close

नेपालमा पब्जी, फ्रिफायर जस्ता ई-स्पोर्ट्स बन्द होइन, बरु प्रवर्द्धन गरेर आर्थिक लाभ लिन सक्नुपर्छ

गणेश सुवेदी गणेश सुवेदी

साउन २०, २०७९ १५:३७

नेपालमा पब्जी, फ्रिफायर जस्ता ई-स्पोर्ट्स बन्द होइन, बरु प्रवर्द्धन गरेर आर्थिक लाभ लिन सक्नुपर्छ

विश्वमा भर्चुअल गेमको प्रभाव बढ्दै गइरहेको सन्दर्भमा नेपालमा पनि त्यसप्रतिको आकर्षण उर्लिँदो छ । मनोरञ्जन र समय व्यतीत गर्ने माध्यम मात्र नभएर यसले आजको दिनमा ई-स्पोर्टसको रूपमा व्यवसायिक रूप समेत लिएको छ । नेपालमा पनि व्यवसायिक रूपमा ई-स्पोर्टस अगाडि बढ्न खोजिरहेको छ । त्यस्ता विभिन्न सङ्घ संस्थाहरू छन्, जसले ई-स्पोर्टसको क्षेत्रमा काम गरिरहेका छन् । जसमध्ये एक हो, नेपाल ई‍-स्पोर्टस एसोसियसन (नेसा) । नेसाले नेपालमा मोबाइल तथा कम्प्युटरमा खेलिने गेमहरूको प्रवर्द्धन तथा विकासका लागि विभिन्न प्रतियोगिता आयोजना तथा व्यवस्थापन गर्दै आएको छ । नेसा अहिले के गर्दै छ , भविष्यका योजनाहरू केकस्ता छन् , भविष्यमा आयोजना हुने ई‍-स्पोर्टस प्रतियोगिता लगायतका विषयमा टेकपानाका लागि संस्थाका अध्यक्ष सुरज डङ्गोलसँग गणेश सुवेदीले गरेको कुराकानी गरेको छ ।  

नेपाल ई‍-स्पोर्टस एसोसियसनको स्थापनाको उद्देश्य के हो  ?

स्थानीय स्तरमा भइरहेका गेमलाई एउटा प्लेटफर्म दिएर व्यवसायिक खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले नै नेपाल ई‍-स्पोर्टस एसोसियसनको स्थापना गरिएको हो । साथै  ई‍-स्पोर्टसको रूपमा भइरहेको गेमलाई अझ व्यवस्थित र अनुशासित गर्नको लागि पनि हामीले नेपाल  ई‍-स्पोर्टस एसोसियसनको आवश्यकता ठानेका हौँ । 

नेपालको ई-स्पोर्टस अहिले कुन अवस्थामा छ ?

नेपालमा आज पनि ई-स्पोर्टस सुरुवाती चरणमा नै छ । हामी सुरुको २-४ वर्ष नेपाल ई‍-स्पोर्टस एसोसियसन स्थापना गर्न र ई-स्पोर्टस प्रवर्द्धन गर्न तर्फ लाग्यौँ ।

अहिले विभिन्न टुर्नामेन्ट तथा छनोट खेल गराएर टिमहरूलाई अन्तर्राष्ट्रिय एरेनामा भाग लिन पठाइरहेका छौँ । हामीले स्थानीय स्तर सरकार तथा निजी क्षेत्रबाट सहयोग पाउन सक्यौँ भने अवश्य पनि यो क्षेत्रलाई अझै माथि लैजान सक्छौँ ।

ई-स्पोर्टसका खेलाडी तथा टिमहरूको ग्रेडिङ र दर्तालाई कसरी व्यवस्थापन गरिरहनु भएको छ ?

हामीले पहिला जति पनि खेलाडीहरू आए , टुर्नामेन्टमा भाग लिए, सबैलाई नेसाको सदस्यता दिँदै आएका थियौँ । अब भने हामीले एउटा नयाँ दर्ता प्रणाली सुरु गर्दैछौँ, जसले टुर्नामेन्ट हुँदा डकुमेन्ट जम्मा गर्न र प्रमाणित गर्न पनि सजिलो हुनेछ ।

यसका लागि हामी एउटा केन्द्रिकृत प्रणाली बनाउने तयारी गर्दैछौँ । भविष्यमा व्यवसायिक टिमलाई कसरी नेसामा आवद्ध गरेर अगाडि बढ्न सकिन्छ भन्ने विषयमा पनि विचार गरिरहेका छौँ । सबैभन्दा पहिला हामी खेलाडी वर्गीकरणमा काम गरिरहेका छौँ र यो सजिलो पनि छैन ।

