ट्रेन्डिङ:
आखिर किन धराशायी हुँदैछ भारतीय ‘राइड हेलिङ’ कम्पनी ओला ? युट्युवको सर्च र रेकमेन्डेसन एल्गोरिदमले कसरी काम गर्छ ? यस्तो छ नयाँ नियम गुगल सर्चमा आफ्नो जानकारी भेट्नुभयो ? यसरी हटाउनुहोस् सेलपेबाट अब एक लाख ६० हजारभन्दा बढी मर्चेन्टमा भुक्तानी गर्न सकिने थाहा पाइराख्नुहोस् मोबाइलको चार्जरमा हुने सङ्केत र तिनको अर्थ जिमेल प्रयोगकर्तालाई नयाँ नियम, दुई बर्षदेखि निस्क्रिय जिमेलका सबै कन्टेन्ट डिलिट हुने ३५ सयले लिए टेलिकमकाे ई-सिम यो कस्तो नीति ? सरकारलाई कर तिरेर आईफोन ल्याउन नपाइने, तर तस्करी गर्न चाहिँ पाइने ११ हजार सरकारी कर्मचारीको मात्र आधिकारिक ईमेल आईडी ! अनलाइनबाट सामान खरिद गर्दा ख्याल राख्नुहोस् यी कुरा
close

आखिर किन धराशायी हुँदैछ भारतीय ‘राइड हेलिङ’ कम्पनी ओला ?

टेकपाना टेकपाना

साउन ५, २०७९

आखिर किन धराशायी हुँदैछ भारतीय ‘राइड हेलिङ’ कम्पनी ओला ?

काठमाडौं । ‘राइड हेलिङ’ (अनलाइन अर्डरमा यात्रुलाई उसको गन्तव्यमा पुर्‍याउने सेवा) को बजारमा भारतीय कम्पनी ‘ओला’ निकै चर्चित नाम हो । भारतको व्यवसायिक ‘इकोसिस्टम’ (पारिस्थिति प्रणाली) मा ओला एउटा नयाँ परिवर्तनको रुपमा चिनिन्छ ।

भारतमा ‘राइड हेलिङ’को क्षेत्रमा ‘क्याब’ (ट्याक्सी) को परिचालनमा ओलाको महत्त्वपूर्ण भूमिका छ । एउटा क्रान्तिको रुपमा लिइएको कम्पनी ओला कोरोना महामारीसँगै आफ्नो व्यवसायिक यात्रामा अवरोहणको चरणबाट गुज्रिरहेको छ । 

अवरोहण अर्थात ओह्रालो एवम् असफलताको दिशातर्फको यात्रा  । कम्पनीले जसरी छोटो समयमा राम्रो सफलता हात पारेको थियो, त्यो सफलताको चुलीमा धेरै लामो समयसम्म टिक्न सकेन । 

कोरोना महामारीको कारण मात्र ओलामा आवद्ध ३० हजार भन्दा बढी सवारीहरू कामविहीन भए । यसले गर्दा धेरै चालकहरूले ओलामा काम गर्न छोडे । 

यति मात्र होइन, विगतको दुई वर्षमा कम्पनीका करिब १६ जना उच्च पदस्थ कर्मचारीहरूले जागिर छोडे । कोरोना महामारीको प्रभाव विश्व अर्थतन्त्रमा विस्तारै हट्दैछ ।

तर विगत ११ वर्षदेखि बजारमा प्रभुत्व जमाएर बसेको ओला आज घाटामा चलिरहेको छ । आउने दिनमा नाफाको कुनै सङ्केत छैन । तर के कोरोना महामारी कै कारण मात्र कम्पनी डुब्दै गएको हो ?

