close

युट्युबमा अपलोड गरिएको कुनै पनि भिडिओ अब ‘शर्ट्स’ मा राख्न मिल्ने

टेकपाना टेकपाना

साउन १४, २०७९ २०:३३

युट्युबमा अपलोड गरिएको कुनै पनि भिडिओ अब ‘शर्ट्स’ मा राख्न मिल्ने

काठमाडौं । युट्युबले हालै मात्र प्रयोगकर्ताका लागि नयाँ फिचर सार्वजनिक गरेको छ । यसअन्तर्गत अब युट्युबका क्रियटरहरूले अपलोड गरेको नियमित तथा लामो भिडिओलाई ‍’शर्ट्स’ (युट्युबको छोटो भिडिओ) को रुपमा पनि राख्न सक्नेछन् ।

क्रियटर अकाउन्टमा ‘क्रियट’ फिचर अन्तर्गत ‘इडिट इन्टु शर्ट्स’ भन्ने अप्सन थप गरिएको छ । आफूले अपलोड गरेको भिडिओमा गएर एडिट इन्टु शर्ट्स अप्सनमा क्लिक गरी सोही लामो भिडिओलाई शर्ट्सको रुपमा पनि अपलोड गर्न मिल्नेछ ।

अपलोड गरिएको मुख्य भिडिओबाट ६० सेकेन्डसम्मको भिडिओ छानेर सीधै सर्टसमा ल्याउन मिल्छ । यसरी तानिएको भिडि‌‌ओलाई पनि विभिन्न फिल्टरहरू प्रयोग गरेर अथवा अन्य भिडिओ पनि जोडेर राख्न सकिन्छ ।

यसरी तानिएको भिडिओमा ‘क्रियटेड फ्रम’ भन्ने अप्सनमा लामो भिडिओको लिंक पिन उपलब्ध गराइएको हुन्छ । उक्त लिंकमा क्लिक गरेर सर्टसबाट मुख्य भिडिओमा पनि जान सकिन्छ ।

यो अप्सनसँगै प्रयोगकर्ताले आफ्नो मुख्य भिडिओलाई शर्टस्मार्फत प्रोमोट गर्न सक्नेछन् । तर यो फिचर प्रयोगकर्ताले आफैँ तयार गरेको भिडिओमा मात्र लागू हुनेछ । अर्थात् कहिँ अन्तबाट तानेको भिडिओ वा टिकटक भिडिओहरूमा भने यो फिचर प्रयोग गर्न सकिने छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३