close

फ्लटर एप डेभलपमेन्टमा रूचि राख्नेहरूका लागि सेमिनार हुँदै, यसरी बन्नुहोस् सहभागी

टेकपाना टेकपाना

साउन १८, २०७९ १३:२५

फ्लटर एप डेभलपमेन्टमा रूचि राख्नेहरूका लागि सेमिनार हुँदै, यसरी बन्नुहोस् सहभागी

काठमाडौं । सफ्टवेयर डेभलपमेन्ट तथा अनुसन्धान कम्पनी ट्रुनरीले ‘फ्लटर यात्रा’ कार्यक्रम गर्ने भएको छ । सफ्टवेयर तथा एप डेभलपमेन्टमा लागेका युवाका लागि लक्षित गर्दै कम्पनीले आउँदो साउन २२ गते आइतबार याे कार्यक्रम गर्न लागेकाे हाे ।

त्रिपुरेश्वरस्थित बोउगेन भिल्ला इभेन्टमा हुने कार्यक्रममा फ्लटरका विभिन्न पक्षबारे वक्ताहरूले सहजीकरण गर्ने ट्रुनरीका सह-संस्थापक सुरेन योञ्जनले बताए ।

“एप विकासका लागि फ्लटर एकदमै महत्त्वपूर्ण भाग हो । यस कार्यक्रममा सहभागीलाई सहजीकरण गर्न हामीले एप विकास गरेर बजारमा राम्रो प्रभाव पारेका कम्पनीका दिग्गज व्यक्तित्वलाई आमन्त्रण गरेका छौं । जोबाट फ्लटरबारे विभिन्न जानकारी लिन पाइनेछ,” उनले भने ।

कार्यक्रममा प्रविधि क्षेत्रमा फ्लटरको महत्व, त्यसका स्कोपहरू, फ्लटर मोबाइल डेभलपर हुनुका सकारात्मक पक्ष, सफल डेभलपरको अनुभवबाट नयाँ कुरा सिक्न पाइनुका साथै फ्लटर डेभलपलमेन्ट कम्युनिटीसँग सम्बन्ध विस्तार गर्न सकिने उनले बताए ।

कार्यक्रममा सहभागी हुन प्रविधि क्षेत्रमा पनि विशेषगरी एप डेभलपमेन्ट काम गरिरहेका वा इच्छा पालेका युवालाई आह्वान गरिएको छ ।

यस कार्यक्रमका माध्यमबाट दिग्गज वक्ताको व्यवहारिक तथा वास्तविक अनुभवसँग साक्षात्कार गर्न पाइने, वर्तमान परिवेशमा फ्लटरको महत्त्व त्यसबारे नयाँ जानकारी लिन पाइने र अहिले यस क्षेत्रमा भएका चुनौती र त्यसका समाधानका उपाय पहिचान गर्न सकिने याेञ्जनले बताए ।

कार्यक्रममा वक्ताका रूपमा खल्तीका सिनियर फ्लटर डेभलपर सर्वज्ञ धौबन्जार, लिपफ्रगका सफ्टवेयर इन्जिनियर मनिष तुलाधार, प्रोग्रामिजका लिड डेभलपर सञ्जिव कुमार पण्डित, एप राइटका सफ्टवेयर इन्जिनियर दामोदर लोहनी, ट्रुनरीका सह-संस्थापक सोवित पौडेल लगायत छन् ।

कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिले खल्ती एपको इभेन्ट सेक्सनमा फ्लटर यात्रा छान्नुपर्ने हुन्छ । त्यसपछि त्यहाँ प्रक्रिया अपनाई दर्ता गर्न सकिन्छ । दर्ता शुल्क ५०० रुपैयाँ राखिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३