close

बढ्दो मोबाइल बैकिङ कारोबारले विस्थापित गर्ला त एटीएमको प्रयोग ?

टेकपाना टेकपाना

असार २८, २०७९ १५:१७

बढ्दो मोबाइल बैकिङ कारोबारले विस्थापित गर्ला त एटीएमको प्रयोग ?

काठमाडौं । नेपाली उपभोक्ता मोबाइल बैंकिङ कारोबारमा अभ्यस्त हुँदै गइरहेका छन् । कोरोना महामारी पछि ह्वात्तै बढेको मोबाइल बैंकिङ कारोबार हरेक वर्ष दुईदेखि चार गुणाले वृद्धि भइरहेको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालीहरूले पछिल्ला ११ महिनामा मोबाइल मार्फत १० खर्ब ४ अर्ब ६८ करोड ७९ लाख रुपैयाँको कारोबार गरेका छन् । जबकी गत आर्थिक वर्षको सोही अवधीमा ४ खर्ब ५ अर्ब १२ करोड ३० लाख रुपैयाँको कारोबार मोबाइल बैंकिङमार्फत भएको थियो ।

विगत केही वर्षदेखि मोबाइल बैंकिङमार्फत हुने कारोबारको संख्या र रकम दुवै बढ्दै गएको छ ।

डिजिटल भुक्तानीको अभ्यास बढिरहँदा अधिकांश बैंकहरूले मोबाइल बैंकिङको व्यवस्था गरेका छन् । फलस्वरूप दैनिक रूपमा हुने धेरैजसो कारोबारको मोबाइल बैंकिङबाटै भुक्तानी गर्न सकिन्छ ।

मोबाइल बैंकिङकै कारण क्यूआरमा आधारित कारोबारको सङ्ख्या पनि बढेको देखिन्छ । राष्ट्र बैंकका अनुसार गत ११ महिनामा ७९ अर्ब ९८ करोड २० लाख रुपैयाँको कारोबार क्यूआरमार्फत भएको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा १६ अर्ब ६३ करोड ३१ लाख रुपैयाँको कारोबार मात्र क्यूआरबाट भएको थियो ।

डिजिटल वालेटको सन्दर्भमा भने कारोबारमा धेरै ठूलो परिवर्तन आएको देखिदैँन । यद्यपि डिजिटल वालेट मार्फत हुने कारोबार पनि बढ्ने क्रममा नै छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिनामा डिजिटल वालेट मार्फत कुल १ खर्ब ६६ अर्ब ५४ करोड १० लाख रुपैयाँको कारोबार भएको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ११ अर्ब ८६ करोड ४० लाख रुपैयाँको कारोबार भएको थियो ।

डिजिटल भुक्तानीको अभ्यास बढ्दै गएको सन्दर्भमा एटीएम मार्फत नगद झिक्ने प्रवित्ति भने घट्दै गएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क हेर्ने हो भने पछिल्ला ११ महिनामा ७ खर्ब ६० अर्ब २७ करोड ४० लाख रुपैयाँ एटीएमबाट निकालिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने यो रकम ६ खर्ब ३८ अर्ब ६४ करोड १० लाख रुपैयाँ मात्र थियो ।

डिजिटल भुक्तानीको हिसाबले मोबाइल बैंकिङप्रति उपभोक्ताहरूको विश्वास बढ्दै गएको स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणप्रकाश भुजुले बताए ।

“नेपालीहरूले मोबाइलबाट भुक्तानी गर्ने अभ्यास सुरु गरेको धेरै भएको छैन । यो अभ्यास देशैभर लागू पनि भएको पाइँदैन । यसले गर्दा एटीएमको प्रयोगमा पनि केही कमी आएको छैन,” उनले भने, “तर मोबाइल बैंकिङप्रति मानिसहरूको विश्वास विस्तारै बढ्दैछ र सम्भव भएसम्म मोबाइल बैंकिङ मार्फत नै सेवा दिने प्रवित्ति बढिरहेको छ ।”

धेरै भुक्तानीहरू अहिले पनि नगदबाटै हुने गरेकाले पनि एटीएमबाट रकम झिक्ने कार्यको महत्त्व नघटेको उनी बताउँछन् । यद्यपि विगतको तुलनामा उपभोक्ताहरूले एटीएम भन्दा मोबाइल बैंकिङलाई बढी प्राथमिकता दिने गरेको उनको भनाई छ ।

आगामी दिनहरूमा भने एटीएम विस्थापित हुने सन्दर्भमा उनी भन्छन्, “हामी आफैँपनि भर्चुअल एटीएमको लागि काम गरिरहेका छौँ । भोलिको दिनमा प्लास्टिकको यो एटीएम कुनै ग्राहकले बोक्नु नपरोस् भन्ने हाम्रो चाहना हो । ढिलो चाँडो फरक कुरा, तर अब धेरै जसो कारोबारहरू नगदरहित हुँदै जानेछन् ।”

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३