close

साइबर सुरक्षालाई व्यवस्थित र प्रभावकारी बनाउन राष्ट्रिय योजना आयोगको सुझाव

टेकपाना टेकपाना

साउन १७, २०७९ १२:२७

साइबर सुरक्षालाई व्यवस्थित र प्रभावकारी बनाउन राष्ट्रिय योजना आयोगको सुझाव

काठमाडौं । पछिल्लो समय साइबर सुरक्षा महत्वपूर्ण पाटो भएको भन्दै यसलाई व्यवस्थित गर्दै यसबाट सिर्जित नकारात्मक प्रभावलाई न्यूनीकरण बताइएको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमासिक एवम् वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न भएको छ ।

बैठकमा मन्त्रालय र मातहतका १८ निकायहरूले चौथो त्रैमासिक/वार्षिक अवधिमा हासिल गरेका प्रगतिहरूको समीक्षा एवम् कार्यान्वयनमा देखिएका समस्या तथा चुनौतीहरूका सम्बन्धमा छलफल भयो थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंहले साइबर सुरक्षालाई व्यवस्थित र प्रभावकारी बनाउन सुझाव दिएकी छन् ।

उनले आजको २१ औं शताब्दीमा साइबर सुरक्षालाई व्यवस्थित गर्दै यसबाट सिर्जित नकारात्मक प्रभावलाई न्यूनीकरण गर्नु पर्ने बताइन् । साथै सूचना प्रविधि क्षेत्रको पनि अर्थतन्त्रमा योगदान हुनुपर्नेमा सबैको ध्यानाकर्षण हुनुपर्ने उल्लेख गरिन् । कार्यक्रममा मन्त्री कार्कीले मन्त्रालयको वार्षिक प्रगति सन्तोषजनक नभएको बताएका छन् ।

उनले चालु आर्थिक वर्ष २०७९/०८० का लागि मन्त्रालय र मन्त्रालय अन्तर्गत निकायहरूका लागि तोकिएका कार्यहरूको पूर्ण कार्यान्वयनका लागि शुरुदेखि नै वार्षिक कार्ययोजना अनुसार काम अगाडि बढाउन समेत निर्देशन दिएका छन् ।

यसैगरी मन्त्री कार्कीले हुलाक सेवालाई समयानुकूल बनाउने तथा सूचना प्रविधिको प्रयोग मार्फत भरपर्दो र गुणस्तरीय बनाउन समेत आग्रह गरेका छन् ।

कार्यक्रममा मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले विगतका अनुभवबाट पाठ सिक्दै आगामी दिनमा कार्यक्रमहरूको समयबद्ध एवम् नतिजामूलक तरिकाले तोकिएको लक्ष्य पूरा गर्न सबैलाई निर्देशन दिएका छन् । साथै कार्यको प्रगति नागरिकको सन्तुष्टिसँग जोडेर विश्लेषण गर्नुपर्ने कार्यमा जोड दिन समेत आग्रह गरे ।
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३