यसका लागि विभिन्न आधारहरू चाहिन्छ । विभिन्न खेलको फरक-फरक तरिकाले वर्गीकरण गर्नुपर्ने हुन्छ । हामीले यसको सुरुवात खेलाडी दर्ताबाट गर्दैछौँ र त्यसपछि खेलाडीको वर्गीकरणमा काम गर्ने विषयमा सोचिरहेका छौँ । 

नेपालमा ई-स्पोर्ट्सको विकास र प्रवर्द्धन गर्न सबै खाले गेमहरूलाई समेट्नुपर्ने हुन सक्छ । त्यसका लागि यहाँहरूले के गरिरहनु भएको छ ?

हामीले निरन्तर रुपमा ससाना प्रतियोगिता आयोजना गरिरहेका छौँ । यसबाहेक हामीले हरेक वर्ष नेपाल ई-स्पोर्टस च्याम्पियनशिपको रूपमा एउटा ठुलो टुर्नामेन्ट आयोजना गर्छौँ । 

ई-स्पोर्टसमा धेरै गेम छन् । हामी सबैलाई समेट्न सक्दैनौँ र यसमा धेरैको गुनासो पनि छ । यो गेम छैन, त्यो गेम छैन भनेर धेरै गुनासो आउने गरेका छन् ।

हाल हामीले नेपाल  ई-स्पोर्टस च्याम्पियनशिपमा नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा बोलाइने र नेपालमा खेलिने खाले गेमहरूलाई मात्र समावेश गरेका छौँ । यसलाई कुनै गेमलाई काखा, कुनैलाई पाखा गरेको अर्थमा नहेरिदिन म अनुरोध गर्न चाहन्छु ।

हामीले पनि सीमित स्रोत साधनमा गेम आयोजना गर्नुपर्ने हुन्छ । त्यसैले कतिपय गेमहरूलाई चाहेर पनि समेट्न सकिरहेका छैनौँ । 

एसोसियसनले नेपालमै अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्ने क्षमता राख्छ त ?

अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताको सोच पनि हामीले बनाइरहेको छौँ । ई-स्पोर्टसको दक्षिण एसियाली महासङ्घको खाका पनि तयार भइसकेको छ ।

यो स्थापना हुन मात्र बाँकी छ । हामीले विश्व ई-स्पोर्टस च्याम्पियनशिप गर्न नसके पनि दक्षिण एसियाली ई-स्पोर्टस च्याम्पियनशिप चाहिँ चाँडै नै आयोजना गर्न सक्छौँ भन्ने विश्वास छ ।

नेसाले हालै नेपाल ई-स्पोर्टस च्याम्पियनशिप सम्पन्न गर्‍यो । त्यसको अनुभव कस्तो रह्यो ?

कोरोना महामारीका कारणले बीचमा तीन वर्षसम्म नेपाल ई-स्पोर्ट्स च्याम्पियनशिप रोकिएको थियो । अहिले गर्दा खेलाडीहरूको उत्साह जनक सहभागिता रह्यो । धेरै दर्शक पनि आउन चाहनुहुन्थ्यो ।

तर ठाँउ तथा सीमित स्रोत साधनले गर्दा हामीले समावेश गराउन सकेनौँ । तर पनि हामीले स्ट्रिमिङ गर्दा जुन सल्लाह सुझाव पायौँ, यसको लागि सबैलाई धन्यवाद दिनै पर्छ । यसले हामीलाई अझै उत्साह दिएको छ र भविष्यमा अझै राम्रो प्रतियोगिता गर्ने हाम्रो सोच बनेको छ ।

काठमाडौं महानगरपालिकाले ई-स्पोर्टका लागि १ करोड बजेट छुट्याएको छ । यसलाई चाहिँ कसरी हेरिरहनु भएको छ ?

कसैको आँखा नपुगेको ठाँउमा काठमाडौं महानगरले ई-स्पोर्टसको लागि बजेट छुट्याएकोमा धन्यवाद दिन चाहन्छु । तर ई-स्पोर्टसका लागि यो बजेट केही पनि होइन ।

यसको बारेमा औपचारिक रूपमा केही कुराकानी भएको पनि छैन । तर अनौपचारिक रूपमा भने कुराकानी भइरहेको छ । यसको कार्यान्वयनको पाटोमा हामीलाई पनि समावेश गर्नुहुन्छ भन्ने आशा छ ।

राष्ट्रिय खेलकुद परिषद्‌बाट मान्यता नपाएको खेलका लागि महानगरले बजेट छुट्याएको भनेर आलोचना समेत भएको सुनियो । यसमा तपाईँको प्रतिक्रिया के छ ? 