राम्रो बजार, आबद्ध ‘राइडर’ र यात्रुहरूको राम्रो प्रतिक्रिया हुँदाहुँदै  पनि कम्पनीले नाफा कमाउन सकेन । यसरी लामो समयसम्म सफलता हासिल गरिरहेको र देशभर ठूलो सञ्जाल बनाएको कम्पनी आज किन असफल हुँदै गइरहेको छ त ? आज हामी यसै विषय चर्चा गर्दै छौँ । 

व्यावसायिक मोडेल 

कुनै पनि कम्पनी सफल हुने वा असफल हुने भन्ने कुरा उसको व्यवसायिक रणनीतिमा भर पर्छ । ओला जस्ता अनलाइन व्यवसायहरू आफ्नो नेटवर्ककै कारण महत्त्वपूर्ण भएका हुन् । व्यवसायिक यात्रामा कम्पनीले विभिन्न चरणहरू पार गर्दै अगाडि बढिरहेको थियो । 

सुरुको चरण थियो ‘क्याशड्रेन’ । यो चरणमा कम्पनीहरूले मानिसहरूको आवद्धता बढाउन थुप्रै रकम खर्च गर्दछन् । ओलाको सन्दर्भमा भने कम्पनीले यात्रुको लागि सस्तो ‘राइड’का साथै एप डाउनलोड गर्नेलाई विभिन्न प्रकारका  सहुलियत दिन सुरु गर्‍यो । 

त्यसैगरी चालकहरूलाई पनि विभिन्न प्रकारका आकर्षित सहुलियत ल्यायो । जसले गर्दा चालक र यात्रु दुवैमा यो सेवा प्रयोग गर्न निकै उत्साह देखियो । 

यसले गर्दा यात्रुले पनि सस्तोमा ‘राइड’ पाउन थाले भने कम्पनीले दिएको सहुलियतको कारण ‘राइडर’ले मासिक ७०,००० देखि ८०,००० भारुसम्म आम्दानी गर्न थाले । यसपछि सुरु हुन्छ कम्पनीको दोस्रो चरण । 

दोस्रो चरणमा ‘विश्वास जित्नु’ थियो । यो चरणमा सुरुका विभिन्न अफर लगायत सुविधाका कारण मानिसहरू आवद्ध भए पनि क्रमशः कम्पनीप्रति भरोसा समेत गर्न थाल्छन् । 

उदाहरणका लागि यदि कुनै ठूलो कम्पनीमा दैनिक ८ घण्टा काम गरेर मासिक ३०,००० भारु कमाइरहेको छ । तर सँगैको साथी त्यही ८ घण्टा अनलाइन प्लेटफर्मको सहयोगमा गाडी चलाएर ७०,००० देखि ८०,००० भारु कमाइरहेको छ भने जोकसैको पनि मन बहकिन्छ ।

यसरी ओलाप्रतिको चालकको विश्वासकै कारण नै न्यून आय भएका अन्य मानिसहरू पनि विस्तारै आफ्नो जागिर छोडेर ऋण लिएरै भए पनि कार खरिद गर्दै ओला तथा उबरमा जोडिन थाले । त्यस्तै यात्रुको तर्फबाट हेर्ने हो भने ओला तथा उबर भारतको सहरी क्षेत्रमा मानिसको दैनिकी बनिसकेका थिए ।

यसरी ड्राइभर र यात्रु दुवैको पक्षबाट सकारात्मक प्रतिक्रिया आइरहँदा कम्पनीको बजार वृहत रुपमा विस्तार हुँदै गयो ।अर्कोतिर भने कम्पनीमा मानिसहरू आवद्ध मात्र नभएर निर्भर नै भइरहेका थिए ।

उदाहरणको लागि किस्तामा कार खरिद गरेर ओला ड्राइभर बनेका मानिसहरू कम्तीमा पनि पाँच वर्षसम्म कम्पनीकै भरमा आफ्नो किस्ता तिर्ने आशामा थिए । किस्ता नतिरुञ्जेल उनीहरूका लागि ओलामै काम गर्नुको विकल्प पनि थिएन । 

अर्कोतर्फ यात्रुले पनि ओला साह्रै सस्तो र सहज भएकै कारण आफ्नै गाडी खरिद गर्ने सोच नै छोडिसकेका थिए । यसको साटो उनीहरू कम्पनीले उपलब्ध गराएको ‘ओला शेयर पास’ खरिद गरेर ओला नै प्रयोग गर्न थाले । जुन क्रमशः थुप्रै भारतीयहरूको जीवनशैली बन्न पुग्यो । 

