close

क्लाउड कम्प्युटिङ के हो, सरल रुपमा यसरी बुझ्नुहोस्

टेकपाना टेकपाना

साउन २१, २०७९ १७:१५

क्लाउड कम्प्युटिङ के हो, सरल रुपमा यसरी बुझ्नुहोस्

काठमाडौं । क्लाउड कम्प्युटिङ वर्तमान समयमा सामान्य भइसकेको छ । तपाईंले अनलाइन सेवामार्फत ईमेल पठाउने, डकुमेन्ट इडिट गर्ने, फाइल स्टोर गर्नेजस्ता कार्य गर्नुभएकै होला । यी कार्य क्लाउड कम्प्युटिङ अन्तर्गत पर्छन् ।

अहिले साना स्टार्टअपदेखि ठूला कम्पनी सबैले क्लाउड कम्प्युटिङको सेवा लिइरहेका छन् । तपाईंले कम्प्युटरमा कुनै फाइल अफलाइन सेभ गर्नुभयो भने त्यो फाइलको दायरा त्यही कम्प्युटरमै सीमित हुन्छ ।

हार्ड डिस्क बिग्रियो भने तपाईंले सेभ गरेको फाइलमा स्टोर भएको डेटा सबै हराउँछ । यस्तो अवस्था आउन नदिन क्लाउड कम्प्युटिङकाे काम महत्त्वपूर्ण हुन्छ ।

क्लाउड कम्प्युटिङ के हो ? 

क्लाउड कम्प्युटिङले इन्टरनेटमार्फत सर्भर, स्टोरेज, डेटाबेस, सफ्टवेयर, एनालिटिक्स, इन्टेलिजेन्स, नेटवर्किङ उपलब्ध गराउँछ ।

सामान्य भाषामा क्लाउड कम्प्युटिङ एउटा यस्तो स्टोरेज हो, जसलाई  तपाईंले जुनसुकै बेला जुनसुकै डिभाइसमा प्रयोग गर्न सक्नुहुन्छ । 

यसमा तपाईले जुनसुकै साइजको फाइल अनलाइन इडिट गर्न र अनलाइन शेयर गर्न सक्नुहुन्छ । 

सरल भाषामा भन्नुपर्दा क्लाउड कम्प्युटिङ भनेको छिटो, सुरक्षित र सरल तरिकाले इन्टरनेट (क्लाउड) मार्फत सर्भर, स्टोरेज, डेटाबेस, नेटवर्किङ, सफ्टवेयर, एनालिटिक्स र इन्टेलिजेन्सलगायत कम्प्युटिङ सेवाहरूको डेलिभरी हो ।

क्लाउड कम्प्युटिङ एउटा यस्तो मोडल हो, जसले इनटरनेटको मद्दतले डेटालाई अनलाइन व्यवस्थापन, स्टोर र प्रोसेस गर्छ । प्रयोग गर्न निकै सरल भएकै कारण क्लाउड कम्प्युटिङ सफल छ ।

क्लाउड कम्प्युटिङका ३ माेडल

१. पब्लिक क्लाउड 

२. प्राइभेट क्लाउड

३. हाइब्रिड क्लाउड 

१. पब्लिक क्लाउड 

पब्लिक क्लाउड सामान्य सबै सर्वसाधरणका लागि उपलब्ध हुन्छ । पब्लिक क्लाउडलाई तेस्रो-पक्ष आपूर्तिकर्ताद्वारा सार्वजनिक इन्टरनेटमार्फत प्रदान गरिएको कम्प्युटिङ सेवा भनेर बुझ्न सकिन्छ ।

यसमा सबै सिस्टम र सर्भिस सामान्य सर्वसाधारणलाई उपलब्ध हुन्छ । धेरै क्लाउड सेवा प्रदायकले सर्वसाधरणलाई निश्चित परिमाणको स्टोरेज निःशुल्क उपलब्ध गराएका हुन्छन् ।

त्यो निःशुल्क परिमाणभन्दा बढी स्टोरेज प्रयोग गर्नुपरे तपाईंले खरिद गर्नुपर्ने हुन्छ ।

सार्वजनिक क्लाउडका साथ सबै हार्डवेयर, सफ्टवेयर र अन्य सपोर्टिङ पूर्वाधारहरूमा क्लाउड प्रदायकको स्वामित्व र व्यवस्थापन हुन्छ ।

वेब ब्राउजरमार्फत तपाईंले आफ्नो अकाउन्ट म्यानेज गर्न र यी सेवा पहुँच गर्न सक्नुहुन्छ । माइक्रोसफ्ट अज्युर, आईबीएम ब्ल्यु क्लाउड, गुगल क्लाउड, अमेजन कम्प्युट क्लाउड आदिले पब्लिक क्लाउड सेवा उपलब्ध गराउँछन् ।  

२. प्राइभेट क्लाउड

प्राइभेट क्लाउडले विशेषगरी एकल व्यवसाय वा संस्थाले प्रयोग गरेको क्लाउड कम्प्युटिङ स्रोतलाई बुझाउँछ । प्राइभेट क्लाउडमा एउटै संस्थाले मात्र क्लाउड पूर्वाधार सञ्चालन गर्छ ।

