close

क्यानभासोः जसले सामाजिक सञ्जालबाटै गर्छ दैनिक ५० हजारको व्यापार

हिक्मत आचार्य हिक्मत आचार्य

साउन १८, २०७९ २०:२

क्यानभासोः जसले सामाजिक सञ्जालबाटै गर्छ दैनिक ५० हजारको व्यापार

काठमाडौं । भनिन्छ मानिसमा इख भयो भने उसले जस्तोसुकै कदम पनि उठाउनसक्छ । ललितपुर पाटनका अमन शाक्य (२१) लाई सानैदेखि पैसा कमाउने रहर थियो । मध्यम वर्गीय परिवारमा जन्मिएका अरुले जस्तै उनले पनि पैसा कमाउने सपना पालेका थिए ।

घरकाे अवस्था सामान्य थियाे, तर बुबा-आमाले उनलाई बोर्डिङ स्कुलमा पढाएका थिए । आर्थिक अवस्था सबल नहुँदा आफन्त, छरछिमेकीले बाेर्डिङकाे पढाइ र अरू खर्चको कुरा निकाल्थे । त्यतिबेला शाक्यकाे बालमनाेविज्ञानमा अर्कै छाप पर्न थाल्याे । पैसा सबैभन्दा ठूलाे कुरा हाे भन्ने लाग्याे । अनि स्कुल पढ्दादेखि नै पछि धेरै पैसा कमाउने साेच पाले ।

परिवारले चाँदीकाे हस्तकला सामग्रीमा सानाेतिनाे व्यवसाय गर्थ्याे । यहीकारण उनमा पनि कला र सिर्जनामा आकर्षण थियाे ।

‘’मलाई सानोमा चित्रकलामा खुबै रहर लाग्थ्यो । पछि यसैलाई आधार बनाएर नयाँ केही गर्ने योजना बनाएकाे थिएँ,’’ उनले सुनाए ।

स्कुलकाे पढाइ (एसईई) सकिएपछि उनी स्केच र पेन्टिङको क्षेत्रमा काम गरिरहेको ललितपुरस्थित हाउस अफ प्यालेट्समा सामान्य सहयोगीका रूपमा जोडिए, जहाँ अहिले पनि उनी म्यानेजरका रूपमा कार्यरत छन् ।

“मलाई भित्री मनदेखि कलाकृतिका काममा रूचि थियाे,” अमन त्यसबेलाको अवस्था सम्झँदै भन्छन्, “काम गर्न पाएपछि अरू केही चाहिन्थेन । कार्यालयमा आएर काम गरेकाे केही दिनमै  दुई-तीन दिनमा काममा यति लिप्त भइसकेको थिएँ कि, मेरो कामबाट प्रभावित भएर कार्यालयका संस्थापकले आर्टिस्टका रूपमा त्यहाँ राख्नुभयो ।”

उनी हाउस अफ प्यालेट्समा २०७५ सालदेखि जाेडिएका हुन् । त्यहाँ काम गर्दै जाँदा उनलाई ती आर्ट (कलाकृति) महँगो भएको आभाष भइरहेको हुन्थ्यो । यस्ता आर्टलाई कसरी सस्तो बनाउन सकिएला भनेर घाेत्लिन थाले । पढाइ, खोज र कलाकृतिलाई सँगैसँगै लगेका उनकाे दिमागमा नयाँ याेजना फुर्‍याे ।

‘’अध्ययन गर्दै जाँदा मिनी क्यानभास (सानो क्यानभासमा विभिन्न कुराको आकृति बनाउनु)  को आवश्यकता महसुस गरेँ । जुन हरेक वर्गका मानिसले खरिद गर्न सकून्,’’ उनी भन्छन्, ‘त्यसपछि सुरु भएकाे हाे क्यानभासाे नेपालको यात्रा ।’’

क्यानभासो नेपाल के हो ?

