close

म्याकबुक फास्ट बनाउन जान्नैपर्ने यी शर्टकट की

टेकपाना टेकपाना

साउन १५, २०७९ ९:५८

म्याकबुक फास्ट बनाउन जान्नैपर्ने यी शर्टकट की

काठमाडौं । एप्पलका डिभाइसमा सपोर्ट गर्ने शर्टकट कीबारे विरलै सुन्न पाइन्छ । आज हामीले एप्पलको म्याकबुकमा काम छिटो बनाउन सघाउने केही शर्टकट कीका बारेमा जानकारी दिएका छौं ।

तपाईंले शर्टकटबिना काम गरिरहँदा त्यसको कीबोर्डबाट बेलाबखतमा औंला बाहिर ल्याएर टचप्याड वा माउस प्रयोग गर्नुपर्ने अवस्था आउँछ ।

त्यसरी हरेक पटक माउस वा टचप्याडमा औंला सारिरहँदा तपाईंको काम तुलनात्मक हिसाब सुस्त भइरहेको हुन्छ । यसरी काम गर्दा काम त सुस्त हुन्छ नै, साथै तपाईंको ध्यान पनि भङ्ग भएको हुनसक्छ ।

उदाहरणका लागि तपाईंलाई कुनै पनि फाइल सेभ गर्नुपर्‍यो भने सबैभन्दा पहिले माउसको क्रसर माथि रहेको फाइल अप्सनमा लिनुपर्ने हुन्छ । त्यसपछि सेभको अप्सनमा क्लिक गर्‍यो भने फाइल सेभ हुन्छ ।

तर, त्यसको सट्टा सोझै कमाण्ड र एस कीसँगै दबाउनुभयो भने फाइल सेभ हुन्छ । यति मात्र नभई यसरी हरेक कामलाई सहज बनाउने थुप्रै शर्टकट कीहरू रहेका छन् । जसको जानकारी हामी यसै लेख मार्फत दिँदैछौँ ।

एप चाँडो खोल्न सघाउने शर्टकट की (कमाण्ड+स्पेसबार)

चाहे तपाईं कुनै डकुमेन्टमा काम गरिरहनु भएको होस् वा कुनै वेबसाइट हेरिरहनु भएको होस् वा तपाईंले म्याकमा जुनसुकै काम गरिरहेको भए पनि कमाण्ड की थिचिराखेर स्पेसबार दबाउनुहोस् ।

यसो गर्नुभयो भने स्क्रिनमा स्पटलाइट देखिन्छ । स्पोटलाइट म्याकमा भएका हरेक कुराको प्रवेशद्वार जस्तै हो । त्यसपछि त्यहाँ एपको नाम टाइप गरेर रिटर्न की दबाउनुभयो भने एप तपाईंले सर्च गरेको एप खुल्नेछ ।

यदि त्यही समयमा पुनः पहिलेको काममा जानुछ भने पहिले जसरी नै स्पटलाइटमा गई डकुमेन्ट, एप वा वेबसाइट सर्च गर्न सक्नुहुन्छ ।

एप, फोटो वा डकुमेन्टको प्रिभ्यु हेर्ने शर्टकट

त्यस्तै म्याकका लागि एक अर्को शर्टकट की रहेको छ, जसमा स्पेसबार मात्र समावेश छ । फाइन्डरमा तपाईंले चाहेको कुनै पनि फाइल, एप वा डकुमेन्ट सेलेक्ट गर्नुहोस् । त्यसपछि स्पेसबार दबाउनुहोस् ।

यसो गर्दा म्याकको क्वीक लुक फिचर खुल्छ । यसमा तपाईंले सेलेक्ट गरेको फाइल, एप वा डकुमेन्टको प्रिभ्यु देखिन्छ । यदि तपाईंले सेलेक्ट गरेको चिज एप हो भने एपको ठूलो आइकन देखिन्छ ।

तर, यदि त्यो फोटो, भिडिओ वा डकुमेन्ट हो भने त्यो कन्टेन्टको प्रिभ्यु ठूलो पेजमा देखिन्छ ।

