close

थाहा पाइराख्नुहोस्, स्मार्टफोनमा हुने क्यामेरा र यिनका काम

टेकपाना टेकपाना

असार ३२, २०७९ १६:२६

थाहा पाइराख्नुहोस्, स्मार्टफोनमा हुने क्यामेरा र यिनका काम

काठमाडौं । कुनै एउटा समय थियो, जहाँ फोनमा क्यामेरा नै हुँदैनथ्यो । त्यसपछि केही फोन आए, जसमा सिंगल क्यामेरा समावेश गरिएको हुन्थ्यो । त्यसपछि फोनमा क्यामेराको सङ्ख्या बढ्दै गएर फोन अनुसार छ देखि सात वटासम्म देख्न सकिन्छ ।

त्यसका लागि नोकिया जेटईआईएसएस (Nokia zeiss) लाई हेर्न सकिन्छ । यसमा छ वटा क्यामेरा छन् । आखिर फोनमा यति धेरै क्यामेरा किन हुन्छन् होला ?

स्मार्टफोनमा धेरै क्यामेरा प्रयोग गर्नुका पछाडिको कारण सामान्य छ । डीएसएलआर क्यामेरासँग प्रतिस्पर्धा गर्न स्मार्टफोनमा धेरै क्यामेरा प्रयोग भइरहेकाे हुन्छ । स्मार्टफोनमा फोटोको साइज र स्पेस सीमित नै हुन्छ ।

त्यस्तै आवश्यकता अनुसार जसरी डीएसएलआर क्यामेराको लेन्स परिवर्तन गर्न सकिन्छ, त्यसरी स्मार्टफोनको क्यामेरा बदल्न सकिँदैन ।

त्यसैले पनि गुणस्तर तथा विशेषतालाई तुलना गर्ने हो भने स्मार्टफोनले जति नै क्यामेरा प्रयोग गरेपनि तत्काललाई डीएसएलआरसँग प्रतिस्पर्धा गर्न नसक्ने अनुमान लगाउन सकिन्छ ।

डीएसएलआरको सेन्सर जटिल किसिमको हुन्छ भने फोनको क्यामेरा सेन्सर साधारण नै हुन्छ । आज हामी स्मार्टफोनमा कस्तो किसिमको क्यामेरा प्रयोग गरिएको हुन्छ र ती किन प्रयोग गरिन्छन् भन्ने विषयमा चर्चा गर्दै छौं ।

सोच्नुस् त, स्मार्टफोनको क्यामेरा डीएसएलआर जत्तिकै ठूलो भएको भए के हुन्थ्यो होला ? अवश्य पनि हातमा अड्याउन समस्या हुन्थ्यो नै । साथै आफ्नो पकेटमा राख्न पनि सकस नै पर्थ्यो होला ।

यसरी एउटा ठूलो क्यामेरा प्रयोग गरेर डीएसएलआरको गुणस्तरमा पुग्न नसक्ने भएपछि स्मार्टफोनमा धेरै क्यामेरा प्रयोग हुने गर्छ । स्मार्टफोनमा त्यही सेन्सरको कमी आपूर्ति गर्न धेरै सेन्सर प्रयोग हुनेगर्छ ।

स्मार्टफोनमा हुने हरेक सेन्सरका आफ्ना छुट्टाछुट्टै विशेषता हुन्छन् । कतिपय अवस्थामा स्मार्टफोनले धेरै क्यामेरा देखाउने उद्देश्यले नक्कली क्यामेरा पनि समावेश गरेका पाइन्छ ।

स्मार्टफोनमा हुने क्यामेरा सेन्सर र तिनीहरूको प्रयोग

स्टान्डर्ड क्यामेरा

स्टान्डर्ड क्यामेरालाई फोनको मुख्य क्यामेरा पनि भनिन्छ । यसका माध्यमबाट कुनै पनि फोटो कुनै साधारण तरिकाले खिच्न सकिन्छ । मुख्य क्यामेराबाट खिचेको फोटोमा कुनै पनि इफेक्ट प्रयोग भएको हुँदैन ।

मुख्य क्यामेराको प्रयोग त्यसबेला हुन्छ, जतिबेला सामाजिक सञ्जालका लागि लाइभ फोटो खिचिन्छ । यदि तपाईं कुनै पनि किसिमको फोटोग्राफीमा इच्छुक हुनुहुन्न भने मुख्य क्यामेराको खासै वास्ता नगर्दा हुन्छ । 

डेफ्थ सेन्सर क्यामेरा

डेप्थ सेन्सर क्यामेरा पाेट्रेट फोटो खिच्दा प्रयोग हुन्छ । पाेट्रेट फोटो त्यस्तोलाई भनिन्छ जसको ब्याकग्राउन्ड अर्थात पृष्ठभूमि ब्लर (धमिलो) हुने गर्छ । ब्याकग्राउन्ड ब्लर गर्नका लागि डेप्थ सेन्सरको प्रयोग हुने गर्छ ।

