close

सामाजिक सञ्जालमा महिलामाथि कसरी हुन्छ लैङ्गिक दुष्प्रचार ?

टेकपाना टेकपाना

साउन १६, २०७९ १७:२६

सामाजिक सञ्जालमा महिलामाथि कसरी हुन्छ लैङ्गिक दुष्प्रचार ?

सामान्य भाषामा बुझ्दा कोही व्यक्ति महिला भएकै आधारमा वा पुरुष भएकै आधारमा अथवा अन्य लैङ्गिक पहिचान भएकै आधारमा सो व्यक्तिमाथि गरिने दुर्व्यवहार अथवा उसको बारेमा फैलाउने नराम्रा कुरालाई लैङ्गिक दुष्प्रचारको रुपमा बुझिन्छ ।

महिलाको हकमा भने लैङ्गिक दुष्प्रचार महिला नेतृ, पत्रकार, महिला सार्वजनिक व्यक्तित्वहरू अथवा कुनै पनि महिलाविरुद्ध भ्रामक वा गलत जानकारी र चित्रहरू फैलाउने काम हो ।

स्त्रीद्वेष झल्काउने र महिलाको भूमिकाका बारेमा लैङ्गिक पूर्वाग्रहहरू दर्शाउने कथनहरू यस्ता सामग्रीमा प्रयोग गरिन्छ । यद्यपि यस प्रकारका दुष्प्रचार विशेषगरी सार्वजनिक व्यक्तित्वहरूलाई लक्षित गरी गर्ने गरिन्छ ।

आजको दिनमा सामाजिक सञ्जाल नै यस्तो गतिविधिको लागि मुख्य थलो भएको छ । 

यो अन्य लैङ्गिकतामा आधारित हिंसाभन्दा कसरी फरक छ ?

लैङ्गिक दुष्प्रचार भनेको महिलाद्वेष, लिङ्गवाद, दुष्प्रचार र अनलाइन हिंसाको संयोजन हो । यो लैङ्गिकतामा आधारित हिंसाका अन्य रूपहरूभन्दा थोरै फरक छ ।

किनभने यसले सामान्यतया शक्तिशाली पदमा भएका वा सार्वजनिक पद ओगटेका महिला र विविध लैङ्गिकता भएका मानिस र समूहलाई लक्षित गर्दछ ।    

लैङ्गिक दुष्प्रचार

लैङ्गिक दुष्प्रचार शक्तिमा रहेका, सार्वजनिक पदमा रहेका वा लैङ्गिक तथा अल्पसंख्यक अधिकारको वकालत गर्ने महिला र लैङ्गिक विविधता भएका मानिस र समूहविरुद्ध हुने गर्छ ।

जस्तो कि महिला राजनीतिज्ञ, पत्रकार, अभियन्ता, मानव अधिकारकर्मी, एलजीबीटीआइक्यूआई लगायत विविध लैङ्गिकता भएका मानिसविरुद्ध सामाजिक सञ्जालमा लैङ्गिक दुष्प्रचार हुने गर्छ ।

यस्तो किसिमको दुष्प्रचारको मुख्य उद्देश्य नै लक्षित व्यक्तिलाई लज्जित बनाउने, अपमानित गर्ने र बेइज्जत गर्ने हुन्छन् । अनलाइनमा हुने घटनामा दर्व्यवहारका प्रकृति र रूप मात्र फरक हुन्छन् ।

एस्ट्रोटर्फिङ, डिपफेकजस्ता दुष्प्रचारका केही तरिका अनलाइनमात्र नभएर दुष्प्रचारका बृहत्तर अभियानमा पनि प्रयोग गरिन्छन् । तर अनलाइनमा यिनीहरू झनै फैलिनसक्ने सम्भावना हुन्छ ।

तसर्थ, अनलाइनमा हुने विभिन्न प्रकारका लैङ्गिक दुष्प्रचार र हिंसालाई प्रभावकारी रूपमा सामना गर्न तिनीहरूको पहिचान गर्न आवश्यक हुन्छ ।

तल तीमध्ये केहीका बारेमा छलफल गरिएको छः

एस्ट्रोटर्फिङ 

एस्ट्रोटर्फिङ अर्थात् कुनै संस्था, समूह वा सरोकारवालाले आफ्नो वास्तविक पहिचान लुकाएर नक्कली खातासहित लक्षित व्यक्तिको चरित्रहत्या गर्ने अथवा सो व्यक्तिविरुद्ध आफ्नो मान्छेको विषयमा राम्रा कुरा प्रवर्द्धन गर्ने ।

