close

दराज विदेशिएका नेपालीलाई स्वदेश फर्काएर उद्यमी बनाउन चाहन्छः आँचल कुँवर

टेकपाना टेकपाना

साउन ३, २०७९ ७:२८

दराज विदेशिएका नेपालीलाई स्वदेश फर्काएर उद्यमी बनाउन चाहन्छः आँचल कुँवर

नेपालको सन्दर्भमा भन्नुपर्दा मलाई अचम्म लाग्ने भनेको यहाँको कनेक्टिभिटीमै हो । अमेरिकामा सहरभन्दा बाहिर अलिकति टाढा गयो भने पनि फोन चल्दैनथ्यो । यहाँ मुक्तिनाथमा हाइकिङ जाँदा पनि फोन चलिरहेको देख्छु । यसबाट म निकै खुसी र उत्साहित भएकी थिएँ ।

अहिले देशभरका मानिसहरू कुनै सूचना पाउन वा सामग्री पाउन फोनमा निर्भर भएका धेरै उदाहरण छन् । अहिले नेपालमा तीव्र गतिमा अगाडि बढिरहेको भुक्तानी प्रणालीले पनि मलाई निकै नै प्रभावित पारेको छ ।

पहिला नेपाल फर्किँदाखेरि सबै ठाउँमा नगदै बोक्नु पर्ने हुन्थ्यो । ती हजार रुपैयाँका नोट खल्तीमा पनि अड्दैन थिए । तर, अहिलेचाहिँ मैले नगद बोकेर हिँडिराख्नु पर्दैन ।

म सामान्य पान पसलमा गएँ भने पनि मोबाइलमा रहेको ईसेवा, फोनपे मार्फत भुक्तानी गर्न सक्छु । त्यसैले यसले के सङ्केत गर्छ भने नेपाली ग्राहकहरू परिवर्तनका निम्ति तयार छन् । उनीहरू नयाँ प्रविधि आत्मसाथ गरी आफ्नो जीवनयापन सहज बनाउन उत्साहित छन् । 

म यहाँनिर अलिकति आफ्नो व्यक्तिगत अनुभव बाँड्न चाहन्छु । मैले अमेरिकामा पढाईसँगै काम गर्दै १८ वर्ष बिताएँ । मेरो नेपाल फर्किने त्यस्तो कुनै पनि योजना थिएन । तर जब यो दराजको प्रबन्ध निर्देशकको पद अफर मलाई आयो ।

यो केवल कम्पनीको आम्दानी र नाफा वृद्धिको कुरा मात्र थिएन । त्यतिमात्र कुराले गर्दा कसैलाई नेपाल आउन बाध्य बनाउँछ जस्तो मलाई लाग्दैन । मैले आफ्नो जीवनमा धेरै गर्नु थियो, गरेँ । म अबको समय आफ्नो समाजको स्तरोन्नतिका लागि केही गर्छु भन्ने लागेर फर्किएकी हुँ । 

म त्यहाँ आफ्नो पढाई, कामका साथसाथै त्यहाँ रहेका नेपाली सङ्घ संस्थाहरू मार्फत सहयोग पनि गरिरहेकी थिएँ । नेपालमा भूकम्प गएको बेला पनि हामीले नेपालमा दुई लाख ५० हजार अमेरिकी डलर पठाएका थियौँ । आफ्नो क्षेत्रबाट कसरी सेवा गर्न सकिन्छ भनेर म नेपाल फर्किएकी हुँ ।

अब दराजले कसरी समाजसेवा वा समाज रूपान्तरण गर्न के कस्तो भूमिका खेलेको छ भन्ने सन्दर्भमा तिर लागौँ । हामी बिक्रेताको आधार बढाउने कार्यमा योगदान दिइरहेका छौँ । यसले कुनै साधन नभएका थुप्रै बिक्रेतालाई आफ्ना सरसामान बिक्री गर्ने प्लेटफर्म निर्माण गरेको छ ।

