close

अरू स्मार्टफोनको बिक्री घट्दा आईफोनको माग बढ्यो

टेकपाना टेकपाना

साउन १९, २०७९ १३:८

अरू स्मार्टफोनको बिक्री घट्दा आईफोनको माग बढ्यो

काठमाडौं । विश्व बजारमा स्मार्टफोनको बिक्री घटेको छ । मोबाइल तथा अन्य उपकरणको तथ्याङ्क संकलन गर्ने अन्तर्राष्ट्रिय संस्था क्यानालिसले केही दिनअघि सार्वजनिक गरेकाे एक प्रतिवेदनअनुसार सन् २०२२ को दोस्रो त्रैमासमा स्मार्टफोनको बिक्री अघिल्लो वर्षको तुलनमा ९ प्रतिशतले घटेको हाे ।

बढ्दाे आर्थिक मन्दीकाे असर मोबाइल बजारमा पनि देखिएकाे छ । अन्य ब्राण्डका स्मार्टफोनकाे बजार खस्किए पनि आईफोन १३ को माग भने सबैभन्दा धेरै रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार १७ प्रतिशत हिस्साका साथ आईफोन विश्व बजारकाे दाेस्राे स्थानमा छ ।

सूचीको पहिलो नम्बरमा रहेकाे सामसङकाे २१ प्रतिशत बजार हिस्सा छ । अघिल्लो वर्षको सोही अवधिमा सामङको बजार हिस्सा १८ प्रतिशत थियो ।

मिड-रेन्जका फोनमा सामसङको बढ्दो प्रभावका कारण कम्पनीले आफ्नो हिस्सा बढाउन सफल भएको जनाइएको छ । त्यस्तै तेस्रो नम्बरमा साओमी छ ।

तर याे अवधिमा साओमी मोबाइलकाे बिक्री ठूलो मात्रामा घटेको छ । सन् २०२१ को दास्रो त्रैमासिकमा १७ प्रतिशत बजार हिस्सा रहेको साओमी हाल १४ प्रतिशतमै सीमित भएको छ ।

त्यस्तै ओप्पो र भिभोको अवस्था पनि उस्तै छ । दुवै कम्पनी अघिल्लो वर्षको तुलनामा एक प्रतिशत बजार हिस्सा गुमाउँदै क्रमश: १० र ९ प्रतिशतमा सीमित भएका छन् ।

यसरी स्मार्टफोनको बिक्री घटेसँगै अनुसन्धानकर्ताहरूले निर्यातकर्तालाई नयाँ रणनीति अपनाउन सुझाव दिएका छन् ।

उनीहरूले विश्वमा देखिएको आर्थिक मन्दीसँग जुध्न मिड रेन्ज र लो रेन्जका स्मार्टफोनमा बढी जाेड दिन आग्रह गरेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३