क्यानभासो नेपाल क्यानभास र पिकासो शब्दको सम्मिश्रणबाट बनेको नाम हो । शाक्यलाई ‘पिकासो’ नाम धेरै मनपर्थ्यो । त्यहीबाट प्रभावित भएर उनले आफ्नो परियोजनाको नाम ‘क्यानभासो नेपाल’ राखे ।

यसलाई उनले मिनी (साना) क्यानभास निर्माण तथा बिक्री गर्ने कम्पनीकाे रूपमा अघि सारे ।

हाउस अफ प्यालेट्समा काम गरिरहँदा नै शाक्यको मनमा मिनी क्यानभासको परियोजना हुर्किँदै थियो । उनले त्यसलाई अस्तित्व दिन नजिकका साथी, आफन्त तथा चिनेजानेका मानिसलाई लगानी गर्न आह्वान गरे । तर, कतैबाट लगानी जुट्न सकेन ।

त्यसपछि शाक्यले शेयरमा जम्मा गरेको धेरथाेर रकम निकालेर आफ्नो परियोजना अगाडि बढाउन थाले ।

“‍क्यानभासो नेपाल कसरी सुरु गर्ने र त्यसमा के के गर्ने भन्ने सबै कुराको तयारी भइसकेको थियो”, उनी भन्छन्, “मलाई सबै कुरा नेपालकै होस् भन्ने चाहना थियो ।”

उनले काम सुरु गर्नुअघि क्यानभासको बाहिरी भाग बनाउन केही उत्पादकसँग कुरा राखे । तर, प्रायःले उनको परियोजना केटाकेटीको कामका रूपमा हेरे ।

“मैले पैसा र बजेट लिएर आफ्नो आवश्यकता अनुसारको सामान माग गर्दा पनि उहाँहरूले यसलाई टाइमपासका रूपमा हेर्नुभयो,” उनी भन्छन्, “त्यसपछि केही नलागेर चीनबाट मगाउने निधो गरेँ । चीनबाट मैले मेरो नजिकको दाइको कम्पनीबाट सामान मगाएँ । मैले हजार क्यानभास भनेको ठाउँमा उहाँहरू १० हजार क्यानभास उपलब्ध गराउन राजी हुनुभयो ।”

सामान आएपछि उनी काममा लागे ।

व्यवसायका सुरुवाती दिन

अमनलाई आफ्नो व्यापार अनलाइन तथा सामाजिक सञ्जालबाट गर्ने रहर थियो । तर, बजारको माग के छ भन्ने नबुझी व्यापार सुरु गर्न मनले मानेन । ४० देखि ५० ओटा मिनी क्यानभास बनाएर पाटन क्षेत्रको एउटा पसलमा बिक्री गर्न दिए ।

त्यसबेला उनले मिनी क्यानभासमा विभिन्न प्राकृतिक दृश्य समावेश गरी पेन्टिङ बनाएका थिए । हेर्दा सानो, चिटिक्क परेको तथा घरमा राख्नलाई पनि उपयुक्त भएपछि मिनी क्यानभास सबैको रोजाइमा पर्‍यो । पसलमा राखेका मिनी क्यानभासका केही स्याम्पल पनि समयभन्दा अघि नै बिक्री भइसकेका थिए ।

“पहिले मानिसहरूलाई मिनी क्यानभास मन पर्छ कि पर्दैन भन्ने बुझ्नका लागि मैले पाटनको एउटा पसलमा राख्न दिएको थिएँ,” उनी सम्झन्छन्, “पाटनको पसलमा राखेको मिनी क्यानभास अपेक्षा गरिएको समयभन्दा अघि नै बिक्री भइसकेका थिए । त्यसपछि मैले यसलाई सामाजिक सञ्जालमा जोड्ने योजना बनाएँ ।”

उनले केही चर्चित कलाकारको तस्वीर मिनी क्यानभासमा उतारेर उनीहरूलाई उपहारका रूपमा दिए । उपहारका रूपमा सानो क्यानभासमा आफ्नो तस्वीर देख्दा सेलीब्रेटीहरू खुसी हुन्थे । र त्यस क्यानभासको फोटो खिचेर क्यानभासो नेपाललाई ट्याग गर्दै आफ्नो सामाजिक सञ्जालको पोस्ट तथा स्टोरीमा राख्दथे । त्यसबाट क्यानभासो नेपाल चर्चित बन्दै गइरहेको थियो ।

उनलाई त्यही स्टोरीका माध्यमबाट विभिन्न व्यक्तिले आफ्नो तस्वीर क्यानभासमा बनाइदिन अनुरोध गर्न थाले ।