फाइन्डरका माध्यमबाट सोझै फोल्डरमा पुग्ने शर्टकट की

स्पटलाइटले तपाईंले खोजेका जुनसुकै फाइलसम्म पुर्‍याउन सक्छ । यदि तपाईंले खोजेका डकुमेन्टको पूरा नाम थाहा छैन भने पनि तपाईंले पनि स्पट लाइटले खोज्न सहयोग गर्छ ।

यदि तपाईंलाई त्यो डकुमेन्ट कुन फोल्डरमा छ भन्ने कुराको जानकारी छ भने सोझै एपमा पुग्न सक्नुहुन्छ । यो शर्टकट कीले फाइन्डरमा मात्र काम गर्छ । यदि तपाईं कुनै अन्य एप्लिकेसनमा हुनुहुन्छ भने यसले काम गर्दैन ।

तर, यदि तपाईं फाइन्डरमा हुनुहुन्छ भने सिफ्ट+कमाण्ड+जी दबाई गो टु (Go to) बक्समा पुग्नुहुन्छ । त्यसपछि त्यहाँ फोल्डरको पाथ टाइप गरेर रिटर्न दबाउनुभयो भने सोझै फोल्डरमा पुग्नुहुन्छ ।

स्क्रिनशट र स्क्रिन रेकर्ड गर्ने तरिका

म्याकमा स्क्रिनशट लिनका लागि कमाण्ड, शिफ्ट र ३ की सँगै दबाउन पर्ने हुन्छ । यो की दबाइसकेपछि तपाईंले त्यहाँ स्क्रिनमा भएको सामाग्रीको स्क्रिनशट लिन सक्नुहुन्छ । यो की दबाएपछि त्यो स्क्रिनशट डेक्सटपमा सेभ हुन्छ ।

त्यस्तै कमाण्ड, शिफ्ट र  ४ की दबाएको खण्डमा क्रसरले निश्चित क्षेत्र छानी स्क्रिनशट लिन सक्नुहुन्छ ।

त्यस्तै तपाईंले कमाण्ड, शिफ्ट र ५ दबाएको खण्डमा स्क्रिनशट लिनुका साथसाथै स्क्रिन रेकर्ड समेत गर्न सक्नुहुन्छ ।

नयाँ ट्याब खोल्ने

ब्राउजरमा नयाँ ट्याब सजिलै खोल्नका लागि तपाईंले कमाण्ड र टी (Command+T) दबाउन सक्नुहुन्छ । तत्कालै कुनै नयाँ पेज खोल्नुपर्‍यो भने यो विकल्प अपनाउन सक्नुहुन्छ । 

फुल स्क्रिन बनाउन 

कुनै पनि एप, वेबसाइट वा डकुमेन्टलाई सानो स्क्रिनमा हेरिरहनु भएको छ र त्यसलाई तत्कालै फुल स्क्रिन बनाउनुपर्‍यो भने कन्ट्रोल, कमाण्ड  र ‘एफ’ की दबाउनुपर्ने हुन्छ । 

फाइन्डरमा नयाँ फोल्डर बनाउने शेर्टकट की

फाइन्डरमा कुनै पनि नयाँ फोल्डर बनाउनुपर्‍यो भने शिफ्ट, कमाण्ड र ‘एन’ की दबाउन सक्नुहुन्छ । 

 कट, कपी र पेस्ट गर्ने शर्टकट की

म्याकमा कुनै पनि सामग्री कट गरेर क्लिपबोर्डमा राख्नु पर्‍यो भने कमाण्ड र एक्स (Command+X) की दबाउनुपर्ने हुन्छ । त्यस्तै कपी गर्नका लागि कमाण्ड र ‘सी’ की दबाउनुपर्ने हुन्छ । यसरी कपी वा कट गरेको फाइललाई कमाण्ड र ‘भी’ बटन दबाएर पेस्ट गर्न सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३