यसलाई सम्बन्धित संस्थाद्वारा अन-साइट वा अफ-साइट चलाउन सकिन्छ । कतिपय कम्पनीले थर्ड पार्टी सर्भिस प्रोभाइडरमार्फत पनि प्राइभेट क्लाउड होस्ट गर्ने गर्छन् ।

प्राइभेट क्लाउडमा क्लाउड सेवा र पूर्वाधारहरु प्राइभेट नेटवर्कमै व्यवस्थित हुन्छन् । एडब्लूएस, सिस्को, डेल, गुगलजस्ता कम्पनीले  प्राइभेट क्लाउड उपलब्ध गराउँछन् ।  

३. हाइब्रिड क्लाउड 

पब्लिक क्लाउड र प्राइभेट क्लाउडको संयोजन हो, हाइब्रिड क्लाउड । यसले सामान्यतया अन-प्रिमाइसेस डेटा सेन्टरबाट सार्वजनिक क्लाउडमा कनेक्सन उपलब्ध गराउँछ ।

डेटा र एप्लिकेसनहरूलाई निजी र सार्वजनिक क्लाउडहरू बीच शेयर गर्ने अनुमति दिने हुनाले हाइब्रिड क्लाउडले तपाईंको व्यवसाय विस्तार गर्न अझ सहयोग पुर्‍याउँछ ।

एडब्लूएस, गुगल क्लाउड, अलिबाबा क्लाउड, ओर्‍याकल क्लाउड, आईबीएमजस्ता कम्पनीले हाइब्रिड क्लाउड सेवा उपलब्ध गराउँछन् ।  

क्लाउड सर्भिसका प्रकार

इन्फ्रास्ट्रक्चर एज अ सर्भिस (infrastructure as a service) (IaaS), प्लेटफर्म एज अ सर्भिस (Platform as a service) (PaaS), सफ्टवेयर एज अ सर्भिस (software as a service)(SaaS) र सर्भार्लेस कम्प्युटिङ गरी अधिकांश क्लाउड कम्प्युटिङ सेवाहरू चार ठूला वर्गमा पर्छन् । 

१. इन्फ्रास्ट्रक्चर एज अ सर्भिस (infrastructure as a service) (IaaS)

क्लाउड कम्प्युटिङ सेवाहरूको सबैभन्दा आधारभूत सेवा ‘IaaS’ मार्फत, तपाईंले क्लाउड प्रदायकबाट सर्भरहरू, भर्चुअल मसिन (VMs), स्टोरेज, नेटवर्क, अपरेटिङ सिस्टम लगायत आईटी पूर्वाधारहरू भाडामा लिनुहुन्छ ।

२. प्लेटफर्म एज अ सर्भिस (Platform as a service) (Paas)

प्लेटफर्म एज अ सर्भिसले सफ्टवेयर एप्लिकेसन डेभलप, परीक्षण, वितरण, र व्यवस्थापन गर्नका लागि अन-डिमान्ड वातावरण उपलब्ध गराउनेजस्ता क्लाउड कम्प्युटिङका सेवा उपलब्ध गराउँछ ।

‘पास’ डेभलपरहरुलाई द्रुत रूपमा वेब वा मोबाइल एपहरू विकासका लागि आवश्यक सर्भर, भण्डारण, नेटवर्क, र डेटाबेसहरूको अन्तर्निहित पूर्वाधार सेटअप वा व्यवस्थापन गर्नेबारे चिन्ता नगरी डेभलप गर्न सजिलो बनाउनका लागि डिजाइन गरिएको हो । 

३. सर्भरलेस कम्प्युटिङ

क्लाउड प्रदायकले सर्भर पूर्वाधारको प्रावधान, मर्मत र मापन गर्ने नियमित कार्यलाई ह्यान्डल गर्दछ ।

डेभलपरहरुले प्रयोगका लागि कन्टेनरहरूमा (कन्टेनर एक टेक्नोलोजी हो, जसले एपहरुलाई सम्पूर्ण रनटाइम वातावरणसँग प्याकेज गर्न र अलग गर्न अनुमति दिन्छ) कोड प्याकेज गर्न सक्छन् ।

एक पटक डिप्लोय गरेपछि, सर्भरलेस एपहरू मागअनुसार स्वचालित रूपमा स्केल हुनसक्छन् । 

४. सफ्टवेयर एज अ सर्भिस (software as a service) (SaaS) 

‘सास’ इन्टरनेटमा, मागअनुसार र सामान्यतया सदस्यताको आधारमा सफ्टवेयर, एपहरु प्रदान गर्ने विधि हो ।

‘सास’मार्फत क्लाउड प्रदायकहरूले सफ्टवेयर एप र अन्तर्निहित पूर्वाधारहरू होस्ट र प्रबन्ध गर्छन्, र सफ्टवेयर अपग्रेडहरू र सुरक्षा प्याचिङजस्ता कुनै पनि मर्मत सम्भार गर्छन् । प्रयोगकर्ताहरू वेब ब्राउजरमार्फत एप/सफ्टवेयरमा जडान हुन्छन् । 

हामीलाई क्लाउड भन्ने बित्तिकै स्टोरेज भन्ने बुझाइ छ । तर क्लाउड कम्प्युटिङमा स्टोरेजमात्र नभएर सर्भर, सफ्टवेयर डेटाबेस धेरै सेवा उपलब्ध हुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३