close

मुस्ताङको कागबेनी र खिङगामा टेलिकमको फोरजी सेवा

टेकपाना टेकपाना

साउन १२, २०७९ १९:३२

मुस्ताङको कागबेनी र खिङगामा टेलिकमको फोरजी सेवा

बागलुङ । पछिल्लो समय हिमाल पारीको जिल्ला मुस्ताङ सञ्चार क्षेत्रमा सुगम बन्दै गइरहेको छ । नेपाल टेलिकमले जिल्लाका अधिकांश भू-भागमा मोबाइल सेवा पुर्‍याएसँगै जिल्लाले सञ्चारको क्षेत्रमा फड्को मार्न सफल भएको हो ।

टेलिकमले आफनो सेवालाई यस क्षेत्रमा तिव्र रुपमा विस्तार गरिरहेको जनाएको छ । पर्यटकीय तथा धार्मिक हिसाबले महत्वपूर्ण गन्तव्यको रुपमा परिचित कागबेनीदेखि मुक्तिनाथ मन्दिरसम्मको सडकलाई मध्यनजर गर्दै आफ्नो सेवा विस्तार गरेको हो ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ खिङगामा २५ मिटर स्थायी संरचना सहितको टावर निर्माण गरेर एकैसाथ टेलिकमले टुजी र चौंथो पुस्ताको फोरजी मोबाईल सेवा सुरू गरेको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ इन्जिनियर केशव शर्माले जानकारी दिए ।

मोबाइल सेवा सञ्चालनमा आएपछि वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको वडा नं १ को खिङगा गाउँ, झारकोट, पुथाक, झोङका झण्डै २ सय घरधुरीसँगै धार्मिक तथा पर्यटकीय गन्तव्य कागबेनीदेखि मुक्तिनाथ मन्दिरसम्मको सडकमा यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई नमस्ते मोवाईलमा भ्वाईस र डेटा चलाउन सहज भएको प्रमुख शर्माले बताए ।

‘पहिले यस क्षेत्रमा टावर नहुँदा हामीलाई सञ्चारको लागि निकै समस्या भएको थियो । अहिले टावर सञ्चालनमा आएपछि मोबाइलमा कुराकानी गर्न र इन्टरनेट चलाउन निकै सहज भएको छ,’ वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले भने, ‘सडकदेखि टावर निर्माण स्थलसम्म उपकरण ढुवानीको लागि वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आवश्यक सहयोग गरेको छ ।’

मोबाइल सेवा नहुँदा गाउँपालिकाको वडा नं १ का ४ वटा गाउँका बासिन्दा र यहाँ आउने पर्यटकलाई समस्या हुने गरेको वडा नं १ का वडा अध्यक्ष प्रमेश गुरुङले बताए । खिङगामा टेलिकमले सोलार सेट मार्फत टावर सञ्चालन गरेको छ ।

यसअघि टुजी र थ्रिजी सेवामात्र रहेको कागबेनीको टावरमा पनि टेलिकमले फोरजी सेवा थप गरेको छ । फोरजी सेवा सुरु भएपछि त्यस क्षेत्रमा मोबाइल डेटामार्फत ईन्टरनेट चलाउन र भिओ एलटीई मार्फत एचडी कल गर्न सुविधा थप भएको छ ।

त्यस्तै टेलिकमले घरपझोङ गाउँपालिकास्थित जोमसोम रिसोर्टमा रहेको टावरमा फोरजी सेवा थप गरेको छ । फोरजी सेवा सञ्चालन भएसँगै रिसोर्ट आसपासमा रहेका बस्तीहरु स्याङ र ठिनीका झण्डै २०० घरधुरी मोबाइल सेवाबाट लाभान्वित भएका छन ।

यता म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ छोटेपा क्षेत्रमा पनि टेलिकमले थ्रिजी सेवा सञ्चालन गरेको जनाएको छ ।

पाँच महिनाअघि टुजी सेवामात्र उपलब्ध गराएको टेलिकमले त्यहाँ निर्माणाधीन निलगिरी हाइड्रो पावरलाई लक्षित गरि इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यले थ्रिजी सेवा सञ्चालन गरिएको नेपाल टेलिकम म्याग्दीले जानकारी दिएको छ ।

अत्यन्तै विकट र दुर्गम भुभाग रहेको उक्त स्थानमा निर्माणाधिन निलगिरी हाइड्रो पावरमा झण्डै १ हजार २ सय मजदुरले काम गरिरहेको हाइड्रो पावरका आवसिय ईन्जिनियर रत्न बमजनले जानकारी दिए ।

निलगिरीमा थ्रिजी सेवा सञ्चालन भएपछि त्यहाँ कार्यरत मजदुरहरुलाई मोबाइल डेटामार्फत इन्टरनेट चलाउन थप सहज भएको नेपाल टेलिकमले जनाएको छ ।  

(बागलुङबाट थम्मन थापाको सहयोगमा)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३