close

साओमीको सस्तो स्मार्टफोन रेड्मी १० ए सार्वजनिक, यस्तो छ मूल्य र फिचर ?

टेकपाना टेकपाना

साउन १३, २०७९ १९:४१

साओमीको सस्तो स्मार्टफोन रेड्मी १० ए सार्वजनिक, यस्तो छ मूल्य र फिचर ?

काठमाडौं । चिनियाँ मोबाइल निर्माता कम्पनी साओमीले आफ्नो सस्तो स्मार्टफोन रेड्मी १० ए नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले शुक्रबारदेखि यो फोन बजारमा उपलब्ध गराएको हो ।

दुई ओटा सिम लाग्ने यो फोनमा ६.५३ इन्चको आईपीएस एलसीडी डिस्प्ले रहेको छ । मिडियाटेक एमटी ६७६२ जी हेलियो जी २५ चिपसेट दिइएको रेड्मी १० ए एन्ड्रोइड ११ मा आधारित छ ।

१० वाट चार्जरसहित आएको यो फोनको ब्याट्री क्षमता ५,००० एमएएच रहेको छ । बाहिर आवरणमा तीन ओटा क्यामेरा देखिए पनि यसमा १३ मेगापिक्सलको एउटा मात्रै क्यामेरा समावेश छ ।

सेल्फी खिच्नका लागि यसमा पाँच मेगापिक्सेलको मुख्य क्यामेरा दिइएको छ । रेड्मी १० ए ग्रेफाइट ग्रे, क्रोम सिल्भर र स्काइ ब्लु गरी तीन ओटा रङ्गमा आएको छ । नेपाली बजारमा यो फोन दुई ओटा स्टोरेज भेरियन्टमा पाउन सकिनेछ ।

जसमा दुई जीबी र्‍याम तथा ३२ जीबी इन्टरनल स्टोरेज र तीन जीबी र्‍याम तथा ६४ जीबी स्टोरेज रहेका छन् । कम्पनीका अनुसार शुक्रबारदेखि देशभरका सबै स्टोरमा रेड्मी १० ए स्मार्टफोन उपलब्ध भएको छ ।

जसमा २ जीबी र्‍याम तथा ३२ जीबी स्टोरेज भेरियन्टको मूल्य १३ हजार ९९९ रुपैयाँ र ३ जीबी र्‍याम तथा ६४ जीबी स्टोरेज भेरियन्टको मूल्य १५ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३