यसका लागि हामीले राष्ट्रिय खेलकुद परिषद्‌मा दुईतीन वर्ष अगाडि नै निवेदन दिएका थियौँ । तर विभिन्न कारणले परिषदमा सदस्य सचिव छिटोछिटो परिवर्तन भइरहेकाले निर्णय हुन सकिरहेको छैन ।

अहिले खेलकुद ऐन पनि परिवर्तन भएको छ । त्यसै अनुसार यसलाई अगाडि बढाउने सोचमा छौँ । तर पनि मान्यता नपाइकन पनि विभिन्न खेलहरू सञ्चालन भइरहेका छन् । नेपाल  ई‍-स्पोर्टस एसोसिएसनलाई नेपाल ‍‌ ओलम्पिक कमिटीले समर्थन गरेको छ । एसियन गेममा पनि ई‍-स्पोर्टस मेडल गेमको रुपमा रहेको छ ।

त्यसका लागि हामीले पहिलो चरणको नामावली समेत पठाइसकेका छौँ । हामीले भविष्यमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट पनि मान्यता पाउने आशा राखेका छौँ । त्यसका लागि हामीले हाम्रो तर्फबाट गर्नुपर्ने सबै प्रयास गरिरहेका छौँ । 

एसियन गेमको तयारी कसरी हुँदैछ ?

एसियन गेमको लागि हामीले नेपालको छनोट चरण पूरा गरेका छौँ । यही महिनाभित्र हामी श्रीलङ्कासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आयोजना गर्ने तयारीमा छौँ । साथै दक्षिण एसियाका अन्य देशहरूसँग पनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरू आयोजना गर्ने प्रकृया अगाडि बढेको छ । 

हाल नेपालमा अरुले ई‍-स्पोर्टस प्रतियोगिता आयोजना गर्न नेसाबाट अनुमति लिनु अनिवार्य त छैन नि ?

स्थानीय स्तरमा  ई‍-स्पोर्टस प्रतियोगिता आयोजना गर्नु पर्‍यो भने नेसासँग स्वीकृति लिइरहनु पर्दैन । तर नेसासँग साझेदारी गरेर प्रतियोगिता गर्न चाहेको खण्डमा भने सहकार्यका लागि हामी तयार नै छौँ ।

पहिला पनि हामीले साझेदारीमा प्रतियोगिता आयोजना गर्न स्वीकृति दिएका थियौँ । तर केही आयोजकले प्रतियोगिताको लागि पैसा उठाउने अनि प्रतियोगिता नै नगरिदिने वा पुरस्कार नै नदिने गरेको पाइयो ।

त्यसपछि अहिले हामीले अलिक कडाइ गरेका छौँ । तर पनि हामीले मात्र चाहेर ई‍-स्पोर्टसको विकास हुँदैन । यसमा निजी क्षेत्रले वा स्थानीय स्तरबाट नै प्रतियोगिताहरू आयोजना गरेर अगाडि बढ्न सकियो भने मात्र ई‍-स्पोर्टसलाई माथि लैजान सकिन्छ ।

नेसाले ई-स्पोर्टसको विकासका लागि सरकारसँग कुनै समन्वय गरिरहेको छ ?

ई-स्पोर्टसको विकासका लागि हामीले विभिन्न निकायहरूसँग कुरा गरिरहेका छौँ । केही समय अगाडि पनि एक चरणमा राखेपसँग कुराकानी भएको थियो । ई-स्पोर्टस नयाँ पुस्ताको गेम हो ।

यो कसरी खेलिन्छ , यसमा प्रतियोगिताहरू कसरी आयोजना गरिन्छ भन्ने बुझ्नै बाँकी छ । यो डिजिटल रुपमा खेलिने खेल हो । यसमा सबै कुरा नौलो छ । त्यसैले पुरानो सोचले बुझाउन गाह्रो छ ।

