close

डेटा सेन्टरमा बिजुलीको माग बढ्दा बेलायतमा नयाँ घर बनाउन मुस्किल 

टेकपाना टेकपाना

साउन १५, २०७९ १९:३९

डेटा सेन्टरमा बिजुलीको माग बढ्दा बेलायतमा नयाँ घर बनाउन मुस्किल 

काठमाडौं । बेलायतका विभिन्न सहरहरूमा बिजुली व्यवस्थापन हुन नसकेर नयाँ घर निर्माणमा असर परिरहेको छ । विशेषगरी डेटा सेन्टरमा भएका सहरहरूमा नयाँ घरका लागि बिजुली आपूर्ति गर्न नसकेपछि नयाँ घर निर्माणकाे काम प्रभावित भएको हो ।

डेटा सेन्टरहरूले धेरै बिजुली प्रयोग गर्दा यस वरपरका क्षेत्रमा आपूर्ति कम भएको हो । फाइनान्सियल टाइम्समा प्रकाशित एक लेखका अनुसार पश्चिम बेलायतको अलिङ, हिलिङडन र हाउन्स्लो सहरहरूमा यस्ताे समस्या देखिएको हो ।

अहिलेको बिजुली आपूर्तिको अवस्थालाई हेर्दा सन् २०३५ सम्ममा नयाँ संरचनाका लागि बिजुली आपूर्ती गर्न कठिनाइ हुने साे लेखमा उल्लेख छ ।

ती सहरहरूमा माइक्रोसफ्ट, ओराकल, एलजी, अमेजन, ह्वावे, डेल लगायतका कम्पनीहरुको डेटा सेन्टर छ । साना सहरहरूमा भएका ठूला डेटा सेन्टरहरूले धेरै विद्युत खपत गर्दा नयाँ बन्ने संरचनाहरूलाई विद्युत आपूर्ति गर्न समस्या भएको हो ।

यो समस्याले कतिओटा संरचनालाई प्रभावित पारेको छ भन्ने ठ्याक्कै तथ्याङ्क भने उपलब्ध भएको छैन । यद्यपि फाइनान्सियल टाइम्सका अनुसार भने ती सहरमा करिब ११ प्रतिशत नयाँ संरचनाको काम रोकिएको छ ।

प्रविधि कम्पनीहरुको सेवा विस्तार हुँदै गर्दा डेटा सेन्टरले खपत गर्ने बिजुलीको मात्रा झन् बढ्दै जाने देखिएको छ । यसले गर्दा भविष्यमा यो समस्या थप विकराल बन्नसक्ने विश्लेषण गरिएको छ । बेलायतले पछिल्ला केही वर्षहरूमा यो समस्या निकै नै भोग्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३