close

सरकारले जिम्मा दिए पुराना इन्जिन गाडीलाई बिजुली गाडीमा रूपान्तरण गर्न तयार छौँः नेपाली सेना

टेकपाना टेकपाना

साउन १४, २०७९ १०:१९

सरकारले जिम्मा दिए पुराना इन्जिन गाडीलाई बिजुली गाडीमा रूपान्तरण गर्न तयार छौँः नेपाली सेना

काठमाडाैँ । नेपाली सेनाले फाेसिल फ्युल (जीवाश्म इन्धन) बाट सञ्चालन हुने पुराना इन्जिन गाडीहरुलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न थालेकाे  छ ।

वायु प्रदूषण कम गर्ने नेपाल सरकारकाे  नीतिलाई सार्थकता दिन नेपाली सेनाले यस्तो काम थालेको ‘इलेक्ट्रोनिक्स एन्ड मेकानिकल इन्जिनियरिङ’ (ईएमई) शाखाका प्राविधिक सहायक रथी गजेन्द्रनाथ कर्माचार्यले बताए ।

उनका अनुसार हालसम्म सेनाले पुराना तीन ओटा गाडीलाई  विद्युतीय गाडीमा  रूपान्तरण गरेकाे छ । ती सबै गाडीहरुकाे इन्जिन, गेयर बक्स, रेडियटर  सबै कुरा झिकिदिएर ब्याट्री, ब्याट्री चार्जर, कन्ट्राेलर, माेटर हालेर विद्युतीय गाडीमा रूपान्तरण गरेकाे ईएमई शाखाका प्राविधिक महासेनानी खुम बहादुर कुँवरले बताए । 

सेनाले सबै भन्दा  पहिला मारुती जिप्सी किङ ४१३ माेडेलकाे गाडीलाई विद्युतीय गाडीमा  परिवर्तन गरेकाे हाे । यसलाई निर्माण गर्न सेनाकाे आन्तरिक स्राेत सहित  कुल ३ लाख ५० हजार रुपैयाँ लगानी लागेकाे छ ।

एक पटककाे फुल चार्जमा ५० देखि ६० किलाेमिटर गुड्ने यस गाडीमा चाइनाबाट  ल्याइएकाे  लिथेनआयन ब्याट्री जडान गरिएकाे छ ।

यो गाडीलाई ‘स्टाफ भेहिकल’ (सैनिक कर्मचारीका लागि प्रयोगमा ल्याइने सवारी) का रुपमा प्रयाेगमा ल्याइनेछ । याे गाडी गुडीरहेकाे बेला र पार्कमा रहेकाे बेलामा पनि ब्याट्री चार्ज भइरहाेस् भनेर साेलर प्यानल जडान गरिएकाे प्राविधिक महासेनानी कुँवरले जानकारी दिए ।

त्यस्तै अर्काे इन्जिन गाडीबाट विद्युतीय गाडीमा रूपान्तरण गरिएको गाडी ल्याण्ड राेभर जिप हाे । सेनाले यसलाई ‘परेड रिभ्यु भेहिकल’ (सैन्य परेडका क्रममा प्रयोगमा आउने सवारी) का रुपमा  प्रयाेग गर्ने छ । एक पटककाे फुल चार्जमा १२० किलाेमिटरसम्म गुड्न सक्ने यो गाडी निर्माण गर्न १३ लाख रुपैयाँ खर्च भएकाे कर्माचार्यले बताए ।

सबै कुरा समान भए पनि जिप्सी र ल्याण्ड राेभरमा ‘टेक्निक’ फरक रहेकाे महासेनानी कुँवरले बताए । जिप्सी गाडीमा माेटर र एक्सल, पछाडीकाे चक्का(ह्विल)मा राखिएकाे र ल्याण्ड राेभर गाडीमा अगाडिबाट ड्राइभ दिइएकाे पनि  बताए ।

त्यसैगरी सेनाले २६ सिट भएकाे निसान सिभिलियन बसलाई समेत विद्युतीय गाडीमा रूपान्तरण गरेको छ । यो बस एक पटकको फुल चार्जमा ४० किलाेमिटर गुड्न सक्ने नेपाली सेनाले बताएको छ । जसलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न ३  लाख ७५  हजार खर्च भएकाे उल्लेख छ ।

यी सबै सवारीहरूलाई ‘राेड रनिङ्ग टेस्ट’ (सडकमा गुडाएर गरिने परिक्षण) गर्दा परियोजना सफल भएकाे प्राविधिक सहायक रथी कर्माचार्यले बताए । यद्यपि यी सवारीलाई बाहिरी सडकमा गुडाउन प्रमाणिकरण गराउन बाँकी छ ।

पुराना इन्जिन गाडीबाट यसरी विद्युतीय गाडीमा रूपान्तरण गरेका सवारीलाई यातायात व्यवस्था विभागका दक्ष  इन्जिनियर तथा प्राविधिकबाट प्रमाणित गराउन आवश्यक छ । सरकारले समेत यसबारे स्पष्ट नीतिगत व्यवस्था गरिदिए थप कार्य गर्न सकिने कर्माचार्यले बताए ।

हाल सेनाले माेटर, कन्ट्राेलर, एस्सिलेटर पेडल (समग्रमा कन्भर्जन कीट) र   लिथेनआयन ब्याट्री चीनबाट आयात गर्नु   परिरहेकाे सहायक रथी कर्माचार्यले बताए । जसका कारण खर्च बढी  हुनका साथ  २ महिना भन्दा बढी  समय लागिरहेकाे पनि उनले बताए ।

सेनाले बनाएकाे यी गाडीहरु राेड रन (सडकमा कुदाउने) काे  हिसाबले पूर्ण सुरक्षित भएकाे साथै वातावरण प्रदुषण कम गर्न सहयाेगी हुने पनि उनले बताए ।

तर ठूलाे परिणाममा ब्याट्री डिस्पाे‍ज (नष्ट) गर्दा चैँ पर्याववरणमा समस्या पर्न  सक्ने भएकाले यसबारेमा अध्ययन कै क्रममा रहेकाे पनि उनले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३