close

शनिबार नेपालमै पहिलो पटक ‘फस्ट पर्सन भ्यू’ मा आधारित रोबोटिक्स प्रतिस्पर्धा हुँदै

टेकपाना टेकपाना

साउन ५, २०७९ १४:३०

शनिबार नेपालमै पहिलो पटक ‘फस्ट पर्सन भ्यू’ मा आधारित रोबोटिक्स प्रतिस्पर्धा हुँदै

काठमाडौं । नेपालमै पहिलो पटक फस्ट पर्सन भ्यू (एफपीभी) मा आधारित रोबोटिक्स प्रतिस्पर्धा हुने भएको छ । आउँदो शनिबार राजधानीको टेक्सास इन्टरनेसनल कलेज मित्रपार्कमा हुने एफपीभी ग्राउन्ड रेस प्रतियोगितामा कुल १५ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

जीबीएस टिमको मुख्य आयोजना एवं टेक्सास एजुकेसन नेटवर्कको सह-आयोजनामा हुन लागेको प्रतियोगिताको विषय (थिम) सर्भिलेन्स एन्ड रेस्क्यु (निगरानी र उद्धार) रहेको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजक टिमका सदस्य ई. यज्ञप्रसाद देवकोटाले प्रतियोगितामा सहभागी हरेक टिमले एफपीभी क्यामेरा प्रयोग गरी निगरानी र पीडितको पहिचानपछि पीडितलाई खाना र औषधि उपलब्ध गराउनुपर्ने जानकारी दए ।

हरेक टिममा कम्तिमा चार सदस्य हुनुपर्ने नियम राखिएको छ ।

प्रतियोगिता जित्ने पहिलो टिमले २५ हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछ । त्यस्तै दोस्रो स्थान ल्याउने टिमले १० हजार रूपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछ ।

साथै विजेता र उपविजेता टोलीबाहेक सहभागीहरुलाई रिडेम्पसनको दोस्रो मौका दिइने आयोजकले जनाएको छ । जसअन्तर्गत सहभागी टिमले पाँच हजार रुपैयाँ जित्न सक्नेछन् ।

‘यो एफपीभी ग्राउन्ड रेस प्रतियोगिता आफैँमा एउटा आकर्षणको विषय हो । नेपालमै पहिलो पटक यस्तो दूरदर्शी प्रतियोगिता हुन गइरहेका कारण हामी निकै उत्साहित छौं, ई. देवकोटाले भने ।

उनले अगाडि भने, ‘हामी गर्वका साथ भन्न सक्छौं कि, यो विषय महान् विचार हो । किनभने नेपालको विभिन्न भू-भाग भौगालिक संरचनात्मक रुपमा अप्ठ्यारो छ । तसर्थ रोबोट दृढ हुनुका साथै बलियो हुन आवश्यक छ । परिस्थिति र प्रकोपको कठोरतामा निर्भर गर्द उद्धारकर्ता पैदल हिँडेर लक्ष्य विन्दुमा पुग्न वा नपुग्नसक्छन्, जबकि रोबोट जहाँ पनि जानसक्छ । त्यसैले यसले हामीलाई क्षतिको गम्भीरता अवलोकन गर्न मद्धत गर्नसक्छ ।’

यस प्रतियोगिताका लागि रोबोटहरुले विभिन्न भू-भागहरु र कठिनाइहरु जस्तै ग्राभेल सडक, बलौटे बाटो, पानी, सुरुङ आदि पार गर्न सक्षम हुनुपर्ने बताइएको छ ।

‘टनेल जस्ता अँध्यारो ठाउँहरूलाई सम्बोधन गर्दा दृष्टिका लागि उचित प्रकाशनको सुविधा हुनुपर्छ । प्रत्यक्ष प्यारामिटरहरुमा वास्तविक समयमा रोबोट ड्राइभ गर्दा यसले बाटोमा भएको केही डेटा प्रयोग गरेर डेटाको मद्दतले मार्ग फेला सक्षम हुनुपर्छ । तसर्थ अपरेटरले त्यो कार्यलाई पनि ध्यानपूर्वक विचार गर्नुपर्छ,’ देवकोटाले भने ।

जीबीएस टिम ई. गणेश विक्रम सिंह आले र ई. यज्ञप्रसाद देवकोटाले स्थापना गरेको प्राविधि उत्साही व्यक्तिहरुको समूह हो । यो टिमले तयार पारेको बम डिस्पोजन रोबोट नेपाली सेनाले प्रयोग गर्दै आएको छ । साथै यो टिमले रोबोटिक्स, आईओटी, अटोमेसन लगायतका क्षेत्रमा अनुसन्धान एवं विकासको काम गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३