close

गर्भवती र नवजात शिशुको हेरविचार गर्न सघाउने नेपाली एप 

टेकपाना टेकपाना

साउन २३, २०७९ १८:५८

गर्भवती र नवजात शिशुको हेरविचार गर्न सघाउने नेपाली एप 

काठमाडौँ । गर्भवती तथा शिशुको हेरचाहमा सहयोग पुर्‍याउने उद्देश्यले बाइनरी गेटवे प्राइभेट लिमिटेडले ‘मेरो मम्मा’ एप सार्वजनिक गरेको छ ।

सोमबार राजधानीमा एक कार्यक्रम गरी कम्पनीले एप सार्वजनिक गरेको हो । योसँगै अब गर्भवती महिलाले स्वास्थ्य सम्बन्धी विभिन्न सेवाहरु एपमार्फत नै लिन सक्नेछन्, जसमा आवश्यकता अनुसार सम्बन्धित चिकित्सकसँग अपोइन्टमेन्ट पनि लिन सकिने जनाइएको छ ।

कम्पनीका सह-संस्थापक रवि अग्रवालले यस एपले गर्भवती हुँदा आवश्यक पर्ने सल्लाह लिन तथा बच्चा जन्मिएपश्चात वा गर्भवती भएको बेला आवश्यक पर्ने सामानहरु किन्न मद्दत गर्ने जानकारी दिए ।

नयाँ आमा बुबा बन्न लागेका वा आमाबुबा बनेका दम्पतीमा बच्चा जन्मिसकेपछि के गर्ने, के किन्ने भन्ने अन्यौलतालाई यस एपले अन्त्य गर्ने कम्पनीले विश्वास लिएको छ ।

यसबाहेक कम्पनीले एपमार्फत नै नवजात शिशु तथा शिशुका आमाहरुमा आइपर्ने समस्या समाधानका लागि पनि एक-अर्कासँग अनलाइनमार्फत नै सहकार्य गर्न सकिने सुविधा रहेको पनि जानकारी दिएको छ ।

साथै एपमा गर्भवती  तथा नवजात शिशुलाई आधार बनाएर लेखिएको विभिन्न सामग्रीहरू पनि  उपलब्ध हुने जनाइएकाे छ ।

यो एप निःशुल्क रुपमा डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ । तर एपअन्तर्गत गरी चिकित्सकको सल्लाह तथा सुविधा लिनका लागि भने केही पैसा लाग्ने कम्पनीले बताएको छ ।

सुरुवाती चरणमा यो एपबाट काठमाडौँभित्र रहेका ग्राहकले मात्र सामान किन्न सक्नेछन् र केही महिनाभित्रै एपलाई देशैभर विस्तार गर्ने कम्पनीले लक्ष्य लिएको छ ।

यो एप एप्पलकाे एपस्टोर तथा एन्ड्रोइडको प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ ।

साथै एप प्रयोग गरेर सामान किन्ने ग्राहकले निःशुल्क ढुवानी, छुट तथा विभिन्न उपहार पाउने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३