यो कुनै व्यक्ति, चासो राख्ने समूह, राजनीतिक दल वा संगठनले (प्रायः थुप्रै नक्कली खाताहरू प्रयोग गरेर) समन्वय गरेको हुन्छ । 

क्याटफिशिङ

आर्थिक लगायतका फाइदा लिन कसैसँग सम्बन्ध गाँस्नका लागि लक्षित व्यक्तिलाई आकर्षित गर्ने उद्देश्यले नक्कली अनलाइन पहिचान बनाउने कामलाई ‘क्याटफिशिङ’ भनिन्छ ।

कनसर्न्ड ट्रोलिङ 

दुर्व्यवहार गर्ने व्यक्तिहरूले रचनात्मक प्रतिक्रियाको आवरणमा हानिकारक र अपमानजनक टिप्पणीहरू गर्नका लागि फ्यान वा समर्थक भएजस्तो गर्ने कामलाई कनसर्न्ड ट्रोलिङ भनिन्छ ।

यो विशेषगरी महिलाको आवरण वा शैलीमा केन्द्रित हुन्छ । उदाहरणका लागि ‘तपाईंले थप मेकअप गर्नुभयो भने राम्रो देखिन्छ ‘अथवा ‘तपाईंले नरम बोल्नुभयो भने धेरै सुहाउँछ’

साइबर स्टकिङ

यो लक्षित व्यक्तिको इन्टरनेट व्यवहार (इन्टरनेटमा के गर्छ, के हेर्छ) पत्ता लगाउने र पछ्याउने कार्य हो, जसअन्तर्गत मेसेजमार्फत अनावश्यक सम्पर्क गर्ने लगायतका काम पर्दछन् ।

यस्ता सन्देशमा धम्की, मानहानी र यौन उत्पीडन समावेश हुनसक्छन् वा आफ्नो लक्षित व्यक्तिलाई नियन्त्रण गर्ने वा डर देखाउने अन्य कार्यहरू हुन सक्छन् ।

उदाहरणका लागि धेरै नक्कली फेसबुक अकाउन्ट बनाएर लामो समयसम्म कसैलाई फलो गर्ने र साथी बन्ने । अन्तमा धम्की दिएर आफ्नो स्वार्थ पूरा गर्ने खालका कामहरू पनि हुने गर्छन् ।   

डेडनेमिङ 

लक्षित व्यक्तिलाई हानी वा अपमान गर्ने उद्देश्यले उनीहरूको इच्छा विपरीत उनीहरूको पुरानो नाम सार्वजनिक गर्ने कार्य डेडनेमिङ हो। सामान्यतया यो तरिका एलजीबीटीक्यूआईए+ समुदायका सदस्यहरू विरुद्ध प्रयोग गरिन्छ, जसले शारीरिक हानी वा व्यावसायिक भेदभावबाट बच्न लगायत विभिन्न कारणले आफ्नो जन्मको नाम परिवर्तन गरेका हुन सक्छन् ।

डिपफेक 

डिप लर्निङ प्रयोग गरेर वास्तविक देखिने खालका नक्कली तस्वीर, अडियो, भिडिओ बनाउने कार्यलाई डिपफेक भनिन्छ ।

यसमा तस्वीर, अडियो र भिडिओहरूले नक्कल गरेर कसैले नभनेको वा नगरेको कुरा पनि भनेको वा गरेको जस्तो देखाइने गरिन्छ । 

डगपाइलिङ 

दुर्व्यवहार गर्ने मानिसका ठूला समूहहरूले कुनै मानिसलाई डर देखाउन वा आफ्नो विचार फिर्ता लिन लगाउने उद्देश्यले धम्की, गाली लगायत अन्य अपमानजनक टिप्पणीहरू मार्फत सामूहिक रुपमा लक्षित व्यक्तिलाई अनलाइन मार्फत आक्रमण गर्ने कामलाई डगपाइलिङ भनिन्छ । 

डक्सिङ 

अरूले लक्षित गरेको व्यक्तिलाई उत्पीडन गर्न, डर देखाउन, शोषण गर्न वा उनीहरूको पिछा गर्न सकुन् भनेर कसैको ठेगाना, फोन नम्बर र उनीहरूको परिवारका सदस्यहरूको विवरण जस्ता व्यक्तिगत जानकारी अनलाइन प्लेटफर्महरूमा सार्वजनिक गर्ने कामलाई डक्सिङ भनिन्छ । 