हामीले सरकारी निकायहरूसँग पनि कुराकानी गरिरहेका छौँ । दोस्रो नेपाल  ई-स्पोर्टस च्याम्पियनशिप आयोजना गर्दा अतिथिको रूपमा राखेपको उपाध्यक्षलाई बोलाएका थियौँ । उहाँ आउनु पनि भयो । उहाँले यसलाई बुझ्ने प्रयास पनि गर्नु भयो ।

केही सल्लाह सुझाव पनि पायौँ । हाम्रो पर्यटन मन्त्री जीवनराम श्रेष्ठ ओलम्पिक कमिटीको अध्यक्ष हुनुहुन्थ्यो । उहाँले पनि हामीलाई धेरै सहयोग गरिरहनु भएको छ ।

अन्य व्यक्तित्वसँग पनि कुराकानी भइरहेको छ । अहिले भइरहेको काम र विकासलाई हेर्दा लाग्छ हामीले अन्तर्राष्ट्रिय स्तरमा चाँडै नै राम्रो नतिजा ल्याउन सक्छौँ भन्ने आशा छ ।

ई-स्पोर्टसको विकासका लागि सरकारबाट के अपेक्षा छ ?

हामीलाई सरकारी स्तरबाट खासै धेरै आशा छैन । हामीले अहिलेसम्म आफैँ गरेका छौँ । जे जति सक्छौ, माथि लान्छौ भनेर लागि रहेका छौँ । हामीले गर्न नसक्ने भनेको चाहिँ ठुला संरचना निर्माण हो ।

एउटा ई-स्पोर्टस एरेना सरकारले बनाइदियो भने यहाँका ई-स्पोर्टस खेलाडीलाई मात्र होइन, पर्यटन विकासमा पनि मद्दत पुग्न सक्छ । हामी नेपाललाई  ई-स्पोर्टसको हब बनाउन सक्छौँ ।

एसिया तथा दक्षिण एसिया क्षेत्रका विभिन्न प्रतियोगिता यहाँ आयोजना गरेर आम्दानी गर्न सक्छौँ । नेपाल धेरै सुन्दर देश हो । हामीसँग कुरा हुँदा धेरैले सगरमाथाको बेसक्यापमा प्रतियोगिता आयोजना गरौँ भन्नुहुन्छ ।

यो अवसर हामीसँग छ । सरकारले एउटा  ई-स्पोर्टस एरेना बनाउन सक्यो भने हामी यो क्षेत्रमा धेरै ठुलो सफलता हात पार्न सक्छौँ । 

ई-स्पोर्टसले बालबालिका माथि नकारात्मक असर पारेको भन्दै यसको आलोचना समेत हुने गरेको छ । यसप्रति तपाईँको धारणा के छ ?

बालबालिकाको हेरविचार गर्नु अभिभावकको जिम्मा हो । बालबालिकालाई कति बजेदेखि कति बजेसम्म खेल्न दिने , कति बजेदेखि कति बजेसम्म पढ्न लगाउने, त्यो त उहाँहरूले नियन्त्रण गर्ने कुरा हो  । 

जे कुरा पनि धेरै गर्‍यो भने नराम्रो हुन्छ । फुटबल, क्रिकेट पनि २४ सै घण्टा  खेल्नु भयो भने त्यसले पनि नकरात्मक असर गर्छ । ई-स्पोर्टस पनि त्यस्तै हो । हामीले पनि खेलाडी भेला हुँदा उनीहरूलाई भनिरहेका हुन्छौँ कि तपाईँहरूले समय मिलाएर खेल्नु होला ।

तालिका मिलाएर खेल्दा गेम पनि राम्रो हुन्छ । धेरै समय खेलेर गेम राम्रो हुने होइन । ई-स्पोर्टसलाई लिएर विवाद गर्नु भन्दा पनि सरकारको समर्थन भयो भने हामीले गेम खेल्ने समयलाई लिएर केही नियमहरू लागू गर्न सक्छौँ ।

जुन अन्य देशहरूले पनि अभ्यास गरिरहेको विषय हो । एउटा कुनै गेम आईडीबाट चार घण्टा अथवा पाँच घण्टा गेम खेलिसके पछि गेम नचल्ने बनाउन सकिन्छ ।

यस्तो गर्दा दिनमा निश्चित समय मात्र गेम खेल्न पाउने हुन्छ । सरकारको साथ रहे गेम बनाउने कम्पनीलाई यसका लागि अनुरोध गर्न सकिन्छ ।

हुन त यस्ता गेमहरूमाथि प्रतिबन्ध लगाउनुपर्ने सम्मका मागहरू पनि उठिरहेका छन् । ई‍-स्पोर्टस एसोसियसनको प्रमुखको हैसियतले यो सन्दर्भलाई कसरी हेर्नु भएको छ ?

