सेप्टेम्बर ३ मा दुबईको मशरेक बैंकले रुजालाई उनको व्यक्तिगत खाता बन्द गर्ने जानकारी लिखित रूपमा दिएको थियो । त्यसको ११ दिन पछि, एक अमेरिकी अदालतले एउटा ईमेल प्राप्त गर्‍यो ।

जसमा रुजाले आफ्नो वनक्वाइनका एक सहयोगीलाई मशरेक बैंकबाट पाँच करोड युरो स्थानान्तरण गर्न अनुरोध गरेकी थिइन् । उनले अर्को हप्ता दुबईमा शेखलाई भेट्ने कुरा पनि बताएकी थिइन् ।

यद्यपि रुजा वास्तवमा कोसँग भेट्न जाँदै थिइन् र भेट भयो कि भएन भन्ने विषयमा केही जानकारी छैन । तर बीबीसीलाई प्राप्त दस्ताबेज अनुसार भने यो घटनाले थप अर्को घटनालाई सङ्केत गरिरहेको थियो ।

प्राप्त दस्ताबेजमा सन् २०१५ को अक्टोबर ८ मा खिचिएको तस्वीर फेला परेका छन् । जुन कहाँ खिचिएको हो भन्ने विषयमा कुनै जानकारी छैन ।

ती तस्वीरमा रुजा शेख साउदका बुबा शेख फैसलको छेउमा उभिएकी छिन् । दुबई र रस अल खैमाह (आरएके) को सिमानामा पर्ने शारजाहमा अल कासिमी परिवारले शासन गर्छ ।

बीबीसीले शेख फैसलको परिवार र रुजाको सम्बन्धको बारेमा जान्न चाहेको थियो । तर साउदले अहिलेसम्म कुनै जवाफ नदिएको बीबीसीले उल्लेख गरेको छ । 

रुजाको कूटनीतिक परिचयपत्रको रहस्य

बीबीसीले प्राप्त गरेको दस्ताबेजमा एउटा कूटनीतिक परिचयपत्र पनि भेटिएको थियो । उक्त परिचयपत्र आईसीएएफईको विशेष सल्लाहकारको रुपमा रुजाको नाममा जारी गरिएको थियो ।

यो त्यही संस्था हो, जुन संस्थामा शेख साउद कुनै समयमा वरिष्ठ व्यक्तित्वको रुपमा संलग्न रहेका थिए । यो संस्था संयुक्त राष्ट्र सङ्घसँग सम्बद्ध रहेको देखिन्छ ।

तर संयुक्त राष्ट्र सङ्घका महासचिवका प्रवक्ताले भने संयुक्त राष्ट्रसँग यसको सम्बन्धको कुनै अभिलेख नै नभएको दाबी गरेका छन् । यो संस्थाका सह-संस्थापक शहरियार रहिमीले भने यो संस्था संयुक्त राष्ट्र सङ्घमा दर्ता रहेको दाबी गरेका छन् ।

तर यसको कुनै आधिकारिक प्रमाण भने भेटिएको छैन । रुजाको विषयमा बोल्दै रहिमीले उनलाई दिइएको संस्थाको कागजात शेख साउदबाट प्राप्त भएको बताएका छन् । 

रुजाको बिटक्वाइन सम्झौताको केही समयपछि, उनीहरूको सम्बन्ध चिसियो । बाहिरिएको जानकारी अनुसार शेख साउदले रुजालाई आईसीएएफईको राजदूतको भूमिकाबाट बर्खास्त गरेका थिए ।

यो रुजाको सम्पत्ति कानुनी विवादमा फस्नुअघिको कुरा हो । दुबईको पुनरावेदन अदालतमा जुन २८ मा यी दुईबीचको मुद्दा टुङ्गिएको थियो ।

अब कति रकम बाँकी छ रुजासँग ?

कथित बिटक्वाइन सम्झौता र रुजासँगको शेख साउदको सम्बन्ध अनि आईसीएएफईको विषयमा शेख साउदका वकिललाई सोध्दा उनले बीबीसीसँग भएका जानकारी निराधार भएको दाबी गरे । यद्यपि यो भन्दा बढी केही बोलेनन् ।

कथित बिटक्वाइन सम्झौता ‘कोल्ड स्टोरेज वालेट’ को प्रयोग गरेर गरिएको भनिएको छ । जसले वास्तवमा के भयो भनेर पत्ता लगाउन गाह्रो बनाएको बीबीसीले उल्लेख गरेको छ ।

सामान्यतया बिटक्वाइनको कारोबारको विषयमा पत्ता लगाउन सकिन्छ । किनभने यसको कारोबार सार्वजनिक रुपमा देख्न सकिन्छ ।

बिटक्वाइन वालेटहरू बीचको भर्चुअल मुद्राको सबै कारोबारहरू सार्वजनिक रूपमा हेर्न सकिने गरी डेटाबेसमा रेकर्ड हुन्छन् । यद्यपि यी बिटक्वाइनहरू कुन वा कति वालेटमा जम्मा गरियो भन्ने विवरण अदालतका कागजातहरूमा छैन ।

यदि ती डेटा अझै रुजासँग छन् भने उनलाई यति ठूलो रकम बराबरको बिटक्वाइनको कारोबार गर्न गाह्रो हुन सक्छ । क्रिप्टो लेखक डेभिड बर्च भने गायब भएका यी बिटक्वाइनको विषयमा गलत धारणा बनेको बताउँछन् ।

सरकारी निकायसँग ट्रयाक गर्न सक्ने राम्रो प्रविधि भएको हुँदा बिटक्वाइनको कारोबार पत्ता लगाउन नसक्ने भन्ने कुरा गलत हुने उनको भनाई छ । तर यदि रुजासँग अझै पनि २ लाख ३० हजार बिटक्वाइन छन् भने उनी नै अहिलेसम्म धेरै बिटक्वाइन भएको व्यक्तिको रुपमा स्थापित हुनेछिन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३