हामीले उहाँहरूको सामान बिक्री गर्न निकै सहज बनाइ दिएका छौँ । त्यसको कुरा गर्दा यसले धेरैलाई रोजगारी दिएको छ । देशमा रोजगारको अभावले बाहिर गएका नागरिकलाई फर्काउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।

धेरै मानिसहरू आफैँ व्यवसायी बन्न सक्दैनन् । आफ्नो व्यवसाय आफै सञ्चालन गर्न सक्दैनन् । कुनै व्यक्तिको आफ्नो पारिवारिक व्यापार छ भने त छुट्टै कुरा ।

तर, कसैको केही छैन भने त्यस्ता व्यक्तिहरूलाई व्यापारमा संलग्न हुन हामीले सघाएका छौँ । संसारका विभिन्न देशमा लाखौं खर्च गरेर पढ्न जानेहरू छन् । उनीहरूलाई कसरी देशमा फिर्ता ल्याउन सकिन्छ भन्ने कुरामा हामी बढी केन्द्रित छौँ ।

त्यस्तै ग्राहकको दृष्टिकोणबाट हेर्दा आवश्यक सामग्री पुर्‍याउन मात्र नभई मानिसहरूलाई रिटर्न पोलिसीको बारेमा जानकारी दिन, उहाँहरूको डेटा संरक्षणको काम गर्न, अनलाइन ठगहरूबाट ग्राहकलाई कसरी बचाउन सकिन्छ भन्ने कुरामा सरकार तथा अन्य निकायसँग सहकार्य गरेर पनि काम गरिरहेका छौँ ।

त्यस्तै हाम्रो सामाजिक दायित्व अन्तर्गत हामी गैरनाफामुखी संस्थाहरूसँग मिलेर काम गरिरहेका हुन्छौँ । पैसा दान गर्ने मात्र होइन कि हामीले पिछडिएका समूहसँग उनीहरूको उत्थानका लागि कसरी काम गर्न सकिन्छ भन्ने पक्षमा पनि सोचिरहेका छौँ ।

हामी अहिले विभिन्न मेन्टरशिप कार्यक्रमहरू आयोजना गरिरहेका छौँ । जसले पिछडिएका वर्गका बालबालिकाहरूको उत्थानमा सहयोग पुर्‍याउँछ । त्यस्तै फोहोर व्यवस्थापनका लागि कसरी काम गर्नुपर्छ भनेर पनि हामी सरकारसँग सहकार्य गरिरहेका छौँ ।

त्यस्तै नेपालको हुलाक सेवालाई अगाडि बढाउन सरकारी निकायसँग बैठक गरिरहेका छौँ । हाम्रो लजिस्टिक सेवामार्फत हुलाक सेवालाई पुनः जागरुक बनाउन लागि परेका छौँ । यो सबै कुरालाई हेर्ने हो भने दराजको आम्दानी मात्र नभई हामी अन्य सेवामा पनि सक्रिय छौं ।

हामी व्यवसायको सन्दर्भमा ग्राहकको अनुभव, बिक्रेताको अनुभव, साझेदारको अनुभव र कर्मचारीको अनुभवमा केन्द्रित छौँ । हाम्रो ‘सारथी कार्यक्रम’ छ । जसको माध्यमबाट सुरुवातमा विभिन्न उद्यमीहरू शून्य प्रतिशत कमिसनमा दर्ता हुन सक्छन् । हामी त्यसमा पनि केन्द्रित छौँ ।

हाम्रो ‘प्राउड्ली नेपाली’ भन्ने च्यानल सार्वजनिक भएको छ । जुन नेपालमा बनेका उत्पादनको बिक्रीमा बढी केन्द्रित छ । यस्ता कुराहरूमा हामी सधैँ सक्रिय भइरहने छौँ । हामी नेपाली स्टार्टअप र उद्यमीलाई कसरी सहयोग गर्छौँ भन्ने कुरामा पनि केन्द्रित छौँ । त्यसैले हामी पैसामा मात्र नभई मेन्टरशिप र सेवामा पनि ध्यान दिइरहेका छौँ ।

केही साता अघि राजधानीमा आयोजित दराज समिटमा दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवरले व्यक्त गरेको  विचारको सम्पादित अंश ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३