close

एलन मस्कले बेचे टेस्लाको पौने ९ खर्ब मूल्यको शेयर

टेकपाना टेकपाना

साउन २५, २०७९ १२:४०

एलन मस्कले बेचे टेस्लाको पौने ९ खर्ब मूल्यको शेयर

काठमाडौं । टेस्लाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले कम्पनीमा रहेको आफ्नो ७९ लाख २० हजारभन्दा बढी कित्ता शेयर बिक्री गरेका छन् । उनले कूल ६.८८ अर्ब डलर अर्थात् करिब ८ खर्ब ७५ अर्ब रुपैयाँमा उक्त शेयर बिक्री गरेका हुन् ।

मङ्गलबारमात्रै अमेरिकाको सेक्युरिटी एण्ड एक्सचेन्ज कमिसनले प्रकाशित गरेको नयाँ वित्तीय विवरण मार्फत मस्कले टेस्लाको शेयर बिक्री गरेको विषय बाहिरिएको हो । उनले यही अगस्ट महिनाको ५ र ९ तारिखमा आफ्नो शेयर बिक्री गरेको उल्लेख छ ।

यो वर्षको सुरुवातमा मस्कले टेस्लाको थप शेयर बिक्री नगर्ने जानकारी सामाजिक सञ्जालमार्फत दिएका थिए । तर, ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर खरिद गर्ने उनको निर्णयका कारण यति बेला टेस्लाको शेयर बिक्री गर्नु परेको बताइएको छ ।

मस्क पछिल्लो समय ट्वीटर खरिदको विषयलाई लिएर कानूनी लडाइ लडिरहेका छन् । सुरुमा कम्पनी खरिद गर्ने निर्णय गरेका उनले ट्वीरबाट ‘फेक अकाउण्ट’ (नक्कली प्रयोगकर्ता) को आवश्यक जानकारी उपलब्ध नगराएको भन्दै खरिद प्रक्रिया रद्द गर्ने निर्णय लिएका थिए ।

त्यससँगै यो विषय अदालतमा पुगेको थियो । तर, अब भने उनले ट्वीटर खरिदलाई पूर्णता दिने आँकलन गरिएको छ । मस्कले शेयर बिक्री गरेको विषय बाहिरिएसँगै मङ्गलबारबाट टेस्लाको शेयर मूल्य घटेको छ ।

त्यसदिन मात्रै दुई प्रतिशतले घटेको बजार बुधबार समेत २.४० प्रतिशतले ओह्रालो लागि सकेको छ । आगामी दिनमा कम्पनीको शेयर थप घट्ने अनुमान गरिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३