close

अफलाइन राइड रोक्न पठाओले ल्यायो ‘कवच’ अभियान, के के छन् सुविधा ?

टेकपाना टेकपाना

साउन १०, २०७९ १५:३१

अफलाइन राइड रोक्न पठाओले ल्यायो ‘कवच’ अभियान, के के छन् सुविधा ?

काठमाडौं । राइड शेयरिङ सेवा पठाओले ‘पठाओ कवच’ अभियान सञ्चालनमा ल्याएको छ । यसअन्तर्गत पठाओ सेवा प्रयोग गर्ने सेवाग्राही, राइडर, क्याप्टेन र फुडम्यानले विभिन्न सुविधा पाउने कम्पनीले जनाएको छ ।

पठाओ नेपालकी प्रवक्ता सुरक्षा हमालका अनुसार हरेक यात्रा बीमाद्वारा सुरक्षित हुने, प्रशिक्षित र प्रमाणित राइडरहरू रहेको, चौबिसैं घण्टा कल–सेन्टर र कस्टमर सपोर्ट सेवा, एपभित्रै आपतकालीन प्रहरी सम्पर्कको विकल्प रहेको र हरेक राइड सिस्टममा ट्रयाक हुनुका साथै राइडको जानकारी आफन्त वा साथीहरूलाई सामाजिक सञ्जालमा शेयर गर्ने सुविधा छ ।

‘यो अभियानमा हरेक यात्रामा एक लाखसम्मको उपचार बीमा र १० लाखसम्मको दुर्घटना बीमाको सुविधा उपलब्ध छ, जुन नेपालमा हालसम्मकै उच्च रकमको राइड शेयरिङ बिमा हो,’ हमालले भनिन् ।

पठाओमा कागजात प्रमाणीकरण र तालिमपछि मात्रै राइडहरूले सेवा प्रदान गर्ने भएकाले सबै राइडहरू प्रशिक्षित, प्रमाणित र भरपर्दो रहेको उनको भनाइ छ ।

पठाओको सेवा उपभोग गर्दा कुनै समस्या परे चौबिसैं घण्टा कल–सेन्टरमा सम्पर्क गरी गुनासो तथा उजुरी गर्न सकिने पनि उनले बताइन् ।

यस्तै, पठाओ प्रयोग गर्दा आपतकालीन अवस्था आएमा पठाओ एपभित्रै प्रहरीमा सम्पर्क गर्न सकिने विकल्प पनि रहेको छ ।

‘पठाओको हरेक राइड सिस्टममा ट्रयाक हुन्छ, जसका कारण कुन राइड कता गइरहेको छ सो को सम्पूर्ण विवरण एपमा लाइभ जानकारी उपलब्ध हुन्छ । साथै राइडको जानकारी आफन्त वा साथीहरूलाई सामाजिक सञ्जालमा शेयर गरेर आफू पुगिरहेको गन्तव्यको बारेमा प्रत्यक्ष (लाइभ) जानकारी गराउन सकिन्छ,’ उनले भनिन् ।

‘सुरक्षित यात्राको भरपर्दो सहयात्री’ नारा सहित ल्याइएको याे अभियान पठाओका अग्रभागमा रहेर सेवा प्रदान गर्ने राइडर, फुडम्यान, क्याप्टेन र सम्पूर्ण सेवाग्राहीका लागि लक्षित रहेकाे छ ।

अफलाइन राइड लिएको खण्डमा सेवाग्राहीहरूले कुनै पनि सुविधा प्राप्त नगर्ने र सो यात्रा सुरक्षित र सुनिश्चित नहुने हमालको भनाइ छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३