close

एसईई उत्तीर्ण विद्यार्थीले कसरी लिने टेलिकमको निःशुल्क सिम ?

टेकपाना टेकपाना

साउन १४, २०७९ २२:१४

एसईई उत्तीर्ण विद्यार्थीले कसरी लिने टेलिकमको निःशुल्क सिम ?

काठमाडौं । नेपाल टेलिकमले एसईई उत्तीर्ण विद्यार्थीहरुका लागि एसईई अफर ल्याएको छ । यसअन्तर्गत कम्पनीले निःशुल्क डेटा, भ्वाइस र एसएमएस सुविधासहित ‘एसईई स्टुडेन्ट सिम’ वितरण गर्न थालेकाे छ ।

टेलिकमका अनुसार देशभरका कार्यालयहरुबाट विद्यार्थीले याे सिम लिन सक्छन् । सिम प्राप्त गर्नका लागि विद्यार्थीहरुले प्रवेश पत्र वा मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचयपत्रको फोटोकपी संलग्न गरी टेलिकम कार्यालयले दिएकाे फारम भर्नुपर्छ ।

याे सिमबाट निःशुल्क डेटा, भ्वाइस र एसएमएस सुविधा लिन निश्चित प्रक्रिया ताेकिएकाे छ । कम्पनीका अनुसार Student Registration Pack प्राप्त गर्न नयाँ मोबाइल नम्बरबाट *1600# मा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति (विक्रम सम्वत) उल्लेख गर्नुपर्छ ।

विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरु उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ । यसका लागि पनि मोबाइलबाट *1600#  मा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति उल्लेख गर्नुपर्दछ ।

स्टुडेन्ट रजिस्ट्रेसन प्याकबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी डेटा प्रयोग गर्न सकिन्छ छ । त्यस्तै ३० दिनसम्म ३ हजार एमबी डेटा, ३०० मिनेट टकटाइम र ३०० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ ।

यो अफर भएको नयाँ सिममा Bonus On Recharge Pack समेत उपलब्ध गराइएको छ । यस प्याकमा रु. ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डेटा चलाउन, नेपाल टेलिकमकै नेटवर्कभित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ ।

त्यसपछि नेपाल टेलिकमले प्राप्त सूचनाका आधारमा उक्त सिमलाई विद्यार्थी सिमका रुपमा रजिष्टर गर्दछ र Student Registration Pack अनुसारका सुविधा प्रदान गर्छ ।

नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरुले सिम कार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने ९.८ रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डेटा चलाउन सक्नेछन् भने यो बाहेक ४० मिनेट टक टाइम र २० वटा एसएमएस सहितको सुविधा एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सक्नेछन् ।

त्यसैगरी सोही अवधिमा ६० एमबी डेटा पनि चलाउन सकिनेछ । हाललाई यो अफर तीन महिनासम्म उपलब्ध हुने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३