close

यसै महिनाभित्र भारतमा फाइभजी सेवा सार्वजनिक गर्ने एयरटेलको घोषणा

टेकपाना टेकपाना

साउन १८, २०७९ २१:४७

यसै महिनाभित्र भारतमा फाइभजी सेवा सार्वजनिक गर्ने एयरटेलको घोषणा

काठमाडौं । भारतका मुख्य तीन टेलिकम कम्पनी मध्येको एक भारती एयरटेलले अर्को पुस्ताको सेलुलर नेटवर्क प्रविधि सार्वजनिक गर्ने मिति नजिकै आइपुगेको छ । नयाँ प्रेस विज्ञप्तिमार्फत एयरटेलले अगस्ट महिनाभित्रै फाइभजी सेवा सञ्चालनमा  ल्याउने बताएको हो ।

“यही अगस्टभित्रै एयरटेलले फाइभजी सेवा सुरु गर्ने विषयको घोषणा गर्न पाउँदा हामी एकदमै खुसी छौँ । हाम्रो नेटवर्क प्रबन्ध सम्पन्न भइसकेको छ र हाम्रा ग्राहकहरूमा फाइभजी सम्पर्क सञ्जालको पूर्ण लाभ पुर्‍याउन एयरटेलले विश्वभरका उत्कृष्ट प्रविधि साझेदारसँग काम गर्नेछ,” एयरटेलको प्रेस विज्ञप्तिमा भनिएको छ ।

“अनेकौँ साझेदारसँगको सहकार्यले एयरटेललाई उद्यम तथा व्यवसायिक ग्राहकका लागि न्यून लेटेन्सी,  उच्च डेटा प्रदान गर्ने क्षमता, अपरिवर्तनशील प्रयोगका दृष्टान्तका लागि अति उच्च गतिको फाइभजी सेवालाई सम्भव तुल्याउनेछ,” प्रेस विज्ञप्तिमा थप्दै भनिएको छ ।

भारतमा फाइभजी सेवा उपलब्ध गराउन एयरटेलले एरिक्सन, नोकिया र सामसङलाई नेटवर्क साझेदारको रूपमा साथमा लिएको छ । भारतको दूरसञ्चार विभागले भर्खरै स्पेक्ट्रमको बोलकबोल गराएको थियो ।

जसमा भारती एयरटेलले ९०० मेगाहर्ज, १८०० मेगाहर्ज, २१०० मेगाहर्ज, ३३०० मेगाहर्ज र २६ गिगाहर्ज फ्रिक्वेन्सी ब्यान्डमा गरी कूल १९८६७.८ मेगाहर्ज फ्रिक्वेन्सी हात पारेको छ । अर्कोतर्फ प्रतिस्पर्धी कम्पनी रिलायन्स जियो र भोडाफोन आइडियाको तर्फबाट उनीहरूको फाइभजी सेवा सञ्चालनको विषयमा भने स्पष्टता बाहिर आएको छैन ।

टेलिकमटकको पछिल्लो रिपोर्टको आधारमा जियोका अध्यक्ष आकाश अम्बानीले भारतको ७५ औँ स्वतन्त्रता दिवसको अवसरमा यही १५ अगस्टमा फाइभजी सेवाको घोषणा गर्ने सङ्केत दिएको मान्न सकिन्छ ।

अर्को टेलिकम कम्पनीले पनि यस विषयमा कुनै आधिकारिक जानकारी बाहिर ल्याएको छैन । यद्यपि भारतका मुख्य तीनै टेलिकम कम्पनी भारतमा पहिलो पटक पूर्ण फाइभजी नेटवर्क सार्वजनिक गर्ने होडमा छन् ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३