close

स्याङ्जाको मिर्मीमा नेपाल टेलिकमको फाइबर इन्टरनेट, गल्याङ बन्यो कपर फ्रि

टेकपाना टेकपाना

साउन ३, २०७९ ११:४६

स्याङ्जाको मिर्मीमा नेपाल टेलिकमको फाइबर इन्टरनेट, गल्याङ बन्यो कपर फ्रि

काठमाडौं । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङले स्याङ्जाको पर्यटकीय सहर मिर्मीमा मङ्लबारदेखि अप्टिकल फाइबरमा आधारित उच्च गतिको इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । यो सँगै मिर्मीमा ग्राहकले उच्च गतिको इन्टरनेट सेवाको मज्जा लिन सक्ने भएका छन् ।

टेलिकमको अनुसार गल्याङमा पुरानो तामाको तारबाट सञ्चालित सबै सेवाहरू पूर्ण एफटीटीएचमा आधारित भएर कपर फ्रि नेटवर्क बनेको उल्लेख गरिएको छ । कपर फ्रि नेटवर्क हुँदा अव्यवस्थित तारहरू व्यवस्थित गर्न समेत सहज हुने नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रमुख इन्दल यादवले बताएका छन् ।

उनले तामाको तारमा आधारित नेटवर्कको सट्टा एउटै अप्टिकल फाइबरमार्फत ब्रोडब्यान्ड इन्टरनेट, भ्वाइस, टेलिभिजन तथा मोबाइल डेटा उपलब्ध हुनेगरि सेवा उपलब्ध गराइएकोले उपभोक्तालाई सहज हुने जनाए ।

गण्डकी प्रदेशका सहरी तथा ग्रामीण क्षेत्रका सबै स्थानमा विस्तारै फाइबरमार्फत उपभोक्तालाई सेवा उपलब्ध गराइने दूरसञ्चार कार्यालय पोखराका प्रमुख रवि मानन्धरले बताएका छन् । उनले नेपाल टेलिकम सरकारी स्वामित्वको संस्था भएकाले ग्राहकले सहुलियत दरमा उच्च गतिको इन्टरनेट सेवाको उपभोग गर्न पाउने दावी गरेका छन् ।

टेलिकमले सामान्य घरमा प्रयोग हुने ८ एमबीपीएस देखि स्कुल तथा कलेज र व्यवसायलाई लक्षित गर्दै ८० एमबीपीएस गतिसम्मकोे इन्टरनेट उपलब्ध गराइरहेको टेलिकम कार्यालय गल्याङका कार्यालय प्रमुख राम राज उपाध्यायले बताएका छन् । उनका अनुसार एकै पटक वार्षिक प्याकेज लिने ग्राहकले पीएसटीएन टेलिफोनको न्यनतम मासिक एक वर्षका लागि निःशुल्क उपलब्ध हुनेछ । साथै अन्य ६ प्रकारका सेवाहरू समेत निःशुल्क उपलब्ध हुनेछ जनाइएको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३