‘ओला शेयर पास’ कम्पनीले प्रयोगकर्ताको लागि उपलब्ध गराएको एउटा छुट हो, जसमा प्रयोगकर्ताले आफूले बुक गरेको ओला अन्य यात्रुसँग पनि शेयर गर्न सक्छन् र ओलाको शुल्क एकअर्कामा शेयर गर्न सक्छन् । यसले गर्दा यात्रुहरूले ओला, उबर लगायतका सेवाहरू निकै नै प्रयोग गर्न थाले । 

तर यो रणनीति कम्पनीको आर्थिक स्वास्थताका लागि भने लाभदायक भएन । बाहिरबाट हेर्दा कम्पनी जति नै समृद्ध देखिए पनि हरेक वर्ष कम्पनीको आम्दानी विस्तारै घट्दै गयो । सन् २०१७ को आर्थिक वर्षमा कम्पनीले ४,८९८ करोड भारु घाटा व्यहोर्न पुग्यो । 

सन् २०१८ र २०१९ बीचमा कम्पनीले फरक नीतिका साथ अगाडि बढ्न थाल्यो । यो समयावधिमा कम्पनीले धेरै नै संघर्ष गर्नुपर्‍यो । त्यससँगै कम्पनीले दिइएका सेवा सुविधा खुम्च्याउँदै लैजान थाल्यो ।

कम्पनीले ड्राइभरहरूलाई दिँदै आएको सहुलियत ६० प्रतिशतसम्म कटौती गर्‍यो भने प्रयोगकर्ताहरूसँग थप शुल्क उठाउन थाल्यो । अर्कोतिर पेट्रोलको भाउ पनि त्यसैगरी बढ्दै गइरहेको थियो ।

साथै कम्पनीको सहुलियत लगायत अन्य थुप्रै सुविधाका कारण ओलामा ड्राइभरको सङ्ख्या बढिरहेको थियो । जसले गर्दा यात्रु सङ्ख्या बाँडिन पुगे । फलस्वरूप ओला ड्राइभरको आम्दानी पनि घट्दै गयो । 

कुनै समय मासिक ७०,००० भारु कमाइरहेका ड्राइभरलाई ३०,००० भारु पनि कमाउन मुस्किल हुन थाल्यो । जसै कम्पनीले आफूले दिने सहुलियतहरूमा नियन्त्रण गर्न सुरु गर्‍यो, ड्राइभरहरूले तत्कालीन समयमा कम्पनीको यो निर्णय विरुद्ध देशभर आन्दोलन पनि गरे ।

कम्पनी र ड्राइभरबीचको यो लफडा चलिरहँदा विश्वभर कोरोना भाइरस द्रुत गतिमा फैलिन सुरु भयो । महामारीका कारण सारा विश्व लकडाउनमा थियो भने विश्व अर्थतन्त्रमा ठूलो धक्का लाग्यो । यो क्रम करिब दुई वर्षसम्म चलिरह्यो ।

र यो दुई वर्षमा ओला ड्राइभरहरूले कमाएको अथवा बचत गरेको जति पनि पैसा थियो सबै सकियो । जसरी अन्य कामदारहरू काम र आम्दानी बिहीन भएका थिए, ओला ड्राइभरको स्थिति पनि त्यही भयो । 

अधिकांश ओला ड्राइभर त सहर छोडेर आफ्नो गाउँमा गएर खेती गर्न थाले । साथै ड्राइभरले किस्ता तिर्न नसक्दा कारहरू बैंकले जफत गरे । भारतीय सञ्चार माध्यमहरूका अनुसार सो समयमा करिब ३१,००० ओला कारहरू बैंकले जफत गरेको थियो । 

त्यसपछि ती ड्राइभरहरू, जसले किस्ता तिर्न नसकेर आफ्नो गाडी गुमाए, उनीहरूले साहुको गाडी चलाउन थाले । गाडी साहु अर्थात एक जना व्यक्ति, जोसँग चारपाँच वा सो भन्दा धेरै गाडी हुन्छन् र उनीहरूले आफ्नो गाडी अरूलाई चलाउन दिने गर्दछन् ।

