close

भविष्यमा डिजिटल प्रविधिसँगै काम गर्न हरेकलाई आवश्यक पर्ने ४ सीप

टेकपाना टेकपाना

साउन १९, २०७९ १३:४१

भविष्यमा डिजिटल प्रविधिसँगै काम गर्न हरेकलाई आवश्यक पर्ने ४ सीप

काठमाडौं । हालै सार्वजनिक भएकाे एक प्रतिवेदनअनुसार सन् २०३० मा उपलब्ध हुने ८५ प्रतिशत रोजगारीहरू अझै अस्तित्वमा आइसकेका छैनन् । डेलसँगकाे सहकार्यमा ‘इन्स्टिच्युट फार दि फ्युचर’ले तयार पारेको रिपाेर्टमा उक्त कुराकाे उल्लेख गरिएको छ ।

झट्ट सुन्दा अचम्म लाग्नसक्छ । तर विगत १० वर्षमा भएकाे परिवर्तन हेर्ने हाे भने त्यस्ताे अनाैठाे मान्नुपर्ने अवस्था पनि छैन ।

हामीले याे छाेटाे अवधिमा नै सामाजिक सञ्जालकाे तीव्र विकास, कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) र स्वचालित मसिनहरूकाे विकास भएको देखिरहेका छाैँ ।

मानिसहरूले हाल गरिरहरेका काम गर्ने शैलीहरू अब दिनानुदिन परिवर्तन हुँदै जानेछन् । यसका साथै नयाँनयाँ कामहरू अस्तित्वमा आउनेछन् । हामीलाई त्यस बेलामा चाहिने सीप र अनुभवहरू आजको आवश्यकताभन्दा धेरै फरक हुनेछन् । 

मसिनले गर्न नसक्ने, मानिसले नै गर्नु पर्ने कामहरू रहिरहने छन् । तथापि, त्यसबेला प्रविधि प्रयाेग गरेर काम गर्ने क्षमता भने अझ महत्त्वपूर्ण हुनेछ। यस्तोमा आज हामी प्रविधिकाे दुनियाँमा रोजगारीका लागि आवश्यक पर्ने तथा जानिराख्नुपर्ने चार सीपहरूको बारेमा चर्चा गर्दै छौँ । 

१. डिजिटल साक्षरता 

डिजिटल साक्षरता आफैँमा एउटा सीप हो । यस्तो सीपले शाब्दिक रूपमा बढ्दो डिजिटल संसारमा हाम्रो दैनिक जीवनमा सिक्न, काम गर्न र अगाडि बढ्न आवश्यक पर्ने आधारभूत सीपहरूलाई जनाउँछ ।

याे सीप तपाईँसँग छ भने तपाईँ सजिलै विभिन्न प्रविधिहरू आत्मसाथ गर्न र त्यससँगै अभ्यस्त हुन सक्नुहुनेछ । यसले तपाईँकाे कामकाे गुणस्तरमा समेत सकारात्मक प्रभाव पार्ने छ । 

यसमा निम्न सीपहरू पर्दछन्: 

  • कस्तो प्रविधि छ र त्यसलाई कसरी प्रयाेग गर्ने भन्ने सीप ।
  • हाम्राे दैनिक कामहरूमा डिजिटल उपकरण, सफ्टवेयर र एप्लिकेसन प्रयाेगमा ल्याउने सीप ।
  • डिजिटल साधनहरूकाे प्रयाेग गरी अन्य व्यक्तिसँग सञ्चार गर्ने, सहकार्य गर्ने र सूचना आदाप्रदान गर्ने सीप
  • डिजिटल वातावरणमा सुरक्षित हुने सीप

२. डेटा साक्षरता

अहिले हामी चौथो औद्योगिक क्रान्तिको मध्यान्तरमा छौँ । याे एउटा यस्ताे क्रान्ति हाे, जसले डिजिटल र भौतिक संसारलाई जाेड्ने नयाँ प्रविधिकाे विकास तीव्रताका साथ गरिरहेकाे छ ।

त्यसै अनुरूप यो क्रान्तिलाई परिभाषित गरिएको छ । आजभाेलि बजारमा “स्मार्ट” उपकरणहरूको बाढी आइरहेकाे छ । सम्भवत: तपाईँले याे कुरा याद गर्नु भएकाे हाेला । घडीदेखि रेफ्रिजेरेटरसम्म इन्टरनेट जडान भएको हुन्छ । 

