close

सामसङ मोबाइलमा मात्र हुने ५ फिचर

टेकपाना टेकपाना

साउन २१, २०७९ १८:६

सामसङ मोबाइलमा मात्र हुने ५ फिचर

काठमाडौं । सबै एन्ड्रोइड फोनमा एउटै अनुभव पाउन सकिन्न । गुगलले एन्ड्रोइड अपरेटिङ सिस्टमको आधारभूत कुराहरू तयार गर्दैगर्दा माेबाइल निर्माता कम्पनीहरूले आफ्नै निश्चित विशेषता थप गर्ने गर्छन् ।

गुगल आफैँले पनि एन्ड्रोइड फिचरको आधारमा आफ्नो स्मार्टफोन पिक्सेलमा अन्य फोनमा भन्दा फरक फिचरहरू थप गर्नेगर्छ । यसरी नै सामसङले एन्ड्रोइडको आधारमा आफ्ना फोनमा नयाँ फिचर थप गर्नेगर्छ ।

सामसङले एन्ड्रोइडको ‘वन यूआई’ संस्करण प्रयोग गर्छ । सामसङका केही यस्ता फिचर पनि छन्, जुन अन्य कम्पनीहरूको एन्ड्रोइड फोनमा पाउन सकिँदैन । 

१. प्रयोग नहुने एप लुकाउन सकिने फिचर 

मोबाइलमा सधैँजसो प्रयोग हुने एपसँगै कहिलेकाहिँ मात्र प्रयोगमा आउने एपहरू पनि हुन्छन् । यदि प्रयोगकर्ता धेरै प्रयोग नगरिएका एपले आफ्नो स्क्रिनमा ठाउँ नलियाेस् भन्ने चाहन्छन् ।

किनकि यसले इन्टरफेसलाई अव्यवस्थित बनाउँछ, भने यसका लागि सामसङमा यस्ता एपलाई लुकाउने व्यवस्था छ ।

एपहरू अनइन्स्टल गर्नु पनि एउटा विकल्प हो । तर एकदम कम प्रयोग हुने भएका कारण प्रयोगकर्ताले सो एपलाई अनइन्स्टल नगर्न पनि सक्छन् । यस्तो अवस्थामा उक्त एपलाई लुकाउन सकिन्छ ।

– मोबाइलको होम स्क्रिनबाट एप स्क्रिनमा जानुहोस् र स्क्रिनको माथिपट्टि दायाँतिर भएको तीनवटा थोप्लामा क्लिक गर्नुहोस् ।

– त्यसपछि सेटिङमा ट्याप गर्नुहोस् ।

– हाइड एप अप्सनमा क्लिक गर्नुहोस् ।

– आफूले चाहेको एप लुकाउन उक्त एपलाई सेलेक्ट गर्नुहोस् ।

यसरी लुकाएको एपलाई प्रयोग गर्नुपरेमा मोबाइलको सर्च बक्समा गएर लुकाएको एपको नाम क्लिक गर्नुहोस् ।    

२. डिभाइसलाई व्यवस्थित बनाउने फिचर 

मोबाइलको सेटिङ एपमा गएर ब्याट्री एन्ड डिभाइस केयर अप्सनमा क्लिक गरेपछि फोनको स्क्रिनलाई व्यवस्थापन गर्ने विभिन्न अप्सनहरू भेटिन्छन्, जुन अन्य एन्ड्रोइड डिभाइसमा पाइँदैन ।

यो अप्सनभित्र मोबाइलको ब्याट्रीको स्थिति कस्तो छ, स्टोरेज फ्री गर्ने अप्सन, सिस्टम मेमोरी लगायत डिभाइसलाई सुरक्षित राख्न अन्य विभिन्न सेक्युरिटी अप्सनहरू पाउन सकिन्छ ।