यसरी चलाउन दिइएको गाडीमा ६० प्रतिशत नाफा ड्राइभरको हुन्छ भने ४० प्रतिशत गाडी साहुलाई जान्छ । यसको अर्थ हो यदि मासिक ३०,००० को आम्दानी छ भने १२००० साहुले लिन्छ भने १८,००० ड्राइभरको भागमा पर्छ ।

यसरी ओलाको खस्कदो स्थितिले गर्दा पहिले नै केही ड्राइभरले काम छोडिसकेका थिए भने नयाँ आबद्ध हुने व्यक्तिहरूको सङ्ख्या पनि घट्न थाल्यो । अर्कोतिर जसले आफ्नो गाडीको किस्ता तिरिसकेका थिए, उनीहरू पनि ओला छोडेर डेलिभरीको कामतिर लागे । ‌

ओलाले आफ्नो सहुलियत नियन्त्रण गरिरहँदा स्विगि, डन्जो लगायतका भारतका इकमर्स प्लेटफर्महरू हाल ‘क्याशड्रेन’को चरणमा छन् । जसले डेलिभरी गर्ने व्यक्तिलाई धेरै सहुलियत उपलब्ध गराइरहेका छन् ।

यसले गर्दा एउटा कम्पनीबाट घाटा खाएर सुरुवाती चरणमा रहेका अन्य कम्पनीहरूमा काम गरेर ड्राइभरहरूले पुन: राम्रो आम्दानी गरिरहेका छन् । मानिसहरू ड्राइभिङबाट डलिभरीतर्फ सरिरहेका छन् । यसले गर्दा हाल बजारमा ओला तथा उबरहरूले कार ड्राइभर पाउन मुश्किल भइरहेको छ ।

कम्पनीका लागि यसले समस्या त पैदा गरिरहेकै छ, सँगसँगै अन्य समस्याहरू पनि आइरहेका छन् । जस्तो कि ड्राइभरहरूले छोटो रुट अथवा थोरै शुल्क उठ्ने गन्तव्यमा नजाने र बुकिङ क्यान्सिल गर्ने गरेका छन् । कहिलेकाँही त कार बुक गर्न ३० मिनेटसम्म समय पनि लाग्ने गरेको छ । 

यो त ड्राइभरको सन्दर्भ भयो । अब यात्रुको तर्फबाट हेर्दा, विस्तारै यात्रु पनि घट्दै जान थाले । एकजना यात्रुको लागि दैनिक ओला चढ्नु भन्दा आफैँले गाडी किनेर मासिकको  १८,००० भारु तलबमा ड्राइभर राख्नु सहज भयो ।

अर्कोतिर ‘कारपुलिङ’ सेवा अथवा आफैँले खरिद गरेर गाडी चलाउने विकल्प नै प्रयोगकर्ताको लागि उपयुक्त हुने भयो । यसरी ओला विस्तारै भारतमा असफल हुँदै गइरहेको छ । 

वास्तवमा ओलाको प्रतिस्पर्धी उबर नभएर निजी कार ड्राइभरहरू थिए । जसको जागिर र तलब दुवै निश्चित अनि स्थिर हुन्छ । त्यसैगरी करिब ४५ वर्ष भन्दा माथिका ड्राइभरहरू ऋण लिएर अनिश्चित काम गर्न चाहँदैनन् ।

बरु उल्टै उनीहरू १८,००० तलबमै स्थायी किसिमको जागिर खान चाहन्छन् । यसले गर्दा पनि ओलालाई ड्राइभरको सधैँको अभाव रह्यो । 

प्रयोगकर्ताको सन्दर्भमा सँधै हिँड्ने ग्राहक, जो हरेक दिन कामको लागि हिँड्छन्, उनीहरू बाहेक अन्य ग्राहकको सङ्ख्या कम छ । यस्तोमा सँधै हिँड्ने ग्राहकको लागि जहाँ कम शुल्क तिर्नुपर्छ, त्यहीँ नै जाने भए ।

यसले गर्दा लामो समयको लागि ओलाको समस्या समाधान हुन सक्दैन । फलस्वरूप आज ओला घाटा ब्यहोर्न बाध्य छ ।