close

एनसेलको नामबाट सामाजिक सञ्जालमा फिशिङ आक्रमण, सचेत रहन कम्पनीको आग्रह

टेकपाना टेकपाना

साउन २३, २०७९ १७:५९

एनसेलको नामबाट सामाजिक सञ्जालमा फिशिङ आक्रमण, सचेत रहन कम्पनीको आग्रह

काठमाडाैं । दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटाले कम्पनीको नाम र लाेगाे दुरुपयोग गर्दै भ्रामक सामग्री शेयर गरिएको भन्दै आफ्ना ग्राहकलाई सचेत रहन आग्रह गरेको छ ।

एक सूचना जारी गर्दै कम्पनीले आफ्नो नाम, लोगो र पछिल्ला केही अफरका विज्ञापन डिजाइनसमेतकाे दुरुपयोग गरी विभिन्न फेसबुक पेज र लिंकमार्फत प्रयोगकर्तालाई प्रलोभनमा पार्दै भ्रामक पोष्ट तथा सन्देश प्रचार भएको पाइएकाले सजग रहन र त्यस्ता प्रचारसँग सम्बन्धित पेज वा लिंकमा क्लिक आफ्नो विवरण नदिन अनुरोध गरेको छ ।

यस्ता अनाधिकृत रूपमा सञ्चालित पेज, लिंक वा वेबाइटका भ्रामक प्रचारमा विश्वास गर्दा आफ्ना व्यक्तिगत विवरण चोरी हुने, अकाउन्ट ह्याक हुनेजस्ता जोखिम रहने चेतावनीसमेत एनसेलले दिएको छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा प्रतिष्ठित कम्पनीको जस्तै देखिने पेज बनाएर फिशिङ गर्ने प्रवृत्ति बढ्दै गएको छ । नेपाल टेलिकम, नेपाल दूरसञ्चार प्राधिकरण, विभिन्न इन्टरनेट सेवा प्रदायक, मोबाइल ब्राण्ड लगायतका नाममा पनि फेसबुक पेज बनाएर साइबर अपराधीहरुले भ्रामक जानकारी सहित फिशिङ लिङ्क राखिएको पोस्ट बुस्ट गरेका छन् ।

यसरी प्रयोगकर्तालाई आफ्नो व्यक्तिगत विवरण राख्न लगाउने र उनीहरुको अकाउन्ट ह्याक गर्ने जालको रुपमा फिशिङ आक्रमण गर्ने गतिविधि मौलाएको छ ।

एनसेलले आफ्नो आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल पेजबाट मात्र आवश्यक जानकारी लिन अनुराेध गरेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३