डेप्थ सेन्सरले क्यामेरा र फोटो खिचिने वस्तुबीचको दूरी पत्ता लगाइ ब्याकग्राउन्ड ब्लर गर्ने गर्छ । पाेट्रेट फोटो प्रायः सामाजिक सञ्जालमा प्रोफाइल फोटो राख्नका लागि प्रयोग गरिन्छ ।  

अल्ट्रा-वाइड सेन्सर क्यामेरा

यसको नामबाट पनि अल्ट्रा वाइड सेन्सर क्यामेराले के काम गर्छ भन्ने कुरा अनुमान लगाउन सकिन्छ । यसलाई विशेषगरी वाइड (चौडा) एङ्गलका फोटो खिच्न प्रयोग गरिन्छ ।

यदि कुनै वस्तु ठूलो छ र त्यसलाई एउटै फ्रेममा समावेश गर्नुपर्‍यो भने अल्ट्रा-वाइड सेन्सर प्रयोग गर्न सकिन्छ । यसका बारेमा थप चर्चा गर्नुअघि हामी यसको प्राविधिक पक्षमा प्रवेश गरौं ।

अल्ट्रा-वाइड सेन्सरका लागि फोकल लेन्थ छोटो हुनेगर्छ । फोकल लेन्थ र भ्युइङ एङ्गल (त्यो एङ्गल, जहाँ डिस्प्लेले कुनै पनि दृश्यलाई सही तरिकाले देखाउँछ) को सम्बन्ध विपरीत रूपमा समानुपातिक हुन्छ (इन्भर्सली प्रोपोर्सन) । यसको अर्थ जति कम फोकल लेन्थ भयो, त्यति नै बढी भ्युइङ एङ्गल हुनेगर्छ ।

यसको प्रयोग प्रायः ग्रुप फोटो खिच्दा बढी हुने गर्छ ।

टेलिफोटो सेन्सर क्यामेरा

सामान्य अर्थमा टेलिफोटो क्यामेराले टेलिस्कोपको जस्तो जुम गरेर फोटो खिच्न सहयोग गर्नेगर्छ । फेरि यसको अर्थ टेलिस्कोपकै स्तरको फोटो खिच्छ भन्ने हुँदैन । यसलाई उदाहरणका लागि मात्र लिइएको हो ।

यदि तपाईंले मुख्य क्यामेराबाट जुम गरेर खिच्न लाग्नुभयो भने फोटो पिक्जलेट (ब्लर) हुन्छ । कुनै पनि टाढाको वस्तुको फोटो खिच्न मुख्य क्यामेरा प्रयोग गरी जुम गर्नुभयो भने त्यसको गुणस्तर निकै कम हुन्छ । यस्तो अवस्थामा तपाईंले टेलिफोटो सेन्सर प्रयोग गर्न सक्नुहुन्छ ।

म्याक्रो सेन्सर क्यामेरा

के तपाईंलाई कुनै पनि सानो वस्तुको फोटो खिच्न मन पर्छ ? यदि त्यसो हो भने म्याक्रो सेन्सर क्यामेरा तपाईंका लागि उपयुक्त हुन्छ ।

म्याक्रो सेन्सर क्यामेराले सामान्यतः कुनै पनि वस्तुलाई नजिक देखाएर त्यसलाई ठूलो पार्ने (मेग्निफाइङ) गर्छ । यसले कुन पनि वस्तुको डिटेल फोटो खिच्ने गर्छ ।

यदि तपाईं कुनै ठाउँमा बसिरहेको किराको फोटो खिच्दै हुनुहुन्छ भने त्यस्तो अवस्थामा तपाईंले म्याक्रो सेन्सरको प्रयोग गर्न सक्नुहुन्छ ।

मोनोक्रोम सेन्सर क्यामेरा

मोनोक्रोम सेन्सरले कुनै पनि फोटोको शार्पनेस नघटाई खिच्ने गर्छ । यसले फोटोलाई कन्ट्रास्ट उपलब्ध गराउने भएकाले फोटो गुणस्तरीय देखिन्छ ।

तपाईंले ब्ल्याक एण्ड ह्वाइट फोटो नर्मल क्यामेराबाट खिच्न सक्नुहुन्छ । तर, यसको प्रक्रिया भने मोनोक्रोम सेन्सरले गरिरहेको छ । अन्य सेन्सरको तुलनामा मोनोक्रोम सेन्सर क्यामेरा कमै प्रयोग हुने गर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३