काठमाडौं । नेपाल टेलिकमको प्रति ग्राहक निरन्तर रुपमा घट्दै गएको छ । बुधबार सार्वजनिक महालेखा परीक्षकको ५९ औँ प्रतिवेदनले आर्थिक वर्ष २०७६/०७७ को तुलनामा २०७७/०७८ मा कम्पनीले प्रति प्रयोगकर्ताबाट औसत आम्दानी गर्ने दर घटेको उल्लेख गरेको छ ।
कम्पनीले पीएसटीएन अर्थात् ल्यान्डलाइनतर्फ २०७७/०७८ मा प्रतिव्यक्ति २ हजार ७७२ रुपैयाँ आम्दानी गरेको थियो । जबकी २०७६/०७७ मा उक्त आम्दानी ३ हजार २६८ रुपैयाँ रहेको थियो । यस हिसाबले पीएसटीएनमा मात्रै टेलिकमले एक वर्षको अवधिमा १५.१६ प्रतिशतले प्रतिव्यक्ति आम्दानी गुमाएको छ ।
त्यस्तै अर्को महत्त्वपूर्ण सेवाको रूपमा रहेको जीएसएमतर्फ पनि ४.१५ प्रतिशतले प्रतिव्यक्ति आम्दानी घटेको प्रतिवेदनमा उल्लेख छ । जीएसएममा प्रतिव्यक्ति वार्षिक आम्दानी १३ सय ४० रुपैयाँबाट घटेर १२ सय ८४ मा सीमित भएको छ ।
यी दुई प्रमुख सेवामा प्रतिव्यक्ति आम्दानी घटेको भएपनि कम्पनीले सीडीएमए, फाइबर इन्टरनेट र लिज लाइनतर्फ भने प्रति ग्राहक आम्दानी बृद्धि गरेको छ । प्रतिवेदन अनुसार सीडीएमए तर्फ १३८.१८ प्रतिशतले वृद्धि हुँदा फाइबर इन्टरनेट र लिज लाइन तर्फ क्रमशः ६६.२९ र २८.४२ प्रतिशतले प्रति ग्राहक आम्दानी बढेको छ ।
कम्पनीको फोरजी/एलटीई र फाइबर सेवा विस्तारमा भएको ढिलाइका कारण ग्राहकको मागअनुसार इन्टरनेट सहितको सेवा प्रदान गर्न नसक्दा मुख्यतः जीएसएम, पीएसटीएन र एडीएसएल सेवाको आम्दानीमा प्रति ग्राहक आम्दानी घट्दै गएको महालेखाले औंल्याएको छ ।
यसरी देशव्यापी रूपमा फोरजी/एलटीई सेवाको विस्तार गर्दै लगेको अवस्थामा समेत कम्पनीले जीएसएम सेवाको आम्दानी तथा ग्राहक सङ्ख्यामा अपेक्षाकृत वृद्धि गर्न नसकेकाले टेलिकम सेवाबाट प्राप्त हुने औसत प्रति ग्राहक आम्दानी घट्दै गएको हो ।
यस्तोमा कम्पनीले नयाँ प्रविधिको प्रयोग र समयमै व्यवसायिक योजना कार्यान्वयन गरेर ग्राहकको चाहना र माग अनुसारको सेवा विस्तार गरी आम्दानी गर्नुपर्ने सुझाव महालेखाले दिएको छ ।