close

विकिपिडियामा वर्षौंसम्म रूसको नक्कली इतिहास लेख्ने एक चिनियाँ गृहिणी

टेकपाना टेकपाना

साउन १, २०७९ १२:५२

विकिपिडियामा वर्षौंसम्म रूसको नक्कली इतिहास लेख्ने एक चिनियाँ गृहिणी

काठमाडौं । चीनमा प्रयोग हुने विकिपिडियामा रुसको मध्यकालीन इतिहासबारे विस्तृत र आधिकारिक लेखहरूको एक बलियो संग्रह पाइन्छ । ‘जिमाओ’ नाम गरेकी एक विकिपिडिया प्रयोगकर्ता, जो आफूलाई रुसमा खटाइएका एक कूटनीतिज्ञकी छोरी भएको दाबी गर्छिन् । उनले नै रुसको विषयमा लामो इतिहास लेखेकी छिन् ।

जिमाओले सन् २०१९ देखि विकिपिडियाको वेबसाइटका लागि हालसम्म २०६ ओटा लेख लेखेकी छन्, जसमध्ये एउटा लेख ‘द ग्रेट ग्याट्सबी’ उपन्यास जत्तिकै लामो छ । यसले १७औं शताब्दीमा रूसमा टार्टर विद्रोहको विस्तृत विवरण दिन्छ । यसलाई मध्यकालीन युगको नक्सासहित प्रमाणित गर्ने प्रयास गरिएको छ ।

अर्को लेखमा, उनले पुरातन रूसी सिक्काहरूको दुर्लभ तस्वीरहरू शेयर गरेकी छन्, जुन कथित रूपमा पुरातत्वविद्हरूबाट प्राप्त गरिएको थियो । उनले लेखेका लेखहरू निकै नै विश्वासिला थिए र पाठकहरूले पनि ती लेखलाई सम्मान गर्थे ।

तर यो सम्मान तबसम्म मात्र जारी रह्यो, जबसम्म उनले लेख लेख्न छोडिनन् । अथवा भनौं पाठकहरूलाई झुक्याउन विकिपिडियामा प्रस्तुत गरेको गलत विवरणको सत्यता बाहिर आएपछि उनले सबै सम्मान गुमाइन् ।

चिनियाँ उपन्यासकार इफानले ‘कोरा’ (Quora) जस्तै एक चिनियाँ वेबसाइटमा एक पोस्ट शेयर गर्दै यसको विषयमा खुलासा गरेका थिए ।

इफानले आफ्नो नयाँ पुस्तकको लागि अनुसन्धान गर्दा जिमाओले १४ औं र १५ औं शताब्दीमा रूसको लागि धनको स्रोत चाँदीको खानी थियो भनेर वर्णन गरेको विषय गलत भएको पाएका थिए । लेखलाई हेर्ने हो भने यो निकै नै विस्तृत रुपमा प्रस्तुत गरिएको थियो ।

उक्त लेखमा माटोको संरचना, खानीको संरचना र चाँदीमा प्रयोग हुने प्रशोधन प्रक्रियाहरू बारे जानकारी समावेश थियो। तर जब इफानले रुसी विज्ञहरूसँग जिमाओले प्रस्तुत गरेको सन्दर्भहरू मूल्याङ्कन गर्ने प्रयास गरे तब जिमाओले उद्धृत गरेका पुस्तकहरूको कुनै पनि पृष्ठ वा संस्करणहरूमा वास्तविकमा नभएकाे खुल्न आयो ।

विकिपिडियामा सत्यभन्दा प्रमाणहरू बढी आधिकारिक हुन्छन्, जसका लागि जिमाओले त्यस्ता किताबहरू प्रयोग गरिन्, जुन न लेखिएको थियो, न त छापिएकै थिए ।

विकिपिडियाका लागि काम गर्ने एक सम्पादकले प्रकाशित हुने लेखहरूमा राम्रोसँग साइटेशन गरिएको छ कि छैन र यो चोरीको लेख हो कि होइन भनेर मात्र जाँच हुने गरेको बताउँछन् । यही कारणले गर्दा पनि विकिपिडियालाई धेरै मानिसहरूले कुनै पनि कुराको सत्य तथ्यको स्रोतको रुपमा लिदैँनन् ।

चिनियाँ विकिपीडियाकै अर्का लेखक जोन यिपले जिमाओले एक्लै विकिपिडियालाई कमजोर पार्ने नयाँ तरिका आविष्कार गरेको बताएका छन् । विकिपिडियामा झूटो परिचय दिएर लेख लेख्ने व्यक्ति जिमाओ मात्र होइनन् ।

सन् २००७ मा एक सम्पादक जसले आफूलाई विश्वविद्यालयको प्रोफेसर भएको दाबी गरेका थिए, उनी अमेरिकाको केन्टकीमा पढ्दै गरेका २४ वर्षका विद्यार्थी थिए ।

पछि जिमाओ आफैँले आफूले गरेको गलत काम स्वीकार गरेकी थिइन् । उनले एक सामाजिक सञ्जालमा पोस्ट गर्दै आफू रुस कहिले पनि नगएको र उनको श्रीमान पनि रुसी नभई चिनियाँ भएको स्पष्ट पारिन् ।

साथै उनीसँग मस्को स्टेट युनिभर्सिटीबाट विश्व इतिहासमा विद्यावारिधि गरेको कुनै पनि डिग्री नभएको उनले खुलासा गरेकी छन् ।

वास्तवमा उनी हाइस्कुल डिप्लोमा गरेकी र हाल एक गृहिणी मात्र थिइन् । घरमा बसेर दिक्क भएकी जिमाओले आफ्नो समय बिताउन लेख लेख्न सुरु गरेकी थिइन् ।

तर जिमाओ, आफूले बुझ्ने भाषामा लेख नभएपछि अंग्रेजी र रुसी भाषामा लेखिएको लेखहरूबाट सन्तुष्ट थिइनन् । उनले विभिन्न लेखहरू पढ्न अनलाइन ट्रान्सेलटर प्रयोग गरिन् र बीचमा नबुझिएका कुराहरूलाई आफैँले कपोल्कल्पित रुपमा थप गरेर बुझ्न थालिन् । त्यही हिसाबले लेख पनि लेख्न थालिन् ।

यद्यपि उनको लेखाइ यति स्पष्ट थियो कि, यसलाई झूट भनेर छुट्टाउन निकै गाह्रो छ । अहिले उनले लेखेका सम्पूर्ण लेखहरू विकिपिडियाबाट हटाइएको छ ।

भाइस वर्ल्ड न्युजबाट साभार

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३