“सेलिब्रेटीले क्यानभासको फोटो आफ्नो स्टोरीमा राख्दा विभिन्न व्यक्तिले क्यानभासो नेपाललाई चिन्नुभयो,” उनले व्यापार विस्तार हुँदै गर्दाको अवस्था स्मरण गरे, “त्यसबाट अपेक्षित मागहरू आइरहेको थियो । मेरो व्यापार त्योबेला आकासियो, जब पाराडाइम टिभीमा हामीले बनाएको क्यानभास पनि उपहारका रूपमा दिन थालियो ।”

सम्झौता अनुसार केही रकम खर्च गरेर शाक्यले पाराडाइम टिभी नामक युट्युब च्यानललाई प्रोमोसन गर्न दिए । क्यानभासो नेपालबाट बनेको मिनी क्यानभास त्यस कार्यक्रममा आएका गेस्टलाई दिन थालेपछि मिनी क्यानभासको माग बढ्न थाल्यो ।

कसरी अर्डर गर्न सकिन्छ ?

क्यानभासो नेपालबाट उपलब्ध हुने मिनी क्यानभासमा आफूलाई मन परेको मान्छे, जनावर वा आफ्नो तस्वीर बनाई माग्न सकिन्छ । मिनी क्यानभासमा एउटा मात्र अनुहार बनाउनु छ भने त्यसको मूल्य ७९९ पर्छ ।

त्यस्तै मिनी क्यानभासमा दुई वा दुईभन्दा बढी अनुहार बनाउन छ भने त्यसको शुल्क ९९९ रुपैयाँ पर्छ ।

क्यानभासो नेपालबाट आफूलाई आवश्यक परेको क्यानभास बनाउनुपर्‍यो भने सोझै क्यानभासो नेपालको इन्स्टाग्राम वा फेसबुक पेजमा मेसेज गर्न सकिन्छ ।

सामाजिक सञ्जाल व्यवस्थापन गर्ने कर्मचारी छुट्टै भएकाले बिहानदेखि राति १० बजेसम्म च्याट गर्न सकिन्छ । त्यसमा आफूले मिनी क्यानभासमा उतार्न चाहेको फोटो पठाएपछि आफूलाई कस्तो चाहिएको भन्ने सबै कुरा खुलाउनुपर्ने हुन्छ ।

त्यसपछि कम्पनीले कहिले बन्छ भन्ने कुरा निर्धारण गरेर समय पठाउँछन् । मिनी क्यानभासमा पेन्टिङ बनाइसकेपछि आफूलाई कसरी लिन उपयुक्त हुन्छ भन्ने विचार गर्नुपर्ने हुन्छ ।

यसमा अनलाइन डेलिभरी र भौतिक रूपमा स्टोरमै गएर लिने व्यवस्था छ । कुरियरमर्फत पठाउनुपर्ने भएकाले अर्डर देशको जुनसुकै ठाउँमा पठाउनसक्ने शाक्य बताउँछन् । क्यानभासो नेपालमा देश-विदेशबाट मिनी क्यानभास अर्डर गर्न सकिन्छ । 

सामाजिक सञ्जालको अधिक प्रयोग

सामाजिक सञ्जाल व्यापार गर्नका लागि मात्र नभई व्यापार व्यवस्थापन गर्न सघाएको शाक्य बताउँछन् । “प्रायः मानिसहरूले सामाजिक सञ्जाललाई समय बिताउनका लागि मात्र प्रयोग गरिरहेका हुन्छन्,” उनी भन्छन्, “यसलाई सही तरिकाले प्रयोग गर्न जानियो भने सामाजिक सञ्जालले धेरै कुरामा सहयोग पुर्‍याउँछ ।”

उनले सामाजिक सञ्जाल तथा अनलाइनलाई आफ्नो व्यापारको महत्त्वपूर्ण अंश बनाएका छन् । अर्डर आएका हरेक सामान व्यवस्थापन गर्नेदेखि कुन काम कहिलेसम्म सम्पन्न गर्ने भन्ने तालिका सामाजिक सञ्जालमा नै रहेको छ ।

उनीहरू समूहमा ह्वाट्सएप, भाइबर जस्ता मेसेजिङ एपबाट अर्डर व्यवस्थापन गर्ने गर्छन् । यस्ता मेसेजिङ एपले व्यापार सिस्टम्याटिक तरिकाले अगाडि बढाउन सफल रहेको उनको भनाइ छ ।