यी सबै नयाँ प्रविधि डेटामा निर्भर हुन्छन् । यसकारण हामीलाई भविष्यमा आवश्यक पर्ने महत्त्वपूर्ण सीपहरू मध्ये डेटा साक्षरता एक हो ।

सामान्य रुपमा बुझ्दा डेटा साक्षरता भनेको डेटाको महत्व बुझ्नु र यसलाई कसरी मूल्यमा परिणत गर्ने भन्ने कुरा जान्नु हाे । व्यवसायिक सन्दर्भमा भने तपाईँ उपयुक्त डेटाकाे पहुँच गर्न, डेटासँग काम गर्न, आवश्यक हुँदा डेटामाथि प्रश्न गर्न सक्षम हुन आवश्यक छ ।

प्राविधिक सीप

आजकल ‘प्राविधिक सीप’ एक व्यापक श्रेणी बनिसकेकाे छ । यो केवल भविष्यमा आवश्यक पर्ने आईटी र इन्जिनियरिङ सीपहरू मात्र होइन । कामको प्रकृति परिवर्तन हुँदै जाँदा काम गर्ने शैलीहरू पनि क्ररमशः स्वचालित हुँदै जान्छन्  ।

तर अझै पनि विभिन्न प्रकारका प्राविधिक सीपहरू मूल्यवान छन् । संक्षेपमा भन्नुपर्दा प्राविधिक सीपहरू ‘व्यावहारिक वा शारीरिक सीपहरू’ हुन् । जो कुनै पनि काम सफलतापूर्वक सम्पन्न गर्न आवश्यक पर्दछन् । यस्ता सीपहरू कोडिङ, एआई, डेटा विज्ञान र आईटीभन्दा फरक छन् ।

तर पनि ती सीपहरूकाे माग वास्तवमै निकै उच्च छ । यदि तपाईँ प्लम्बरकाे काम गर्नु हुन्छ भने, तपाईँसँग आवश्यक प्राविधिक सीपहरू छन् । त्यस्तै परियोजना प्रबन्धकहरू, सिकर्मीहरू, नर्सहरू, र ट्रक ड्राइभरहरूसँग पनि प्राविधिक सीपहरू हुन्छन् ।

डिजिटल खतराबारे सचेत

विश्व जति डिजिटल बन्दै गइरहेकाे छ, त्यति नै साइबर अपराधीहरू चलाख, चतुर र घातक हुँदै गइरहेका छन् । यसकाे अर्थ हाम्रो व्यक्तिगत र व्यवसायिक जीवनमा नै ठूलो प्रभाव पार्न सक्ने गरि अझै धेरै नयाँ खतरा/चुनाैतीहरू आउन सक्छन् । 

डिजिटल खतराबारे सचेत हुनु भनेकाे आफू अनलाइनमा हुँदा आउन/हुन सक्ने खतराप्रति सचेत हुनु हाे । साथै डिजिटल उपकरणहरू लिँदा/प्रयाेग गर्दा आफू र आफ्नाे संस्थाकाे सुरक्षा बारे सचेत हुनु हाे ।  

हामी अनलाइनमा हुँदा अनेकौँ गतिविधि गरिरहेका हुन्छाैँ । आजभाेलि त शपिङदेखि लिएर ज्याेतिषीसँग कुरा गर्नेसम्म सबै अनलाइनबाटै हुने गर्छ ।

यस्ताे अवस्थामा आजभाेलि हाम्रा डिजिटल पदचिन्ह तथा छाप पहिलेभन्दा धेरै छन् । यसकार‌‌‌ण दैनिक जीवनमा निम्न कुराहरूबाट बच्नु डिजिटल खतराबारे सचेत हुनु हाे ।

  • डिजिटल लत
  • अनलाइन गोपनीयता र आफ्नो डेटा सुरक्षा
  • पासवर्डकाे सुरक्षा
  • साइबर बुलिङ
  • फिशिङ
  • मालवेयर, र्‍यानसमवेयर र आईओटी आक्रमण

सामान्यतया, यी डिजिटल खतराहरूको जोखिम कम गर्नका लागि हामी सबैले प्रविधिसँग स्वस्थ सम्बन्ध विकास गर्न आवश्यक छ ।  साथै अरूलाई कसरी प्रविधिबाट बढीभन्दा बढी फाइदा लिने भनेर सिकाउनु पर्छ र आफू प्रविधिकाे दास नभई हाम्रो जीवनलाई समृद्ध बनाउनु पदर्छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३