close

इमोजी डिजाइन पछाडिको रोचक कथा

टेकपाना टेकपाना

साउन ६, २०७९ ११:२९

इमोजी डिजाइन पछाडिको रोचक कथा

काठमाडौं । तपाईंले दैनिक प्रयोग गरिरहेका इमोजीका बारेमा खासै सोच्नुभएको छैन होला । अनलाइनमा गरिने हरेक च्याटलाई आकर्षक बनाउने यी इमोजी कसरी विकास गरिएका होलान् ? यसका पछाडि थुप्रै कथा जोडिएका छन् । आज हामी इमोजी आउनुका पछाडिको कथा यहाँ राख्दैछौं ।

जमैकाका संगीतविज्ञ एन्ड्रियु टोश भन्छन्, ‘संसारलाई सुतेको मानसिकताबाट माथि उठाउन मेरो बाबाको सन्देशयुक्त संगीतले ठूलो भूमिका खेलेकाे छ ।’

उनका बाबु पिटर टोश सन् १९६० दशकको ‘द वाइलेयर्स’ ब्याण्डका एक सदस्य थिए, जसमा बब मार्ली र बन्नी वाइलेर अन्य दुई सदस्य थिए ।

सन् १९८० को दशकतिर भएको भयानक आक्रमणमा परी पिटर टोशको निधन भयो । उनी संसारबाट विलीन भएपनि उनले राजनीति र संगीत क्षेत्रमा दिएको योगदान अमर रहेको छ ।

यदि तपाईंले आफ्नो फोनमा कीबोर्डको इमोजी सेक्सनमा गई ‘लेभिटेटिङ (Levitating)’ अप्सन छान्नुभयो भने त्यहाँ ह्याट र कालो कोट लगाएको इमोजी देख्न सक्नुहुन्छ । त्यो इमोजी पिटर टोशको हो ।

पिटर टोशको देहान्तपछि उनको सम्पत्ति उनकी छोरी नियाम्बे म्याकइन्टोसले हेरिरहेकी छन् । उनले आफ्ना बाबुको विरासत न्याय र मानव अधिकारको पक्षमा भएको भन्दै आफूले बाबुको कामलाई निरन्तरता दिनु गर्वको कुरा रहेको बताएकी छन् ।

आफ्ना बाबु इमोजीमार्फत अमर भएको थाहा पाउँदा उनी दङ्ग छिन् ।

पिटर टोशका छोरा एन्ड्रियु भन्छन्, ‘मलाई धेरै कुरा थाहा छैन । त्यो इमोजी बब मार्ली, बन्नी र मेरो बाबामा आधारित हो भन्नेचाहिँ थाहा छ । बाबा उहाँहरूभन्दा अग्लो हुनुहुन्थ्यो ।’

पिटर टाेशका छाेरा एन्ड्र्यु

पछि त्यो इमोजी आफ्नै बाबाको हो भनेर थाहा पाउँदा उनी दङ्ग परेका थिए । आखिर रेगे (जमैकामा सन् १९६० को दशकमा सुरु भएको संगीत विधा) का यति चर्चित व्यक्ति कसरी इमोजीका रूपमा देखिए ? 

वेबडिङको इतिहास

यो एउटा त्यस्तो कथा हो, जसले हामीलाई किंगस्टोन जमैकाबाट संयुक्त राज्य अमेरिकामा पुर्‍याउँछ । विशेषतः १९९० को दशकको माइक्रोसफ्टको हेडक्वाटरमा पुर्‍याउँछ । त्यो समयमा पीसी (Personal Computer) को क्रान्ति सुरु हुँदै थियो ।

टाइपोग्राफर (फन्ट तयार पार्ने व्यक्ति) भिनसेन्ट कोन्नेयर (Vincent Connaire) नयाँ फन्टमा काम गरिरहेका थिए । फन्टका विभिन्न स्क्रिप्टमध्ये उनले तयार पारेको एउटा स्क्रिप्ट हो, वेबडिङ ।

वेबडिङ, तस्वीरमा आधारित फन्ट हो, जुन त्यसबेला विभिन्न वेबपेजमा प्रयोग गरिन्थ्यो । कोन्नेयर सङ्गीतका फ्यान थिए । विशेषगरी उनी स्का (Ska) का ठूला फ्यान थिए ।

उनलाई मनपर्ने व्याण्ड ‘स्का रिभाइभल द स्पेसल’ थियो । उनीहरूको ‘एल्बम टु टोन’ रेकर्ड्सको लोगो वायलियर्सको पहिलेको फोटोमा आधारित थियो ।

सो फोटोमा पिटर टोश बब मार्लीको पछाडि कालो चस्मा, बो टाइ र कालो सुट लगाएर उभिएका छन् । एल्बम टु टोन रेकर्डका डिजाइनर यही फोटोबाट प्रभावित भएका थिए ।

यो फोटो त्यही लोगो थियो, जुन कोन्नेयरले दुई दशकपछि वेबडिङ्समा प्रयोग गरेका थिए । उनले बनाएको सो इमोजीमा शुट लगाएको मान्छे कुदिरहेको जस्तो देखिन्छ, जुन पिटरका फ्यानमाझ परिचित थियो ।

त्यसको केही वर्षपछि थुप्रै वेबडिङ संकेतहरू इमोजीका रूपमा इनकोड गरियो । त्यसपछि हरेक स्मार्टफोनमा इमोजीहरू सार्वजनिक गरियो । कान्नेयरले अन्य थुप्रै संकेत निर्माण गरेका थिए ।

‘हामीले हाम्रो वरपर जे देख्यौं, त्यही नै चित्रका रूपमा कोर्‍यौं’ उनले आफ्ना डिजाइनले सिर्जना गरेको विरासत सम्झिँदै भने ।

उनले विकास गरेका थुप्रै इमोजी उनीसँगै जोडिएका छन् ।

उनले भने अनुसार हिमालको संकेतका रूपमा रहेको इमोजी उनी माउन्ट रेइनियरबाट प्रभावित भएर निर्माण गरेका थिए ।

इमोजीको सम्झना

सिलिकन भ्यालीमा आधारित युनिकोड ग्रुपले इमोजीलाई आधिकारिक रूपमा स्वीकार गरेर समावेश गरेको थियो ।

यियिङ लु र उनी जस्ता थुप्रैका डिजाइनहरू इमोजीका रूपमा समावेश भएका छन् ।

लु साङ्घाईमा जन्मेकी डिजाइनर हुन्, जसका थुप्रै प्रस्ताव आधिकारिक कीबोर्डमा समावेश भए ।

डम्पलिङ (मःम), चपस्टिक, कुकिज, बक्स र अमेरिकास्थित चिनियाँ महिलाको परिचय झुल्काउने थुप्रै कुराहरू समावेश छन् ।

उनी विभिन्न सङ्केतको अर्थ पत्ता लगाउने कुरामा सौखिन थिइन् । त्यस्तै मानिसहरूको सांस्कृतिक पहिचानलाई झुल्काउने थुप्रै इमोजीहरू आधिकारिक कीबोर्डमा समावेश छन् ।

-बीबीसीबाट

यस्ता छन् इन्टरनेटमा धेरै प्रयोग हुने इमोजी

यी ‘इमोजी’, जसको अर्थ देश अनुसार फरक छ

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३