रोजगारको अवसर;

क्यानभासो नेपालमा हाल एक दर्जन बढीकाे टिम खडा भएकाे छ । आर्टिस्टदेखि विभिन्न भूमिकामा काम गर्ने कर्मचारीकाे संख्या १३ रहेकाे शाक्यले बताए ।

क्यानभासो नेपालमा काम गर्नका लागि सो व्यक्तिले जुनसुकै जिम्मेवारी पाए पनि मुटु क्यानभासो नेपालको हुनुपर्ने कुरामा शाक्य जोड दिन्छन् । मेहनत गरेर उपलब्धिमूलक काम गर्न सक्ने जनशक्तिको खाँचो रहेको उनको भनाइ छ ।

आम्दानीको आधार

क्यानभासो नेपाल मिनी क्यानभासमा बढी केन्द्रित भएपनि ठूला क्यानभासमा समेत काम गरिरहेको छ । प्रति क्यानभास त्यसमा भएका माग अनुसार ७९९ देखि ९९९ सम्म पर्न जान्छ । ठूला क्यानभासका लागि भने केही शुल्क बढी लाग्छ ।

सबैका लागि उपयुक्त हुने मिनी क्यानभास भएकाले मिनी क्यानभासको अर्डर बढी लिने गरेको शाक्य बताउँछन् । दैनिक सयौं अर्डर आए पनि आफ्नो क्षमता अनुसार ५० ओटा क्यानभासको अर्डर लिने र ४५ देखि ५० हजार रूपैयाँसम्मकाे व्यापार भइरहेकाे उनले जानकारी दिए ।

चुनाैती तथा भावी याेजना

कम्पनीकाे काम हेर्दा जति सरल र राेचक छ, चुनौती नै उत्तिकै छन् ।

“मानिसको मनोभाव बुझेर स्केच पेन्टिङ गर्नुपर्ने हुन्छ,” शाक्य भन्छन्, “उनीहरूको मागलाई आत्मसात् गर्दागर्दै पनि कतिपय अवस्थामा ग्राहकलाई चित्त बुझेको हुँदैन । कतिपयले आफ्नो गर्लफ्रेन्ड/गर्लफ्रेन्डको स्केच बनाउन अर्डर गर्छन् । हामीले स्केच गरिसकेपछि ब्रेकअप भइसक्छ । यो सामान्य कारण हो । अर्डर गरिसकेपछि विभिन्न कारण देखाउँदै सामान नलिने केही घटना देखिएपछि एडभान्स स्वरूप ५०० रुपैयाँ लिन थालेका छाैं ।”

बाहिरी देशबाट क्यानभासका लागि चाहिने सामग्री मगाउन भने कम्पनीले झन्झट भाेगिरहेकाे उनले सुनाए ।

“चीनमा त्यो सामान सय रुपैयाँमा पाइन्छ,” उनी भन्छन्, कुरियर खर्च छोडेर काठमाडौं आइपुग्दा त्यसको शुल्क ४०० पर्न जान्छ ।”

शाक्यको व्यापारका लागि कार्डमा सीमित डलर लोड गर्न मिल्ने व्यवस्था अभिसाप बनेको छ ।

“वार्षिक एउटा अकाउन्टबाट डलर कार्डमा ५०० डलर लोड गर्न मिल्छ,” उनी भन्छन्, “यो रकम सोसल मिडियामा बुस्ट गर्न पनि पुग्दैन । त्यसैले मैले बहिनी, मामु तथा बाबाको अकाउन्ट बनाएर प्रयोग गरिरहेको हुन्छु ।”

त्यस्तै क्यानभासो नेपालको व्यवस्थित कार्यालय र स्टुडियो चाँडै नै ठूलो ठाउँमा सार्ने काम भइरहेको उनले जानकारी दिए ।

शाक्यलाई आउँदा दिनमा अरू देशमा क्यानभासाेकाे फ्रेन्चाइज खाेल्ने रहर छ ।

‘क्यानभासो नेपालजस्तै क्यानभासो भारत, क्यानभासो जापानजस्ता फ्रेन्चाइज विस्तार गर्ने योजनामा छु । हेर्दै जाउँ, काम गरिरहे त्यो लक्ष्यमा पनि पुगिएला,’ मुस्कुराउँदै उनले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३