close

पिपुललिङ्कको सेवा नेपालमा पनि, फोरके क्वालिटीमा भिडिओ कलको अनुभव लिन सकिने

टेकपाना टेकपाना

साउन २१, २०७९ १०:३

पिपुललिङ्कको सेवा नेपालमा पनि, फोरके क्वालिटीमा भिडिओ कलको अनुभव लिन सकिने

काठमाडाैं । भारतीय कम्पनी पिपुललिङ्क युनिफाइड कम्युनिकेसनले आफ्नो सेवा नेपालमा पनि विस्तार गरेको छ । सन् २००७ मा स्थापना भएको यो कम्पनीले विशेषगरी भिडिओ कन्फ्रेसिङ क्षेत्रमा काम गर्दै आएको छ ।

कोरोना महामारीपछि भर्चुअल कन्फ्रेन्स र मिटिङकाे अभ्यास बढेको छ । यसलाई मध्यनजर गर्दै कम्पनीले आफ्ना सेवा सुविधालाइ निरन्तर अपडेट गर्दै आइरहेको छ ।

बजारमा हाल पिपुललिंकका १० बढी क्षेत्रमा सफ्टवेयर सेवा उपलब्ध छन् ।

यसअन्तर्गत भिडिओ मिटिङ प्लेटफर्म इनभिसी (inVC), डाक्टर र बिरामीबीच भिडिओ कन्सल्टेसन प्लेटफर्म इनक्लिनिक (inClinic), भर्चुअल कक्षा प्लेटफर्म इनक्लास (inClass), भिडिओ एपीआई प्लेटफर्म इनएपीआई (inAPI), भर्चुअल शपिङ प्लेटफर्म  इनशप (inShop) लगायत छन् ।

यी सबै क्षेत्रमा भिडिओ कन्फ्रेन्सका लागि कम्पनीले होस्ट मोडललाई पनि विस्थापित गरेको छ । बजारमा स्थापित जुम भिडिओ कन्फेरेसिङभन्दा निकै सस्तो मूल्यमा सेवा उपलब्ध गराउँदै आएको कम्पनीकाे दाबी छ ।

लाइसेन्स रहेसम्म सबै प्रयोगकर्ताले समानान्तर रुपमा आफैँ मिटिङ होस्ट गर्न सक्छन ।

पाँच लाख प्रयोगकर्ताबीच एकैपटक भिडिओ कन्फ्रेन्सिङको सफल परीक्षण समेत गरेको कम्पनीले जनाएको छ ।

पिपुललिंकको भिडिओ कन्फ्रेन्समा प्रयाेगर्ताले ३६० डिग्रीको फाेरके अनुभव पाउनेछन् भने क्यामेराले आफैँ टार्गेट पहिचान गरेर फोकस समेत गर्ने कम्पनीकाे भनाइ छ ।

साथै तपाईंले बाहिरको क्यामेरासँगै अन्य ३ इन-ब्युल्ट क्यामेरा पनि प्रयोग गर्न पाउनुहुन्छ । कम्पनीको inAPI अर्को नयाँ फिचर हो ।

यसमार्फत कम्पनीको एपीआई प्रयोग गरेर प्रयाेगकर्ताले भिडिओ कन्फ्रेन्सिङ प्लेटफर्म inVC को सेवा आफ्नो प्लेटफर्ममा इम्बेड गर्नसक्छन् ।

सबै प्रयोगकर्ताले सजिलैसँग इम्बेड गर्नसक्ने तरिकाले डिजाइन गरिएको यो फिचर निकै सजिलो रहेकाे कम्पनीकाे दाबी छ ।

कम्पनीले निःशुल्क एपीआई उपलब्ध गराउँदै आएको छ भने एपीआई इम्बेड गरेपछि त्यहाँबाट हुने भिडिओ कलमा प्रति मिनेट केही पैसा शुल्क लिने गरेको छ ।

सफ्टवेयरमात्र नभएर हार्डवेयरमा पनि काम गरिरहेको कम्पनीले अटोमेसन, कन्फ्रेन्स रुम सेटअपमा आवश्यक चिप, यूएसबी केबलदेखि क्यामेरासम्मका सामान उपलब्ध गराउँछ ।

३५ बढी देशमा सेवा विस्तार गरिसकेकाे पिपुललिंकको सेवा हालै नेपालमा पनि विस्तार भएको हाे । एभरेस्ट बैंक, एनएमबि बैंक, परराष्ट्र मन्त्रालय, डब्लूएचओ नेपाल,  यूएनडीपी नेपाल लगायतले पिपुललिंकको सेवा लिइरहेका छन् ।

नियोटेरिक नेपालका लागि पिपुललिंकको आधिकारिक वितरकको रूपमा रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३