close

‘फोन वन’ सार्वजनिक हुनु अगावै बाहिरिए नथिङका वालपेपर, यसरी गर्नुहोस् डाउनलोड

टेकपाना टेकपाना

असार २८, २०७९ १९:२४

‘फोन वन’ सार्वजनिक हुनु अगावै बाहिरिए नथिङका वालपेपर, यसरी गर्नुहोस् डाउनलोड

काठमाडौं । नथिङ ब्रान्डले आफ्नो पहिलो स्मार्टफोन फोन वन आज सार्वजनिक गर्दै छ । ‘नथिङ; रिटर्न टु इन्स्टिक्ट’ (Nothing: Return to instinct)  कार्यक्रममार्फत कम्पनीले ‘फोन वन’ सार्वजनिक गर्न लागेको हो ।

फोन सार्वजनिक हुनु अगावै कम्पनीका एक डेभलपरले फोनका सबै विवरण लिक गरिदिएका छन् । कुबा वोज्साइचोस्की (Kuba Wojciechowski) ले ट्वीटरमा उक्त फोनका हरेक विवरण पोस्ट गरेका हुन् ।

साथै अन्य केही विवरण आवश्यक परे सम्पर्क गर्न समेत आग्रह गरेका छन् । हाल फोनमा उपलब्ध विभिन्न वालपेपरमध्ये चार ओटा वालपेपर डाउनलोड गर्न सकिन्छ । यी वालपेपर ‘फोन वन’मा निकै नै आकर्षक देखिने अनुमान लगाउन सकिन्छ ।

यदि तपाईँलाई पनि यी वालपेपर आफ्नो फोनमा कस्तो देखिन्छ भन्ने कौतुहलता लागेको छ भने डाउनलोड गरेर राख्न सक्नुहुन्छ । तपाईँले यहाँ क्लिक गरी नथिङ फोनको वालपेपर डाउनलोड गर्न सक्नुहुनेछ । 

कम्पनीको पहिलो स्मार्टफोन ‘फोन वन’ नेपाली समय अनुसार आज राति ८:४५ मा सार्वजनिक हुनेछ । जसको लाइभ इभेन्ट यहाँ क्लिक गरी हेर्न सकिनेछ ।

यो फोन सार्वजनिक हुन केही समय बाँकी छँदै अफवाहका रूपमा धेरै कुरा बाहिर आइसकेका छन् । यो फोन मिड-रेन्ज फोन हुनुका साथै यसमा स्नापड्रागन ७७८ जी प्लस चिपसेट हुने अपेक्षा गरिएको छ ।

बाहिरिएका विभिन्न जानकारी अनुसार यो फोन नथिङ अपरेटिङ सिस्टम र एन्ड्रोइड भर्सन १२ मा आधारित छ । १२० हर्ज रिफ्रेश रेट भएको यो फोनमा एफएचडी र एमोलेड डिस्प्ले भएको पछिल्लो पटक बाहिरिएको जानकारीमा उल्लेख छ ।

त्यस्तै यसमा ८ जीबी र्‍याम तथा १२८ जीबी वा २५६ जीबी इन्टर्नल स्टोरेज हुने कुरा सहजै अनुमान लगाउन सकिन्छ । त्यस्तै बाहिरिएका जानकारी अनुसार फोनमा  ३३ वाटको फास्ट चार्जिङ सहित ४५०० एमएएच क्षमताको ब्याट्री, १६ मेगापिक्सेलको सेल्फी क्यामेरा र ५० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ ।

त्यस्तै यसको पछाडि रहेको पारदर्शी कभरभित्र फोन आउँदा, नोटिफिकेसन बज्दा, चार्जिङ हुँदा र अन्य विविध काम गर्दा  प्रस्ट देखिने विभिन्न लाइट बल्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३