close

फाइभजी फ्रिक्वेन्सीमा भारतीय सेवा प्रदायकले खर्चिए २४ खर्ब, अम्बानीको जिओ सबैभन्दा अघि

टेकपाना टेकपाना

साउन १७, २०७९ ११:२३

फाइभजी फ्रिक्वेन्सीमा भारतीय सेवा प्रदायकले खर्चिए २४ खर्ब, अम्बानीको जिओ सबैभन्दा अघि

काठमाडौं । भारतमा लगातार सात दिनदेखि चलेको फाइभजी फ्रिक्वेन्सीको अक्सन सोमबार सम्पन्न भएको छ, जसमा सेवा प्रदायकले कुल १५ खर्ब भारु अर्थात् करिब २४ खर्ब रुपैयाँ खर्च गरेका छन् ।

यसअन्तर्गत अर्बपति मुकेश अम्बानीको टेलिकम कम्पनी जिओ एक्लैले ११ अर्ब डलर बराबरको फ्रिक्वेन्सी हात पारेको छ । ४० चरणमा भएको बोलकबोलमार्फत जिओले कुल २४ हजार ७४० मेगाहर्ज फ्रिक्वेन्सी जितेको हाे ।

प्रतिस्पर्धी कम्पनी भारती एयरटेल, भोडाफोन आइडिया र अर्का अर्बपति गौतम अदानीको कम्पनी अदानी इन्टरप्राइजेज लिमिटेडसँग भएको प्रतिस्पर्धामा जिओले सबैलाई पछि पारेको हो ।

योसँगै विश्वको दोस्रो ठूलो मोबाइल बजार भारतमा जिओले आफूलाई पुनः अब्बल तुल्याउन सफल भएको छ ।

फाइभजीमार्फत भारतमा हाल फोरजीमा उपलब्ध स्पिडको तुलनामा १० गुणा बढी मोबाइल इन्टरनेट उपलब्ध हुने जनाइएको छ ।

त्यसका लागि ७००, ९००, १८००, २४००, २१०० मेगाहर्ज ब्याण्डमा कुल ७२ गिगाहर्ज फ्रिक्वेन्सी अक्सनमा राखिएको थियो ।

त्यसमध्ये जिओले कुल २४ हजार ७४० मेगाहर्ज, एयरटेलले १९ हजार ८६७.८ मेगाहर्ज, भोडाफोन इन्डियाले ६ हजार २२८.४ र अदानी इन्टरप्राइजेजले ४०० मेगाहर्ज  फ्रिक्वेन्सी हात पारेका छन् ।

भारतका दूरसञ्चारमन्त्री आश्विनी वैष्णवका अनुसार टेलिकम अपरेटरहरुले बिक्रीमा राखिएको कुल ७२ गिगाहर्ज स्पेक्ट्रमको ७१ प्रतिशत खरिद गरेका छन् । त्यसमध्ये ७०० मेगाहर्जमा फाइजी फ्रिक्वेन्सी हात पार्ने जिओ एउटा मात्रै कम्पनी बनेको छ ।

एयरटेलले पाँच अर्ब ४० करोड डलर र भोडाफोनले दुई अर्ब ४० करोड डलर मूल्य बराबरको फ्रिक्वेन्सी हात पारेका छन् । यस्तै, अदानीले जम्मा दुई करोड ७० लाख डलरको फ्रिक्वेन्सी खरिद गरेको छ ।

योसँगै यही आउँदो अक्टोबरबाट भारतमा फाइभजीको व्यवसायीक सुरुवात हुने अपेक्षा गरिएको छ । 
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३