close

अमेरिकाका अधिकांश स्टार्टअप आप्रवासीबाट स्थापित

टेकपाना टेकपाना

साउन २३, २०७९

अमेरिकाका अधिकांश स्टार्टअप आप्रवासीबाट स्थापित

काठमाडाैँ । पोल्याण्डका टमस गाेर्नी एक आप्रवासीका रूपमा अमेरिका पुगेका थिए । अमेरिका पुगेपछि उनले सुरूमा जुठा भाडा माझे । अरू सामान्य काम गरे । काम गर्दै पैसा बचत गर्न थाले । सोही बचतबाट ग्रोनीले सन् २००१ मा प्रविधि कम्पनी ‘आईपावर’ खडा गरे ।

आईपावर डोमेन र वेब होस्टिङसँग सम्बन्धित कम्पनी हो । स्थापना गरेकाे १० वर्षपछि उनले सो कम्पनी एक अर्ब डलरमा वारबर्ग र गोल्डम्यान साक्सलाई बिक्री गरे ।

त्यसपछि उनले सन् २००६ मा आफ्नो साथीसँग मिलेर फाेन र भिडिओ कन्फेरेन्सिङ कम्पनी ‘नेक्स्टिभा’ स्थापना गरे । हाल २.७ अर्ब डलरभन्दा बढी मूल्य भएको उक्त कम्पनीको कार्यकारी अधिकृत टमस ग्रोनी नै छन् ।

अमेरिकामा मूल्यवान (मस्ट भ्यालुएबल) स्टार्टअप स्थापना गर्नेहरू अधिकांश आप्रवासी रहेका छन् । नेसनल फाउन्डेसन फर अमेरिकन पाेलिसीले गरेकाे एक सर्वेक्षणअनुसार अमेरिकामा मूल्यवान स्टार्टअप स्थापना गर्ने आधाभन्दा बढी स्टार्टअप आप्रवासीले स्थापना गरेका हुन् ।

यसअनुसार अमेरिकामा एक अर्ब डलर (एक खर्ब २५ करोड रुपैयाँ) भन्दा बढी मूल्य भएका स्टार्टअपमध्ये ५५ प्रतिशत (५८२ मध्ये ३१९) आप्रवासीहरूले स्थापना गरेका छन् ।

यसबाहेक लगभग दुई तिहाई (६४ प्रतिशत) एक अर्ब डलर (करिब १ खर्ब २५ अर्ब रुपैयाँ) भन्दा बढी मूल्य भएका युनिकर्न (स्टक मार्केटमा नभएर निजी रूपमा सञ्चालित बिलियन डलर कम्पनी) आप्रवासीहरू वा आप्रवासीहरूका छोराछोरीहरूद्वारा स्थापित छन् ।

यसका साथै ८० प्रतिशत युनिकर्न कम्पनीहरूमा कुनै न कुनै भूमिकामा (संस्थापक वा प्रमुख नेतृत्व भूमिकामा) एक आप्रवासी हुने पनि सर्वेक्षणले देखाएकाे छ ।

याे सर्वेक्षण सन् २०१६ र २०१८ मा नेस्नल फाउन्डेसन फार अमेरिकन पाेलिसीद्वारा गरिएकाे अध्ययनकाे अपडेट हाे । त्यस्तै यस सर्वेक्षणमा सीबी इनसाइटज् (CB Insights) द्वारा ट्र्याक गरिएका ५८० भन्दा बढी युनिकर्न कम्पनीका संस्थापकहरूको जानकारी सङ्कलन र प्रमाणीकरण समावेश गरिएको छ ।

बिलियन डलर कम्पनीका प्रायः आप्रवासी संस्थापकहरूको जीवन कथा सम्झनलायक छन् । त्यसैमध्येका एक हुन्, अर्जेन्टिनाका गुइलेर्मो राउच ।

उनले वेब डेभलपरहरूका लागि क्लाउड प्लेटफर्म ‘भर्ससेल’ स्थापना गरेका छन् । ४०० बढी कर्मचारीहरू भएको उक्त कम्पनीको मूल्य अहिले साढे २.५ अर्ब डलर (३ खर्ब १४ अर्ब रुपैयाँ) रहेको छ ।

राउचले सानै उमेरमा सफ्टवेयर म्यानुअल पढेर अँग्रेजी सिकेका थिए । धेरै आविष्कारहरू उद्यमशीलतामार्फत मात्र प्राप्त हुन्छन्, जसको ज्वलन्त उदाहरण हुन् निकोला टेस्ला र एलेक्ज्याण्डर ग्राहमबेल ।

आप्रवासीका रूपमा रहेका टेस्ला र ग्राहमबेलले उपयोगी सामग्रीको विकास गर्नुका साथै  कम्पनी स्थापना गरेका थिए ।

अमेरिकी कानुन अनुसार त्यहाँ स्टार्टअप भिसा छैन । जसकारण आप्रवासी उद्यमीहरूले व्यवसाय सुरु गरेर स्थायी बसोबास प्राप्त गर्न सक्दैनन् । यसकारण बिलियन डलरभन्दा बढी मूल्य भएकाे कम्पनीका आप्रवासी संस्थापकहरूले शरणार्थी भएर वा रोजगार गर्ने आप्रवासीको रूपमा रहेर ग्रीन कार्ड प्राप्त गर्ने गर्छन् ।

त्यस्तै कतिपय  बालबालिकाकाे रूपमा परिवारसँगै अमेरिका आएका हुन्छन् । अमेरिकामा बिलियन डलर मूल्य भएका स्टार्टअप कम्पनीमध्ये एक चौथाई (५८२ मा १४३)  कम्पनीका संस्थापक अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा अमेरिका गएकाहरू छन् ।

सामान्यतः एचवानबी (H-1B) स्टाटस र स्नातकपछि अन्तर्राष्ट्रिय विद्यार्थीले अमेरिकामा बस्नका लागि रोजगारमा आधारित ग्रीन कार्ड प्राप्त गर्छन् । सर्वेक्षणले थप दुई तथ्य पनि बाहिर निकालेकाे छ ।

३०० बढी आप्रवासीद्वारा स्थापित कम्पनीकाे सामूहिक मूल्य १.२ ट्रिलियन डलर रहेको छ । जुन अर्जेन्टिना, कोलम्बिया र मेक्सिको लगायत धेरै देशको मुख्य स्टक बजारमा सूचीबद्ध सबै कम्पनीहरू भन्दा बढी हाे ।

त्यस्तै आप्रवासी संस्थापकहरू भएका बिलियनडलर कम्पनीहरूले प्रति कम्पनी औसत ८५९ रोजगारी सिर्जना गरेका छन् । जसमा अधिकांश कर्मचारी संयुक्त राज्य अमेरिकका रहेका छन् ।