यहाँ गएर मोबाइलमा भएका अनावश्यक डेटा, एकैप्रकारको धेरैओटा फाइल, सबैभन्दा ठूलो फाइल लगायतका डेटालाई व्यवस्थापन गर्न सकिन्छ । 

३. अल्वेज-अन डिस्प्लेलाई कस्टमाइज गर्नुहोस् 

सामसङको स्मार्टफोनमा डिस्प्लेको नियन्त्रणमा प्रयोगकर्तामा बढी हुनेगर्छ । प्रयोगकर्ताले आफ्नो लक स्क्रिनमा के देख्न मिल्ने अथवा के देख्न नमिल्ने लगायतका कुराहरूको व्यवस्थापन गर्न सक्छन् ।

मोबाइलको सेटिङमा गई लकस्क्रिन अप्सनमा क्लिक गरेर अल-वेज अन डिस्प्लेमा क्लिक गर्ने, अनि आफ्नो इच्छाअनुसार आफ्नो लकस्क्रिनलाई कस्टमाइज गर्न सकिन्छ ।

प्रयोगकर्ताको सामसङको लकस्क्रिनमा कति समयका लागि अलवेज-डिस्प्ले इनेबल गर्नेदेखि लिएर, लकस्क्रिनको टेक्स्टमा कति ब्राइटनेस राख्ने, लकस्क्रिनमा मिडिया प्लेब्याक अप्सन राख्ने कि नराख्ने लगायतका फिचर प्रयोग गर्न सकिन्छ ।

यद्यपि सामसङकै केही बजेट फोनमा भने यो फिचर नहुन पनि सक्छ ।

४. सुरक्षित फोल्डर क्रियट गर्न मिल्ने फिचर 

सामसङले आफ्ना मिडरेन्ज र फ्ल्यागशिप स्मार्टफोन प्रयोगकर्ताहरूको लागि ‘सेक्योर फोल्डर’ नामक फिचर ल्याएको छ । यस्तो प्रकारको फोल्डरमा मोबाइलमा भएका कुनै पनि फाइलहरू सुरक्षित गरेर राख्न सकिन्छ ।

यसरी सुरक्षित गरेर राखिएको फोल्डरलाई खोल्नको लागि फिंगरप्रिन्ट, पिनकोड अथवा कुनै प्याटर्नको आवश्यकता पर्दछ भने यसभित्र भएका सबै डेटा गोप्य हुन्छन् ।

यो फिचर प्रयोग गर्न मोबाइलको सेटिङ एपमा गएर बायोमेट्रिक एन्ड सेक्युरिटी अप्सनभित्रको सेक्योर फोल्डर अप्सनमा ट्याप गर्नुपर्ने हुन्छ । त्यहाँ भएको प्लस आइकनमा क्लिक गरेर आफूले सुरक्षित राख्न चाहेको फाइलहरू एड गर्न सकिन्छ । 

५. सामसङ डेक्स (Samsung DeX) फिचर 

धेरै फोटो इडिट गर्नुपर्‍यो, अथवा वर्ड प्रोसेसिङको काम गर्नुपर्‍यो भने यो फिचर उपयोगी हुन्छ । प्रयोगकर्ताले यो फिचर प्रयोग गरेर आफ्नो फोनलाई कीबोर्ड, माउस अथवा कम्प्युटर मनिटरसहित प्रयोग गर्न सक्छन् ।

यो फिचरको प्रयोग गरेर आफ्नो स्मार्टफोन डेस्कटप जस्तै गरी प्रयोग गर्न सकिन्छ । यसमा कीबोर्ड शर्टकट, फ्लोयटिङ विन्डोज लगायतका फिचर छन् ।

यद्यपि यो फिचर भने सामसङको ग्यालेक्सी एस सिरिजका स्मार्टफोनहरूमा मात्र उपलब्ध छ । डेक्स केबल प्रयोग गरेर प्रयोगकर्ताले आफ्नो स्मार्टफोनलाई डेस्कटपमा प्रयोग गर्नसक्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३