घृणाजन्य अभिव्यक्ति 

धम्की दिने वाक्य, अभिव्यक्ति वा लेख जसले कुनै व्यक्ति वा समूहको जात, जाति, धर्म, लैंङ्गिक पहिचान वा यौनिकता विरुद्ध पूर्वाग्रह व्यक्त गर्ने कामहरू पनि अनलाइनमा आउने पोस्टहरूमा गरिने कमेन्टमार्फत हुनेगर्छ । 

हनीट्रयाप 

कसैको जानकारी लिन वा पैसा तथा अन्य निहित उद्देश्य प्राप्त गर्नका लागि लक्षित व्यक्तिसामु मोहक तरिकाले देखापर्ने काम नै हनीट्रयाप हो । 

पहिचान चोरी गर्नु 

इन्टरनेट वा अफलाइन संसारमा अरु कोही व्यक्तिको रुपमा कुनै काम गर्नको लागि उसको विवरण चोरी गरेर अनलाइन अकाउन्टहरू मार्फत प्रस्तुत हुनु पनि लैङ्गिक दुष्प्रचार अन्तर्गत पर्दछ । 

ललीपपिङ

कुनै व्यक्ति, विशेष गरी महिलालाई, केटाकेटी अथवा बच्चाहरू जस्तो जनाउने शब्द, वाक्यांश वा वाक्य प्रयोग गर्नु । जस्तो कि तिमी अझै बुझ्ने भइसकेकी छैनौं मैया/नानी/बुनु/कान्छी  । 

सहमति बिना गोप्य फोटो अथवा भिडिओ सार्वजनिक गर्नु 

कसैको यौनिक तस्वीर र भिडिओहरू (जुन अनुमति सहित वा बिना अनुमति लिइएका हुन सक्छन्) उनीहरूलाई पीडा दिने वा अप्ठ्यारो पार्ने उद्देश्यले र बदला लिने उद्देश्यले सार्वजनिक गर्नु । 

आउटिङ 

कसैले आफ्नो यौनिकता, यौन अभिमुखीकरण वा लैङ्गिक पहिचानका बारेमा अहिलेसम्म गर्न नखोजेको खुलासा बिना अनुमति सार्वजनिक गरिदिने कामलाई आउटिङ भनिन्छ ।

सेक्सटोर्सन

एक प्रकारको ब्ल्याकमेल, जसमा कसैले पीडितहरूबाट यौन अनुग्रह प्राप्त गर्न धम्कीहरू प्रयोग गर्दछन्।

स्यालो फेक

डिपफेकमा जस्तो मेसिन लर्निंड प्रविधि र एल्गोरिदमिक प्रणालीहरू प्रयोग नगरी साधारण अडियो/भिडियो सम्पादन सफ्टवेयरको प्रयोग गरेर श्रव्य दृश्य सामग्री हेरफेर गर्ने कामलाई स्यालो फेक भनिन्छ ।

कसैको चरित्र हत्या गर्नको लागि यस्तो प्रणाली प्रयोग हुने गर्छन् । 

ट्रोलिङ 

कुनै लक्षित व्यक्तिलाई विचलित पार्ने उद्देश्यले धेरै नै उत्तेजनात्मक र द्वेषपूर्ण टिप्पणी गर्ने कामलाई ट्रोलिङ भनिन्छ ।

धम्की

लक्षित व्यक्तिलाई पीडा दिने, चोटपटक पुर्‍याउने वा अन्य हानी गर्ने उद्देश्यले गरिएका टिप्पणी, जसमा ज्यान मार्ने धम्की र महिलाहरूका लागि अक्सर यौन हिंसाका धम्की समावेश हुने गर्छन् । 

जुमबम्बिङ/गुगलबम्बिङ

यो काम अश्चलिल मेसेज,अडियो वा भिडिओ शेयर गरेर भर्चुअल बैठकलाई नियन्त्रणमा लिने र अवरोध गर्ने कार्य हो । सामान्यतया, कुनै गतिविधिमा बाधा पुऱ्याउन र लक्षित व्यक्तिहरूलाई चुप लगाउनका लागि यी आक्रमण गरिन्छन् ।

(पानोस साउथ एसियाले सार्वजनिक गरेको अनलाइनमा हुने लैङ्गिक दुष्प्रचारको पहिचान र प्रतिरोध कसरी गर्ने नामक हाते पस्तकबाट साभार)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३