close

नेपालीलाई विद्युतीय चुलो वितरण गर्न जीसीएफको साढे २ अर्ब अनुदान सहयोग

टेकपाना टेकपाना

असार ३२, २०७९ १५:२५

नेपालीलाई विद्युतीय चुलो वितरण गर्न जीसीएफको साढे २ अर्ब अनुदान सहयोग

काठमाडौं । नेपालमा विद्युतीय चूलो प्रवर्द्धनका लागि ऊर्जा, जलस्रोत तथा सिचाईं मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र संयुक्त राष्ट्र संघअन्तर्गतकाे ग्रिन क्लाइमेट फन्ड (जीसीएफ) बीच दुई करोड ११ लाख २० हजार डलर (लगभग दुई अर्ब ५५ करोड रुपैयाँ) को अनुदानमा सम्झौता भएको छ ।

नेपालको तराई क्षेत्रमा विद्युतीय चूलोको प्रवर्द्धनका लागि याे सम्झाैता भएकाे हाे । नेपालबाट पेस भएको प्रस्ताव गत वर्ष असोजमा नै स्वीकृत भई यो वर्ष कार्यान्वयनको लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको बताइएकाे छ ।

तराई क्षेत्रमा विद्युतीय चूलो प्रवर्द्धनका लागि प्राप्त अनुदानमार्फत पाँच लाख विद्युतीय चुलो वितरण गरिने बताइएको छ । तराईका १० लाख घरधुरीमा विद्युतीय चुलो वितरण गर्ने उद्देश्यसहित आयोजनाको पहिलो चरणमा पाँच लाख घरधुरीलाई विद्युतीय चुलो वितरण गर्न लागिएको हो ।

यसका साथै आयोजनामा १० हजार बायोग्यास प्लान्ट जडान लगायत अन्य योजना पनि समावेश गरिएको छ ।

यो आयोजना तराई क्षेत्रका नगरपालिका तथा गाउँपालिकाको सहकार्यमा सम्पन्न गरिने सम्झौतामा उल्लेख छ । नेपाल सरकारले पछिल्लो समय इन्धनको खपत कम गर्न साथै बिजुलीको खपत बढाउने उद्देश्यले विद्युतीय चुलो प्रवर्द्धनमा काम गरिरहेको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३