भारतमा गेम माथि प्रतिबन्ध लाग्यो भनेर धेरै कुरा आइरहेका छन् । तर यो पूर्ण रूपमा राजनीतिक कारणले गर्दा भएको हो । डेटा सुरक्षाको हिसाबले उहाँहरूले त्यो कदम चाल्नु भएको हो । प्रतिबन्ध अन्य एपहरू माथि पनि लगाइएको छ ।

यो गेम धेरै खेल्यो, गेमले बिग्रियो भनेर मात्र लगाइएको होइन । नेपालमा पनि कुराहरू उठिरहेका छन् । यहाँ भने हरेक कुरामा उहाँहरूले नबुझेर प्रतिबन्धको माग गरिरहनु भएको छ । ई-स्पोर्टस अहिले सबैका लागि नयाँ छ ।

यो अर्बौँ खर्बौँ डलरको बजार हो । यस सम्बन्धी धेरै ठूलो रोजगारीको अवसर छ । नेपालले यसबाट धेरै फाइदा लिन सक्छ । यदि अहिले हामीले साथ दिएनौँ भने भविष्यमा हामी धेरै पछाडि पर्छौँ ।

त्यसपछि यसमा फर्किन धेरै वर्ष लाग्न सक्छ । त्यसैले यसलाई नकरात्मक रूपमा नहेरी एउटा अर्थतन्त्रको पाटो बनाएर अगाडि बढ्नु उचित हुन्छ ।

छिमेकी भारतको उदाहरण हेर्ने हो गेमबाट प्रयोगकर्ताको डेटा जोखिममा रहेको भन्दै प्रतिबन्ध लगाइएको उदाहरण त तपाईँले नै प्रस्तुत गर्नु भयो । यसप्रति नेपाल चाहिँ सजग हुनु पर्दैन ?

डेटा सुरक्षालाई लिएर धेरै जसो देशको नीति गेमको सर्भर देशभित्रै राख्नुपर्छ भन्ने छ । जसले गर्दा खेलाडीको दर्ता गरिएको डेटा अथवा अन्य जानकारीहरू सुरक्षित रहन्छन् भन्ने मान्यता छ ।

डेटा सुरक्षाको लागि पूरै गेमको सर्भर नै नेपालमा राख्नु पर्दैन । डेटा सर्भर मात्र नेपालमा राख्दा पुग्छ । यही किसिमको नीति बनाएर सरकारले यसका लागि आवश्यक पहल गर्न सक्छ । 


यहाँहरूको भविष्यको योजना के छ ? 

ईस्पोर्ट्स एसोसियसन अहिले खेलाडी दर्ताको काम गरिरहेको छ । हामी अहिले एसियन गेमको पनि तयारी गर्दैछौँ । बालीमा हुने विश्व ई-स्पोर्टस च्याम्पियनशिपको पनि तयारी गर्नु छ ।

यसबाहेक हामी सानातिना अनलाइन प्रतियोगिताहरू पनि गर्दै छौँ । साथै हामी नेपालमा ई-स्पोर्टसको विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निजी क्षेत्रहरूसँग सहकार्य सुरु गर्न खोजिरहेका छौँ । भविष्यमा चाँडै नै हामी त्यसको नतिजा देख्न सक्छौँ ।

ई-स्पोर्टसको क्षेत्रमा कस्ता कस्ता सम्भावनाहरू छन् ? 

ई-स्पोर्टसमा आउन चाहने र अहिले भइरहेका खेलाडीहरूलाई नेसाको सन्देश के छ भने ई-स्पोर्टसका धेरै पाटा छन् । प्रतिस्पर्धात्मक पाटो त भइहाल्यो । यसमा स्ट्रिमिङ गरेर मनोरञ्जन दिने तथा आम्दानी गर्ने पाटो पनि छ ।

साथै ई-स्पोर्टस खेलिसकेपछि ई-स्पोर्टसको रेफ्री भएर पनि काम गर्न सकिन्छ । कुनै टिमको कोच भएर पनि काम गर्न सकिन्छ ।

गेममा कास्टर भएर काम गर्ने अवसर पनि छ । यसबाहेक गेमको धेरै अनुभव छ भने गेम बनाउने कम्पनीमा गेम बनाउने सल्लाहकार भएर पनि काम गर्न सकिन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३