close

कार्यस्थलमा अक्सिजन नपुगेको भन्दै दूरसञ्चार प्राधिकरणका कर्मचारी आन्दोलनमा

टेकपाना टेकपाना

साउन ९, २०७९ १३:४४

कार्यस्थलमा अक्सिजन नपुगेको भन्दै दूरसञ्चार प्राधिकरणका कर्मचारी आन्दोलनमा

काठमाडौं । कार्यालयमा अक्सिजन नपुगेर बिरामी हुन थालेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । राष्ट्रिय नाचघर जमलमा रहेको प्राधिकरणको कार्यालयमा प्रतिकूल वातवरणका कारण स्वास्थ्यमा असर परेको उल्लेख गर्दै नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियन आन्दोलनमा उत्रिएको हाे ।

कर्मचारीहरूले प्राधिकरण व्यवस्थापनसमक्ष चार बुँदे माग राखेका छन्, जसमा पहिलो र सबैभन्दा महत्त्वपूर्ण माग कार्यकक्षको प्रतिकूल वातवरणसँग सम्बन्धित छ ।

यसअघि कमलादीमा रहेको कार्यालय करिब डेढ वर्षअघि राष्ट्रिय नाचघर जमलमा सारिएको थियो । नाचघरको भुइँतला र पार्किङमा अक्सिजनको कमी र कार्बनडाइअक्साइड धेरै हुँदा कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्यमा जोखिम भएकाले आन्दोलन सुरु गरिएको दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष विजयकुमार राय यादवले बताए ।

‘यो विषयमा हामीले व्यवस्थापनालाई पटक-पटक ध्यानाकर्षण गराएको थियौं,’ यादवले भने, ‘तर, स्वास्थ्यजस्तो संवेदनशील विषयमा व्यवस्थापनबाट तत्कालै कुनै कदम नचालिनुले हामी बाध्य भएर पुनः आन्दोलनमा उत्रिएका हौं ।’

यसका साथै उनीहरुले युनियनको तर्फबाट २०७८ पुस २ गते पेश भएका मागहरु पूरा गर्नुपर्ने, कर्मचारीलाई प्रदान गरिँदै आएको ऋण सापटी सुविधालाई बीमासँग आबद्ध गरिनुपर्ने माग कर्मचारीको छ ।

साथै उनीहरुले आधारभूत मापदण्डसमेत पूरा नभएको स्थान/कार्यालयमा प्राधिकरणलाई स्थानान्तरण गर्ने निर्णय गर्ने पदाधिकारी/कर्मचारीलाई कारबाही गर्न समेत माग गरेका छन् ।

अध्यक्ष यादवका अनुसार साउन १३ गतेसम्म मागहरु पूरा नभए अझै कडा आन्दोलनका कार्यक्रम घोषणा गरिनेछ । उनले आन्दोलन अवधिभर युनियनमा आबद्ध कुनै पनि सदस्यहरु काममा नजाने जानकारी दिए ।

‘यो अवधिमा सबै सदस्यहरुको डिजिटल सिग्नेचर टोकन संकलन गरी व्यवस्थापनलाई बुझाउने तयारी छ,’ उनले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३