close

पेटेन्ट मुद्दामा नोकियासँग हारे ओप्पो र वनप्लस, अब जर्मनीमा स्मार्टफोन बिक्री गर्न नपाउने

टेकपाना टेकपाना

साउन २५, २०७९ १४:१६

पेटेन्ट मुद्दामा नोकियासँग हारे ओप्पो र वनप्लस, अब जर्मनीमा स्मार्टफोन बिक्री गर्न नपाउने

काठमाडौं । लामो समयदेखि प्रविधि कम्पनीबीच पेटेन्ट र लाइसेन्सलाई लिएर विवाद चल्दै आएको छ । यसको एउटा उदाहरण हो, नोकिया र चिनियाँ कम्पनीहरु ओप्पो र वनप्लसको पेटेन्ट मुद्दा ।

पेटेन्टको नियम उल्लङ्घन गरी ओप्पो र वनप्लसले आफ्ना फिचर प्रयोगमा ल्याएको भन्दै नोकिया न्यायका लागि युराेप र एसियाका विभिन्न देशका अदालत पुगेको थियो । नाेकियाले आफूले दर्ता गराएका कतिपय पेटेन्टका साथै कम्पनीको इन्टरफेस, सेक्युरिटी फिचर बिना अनुमति ओप्पो र वनप्लसले प्रयोगमा ल्याएको आरोप लगाएकाे थियाे ।

हालै जर्मनीकाे एक अदालतले नोकियाको पक्षमा फैसला सुनाएपछि ओप्पो र वनप्लसले आफ्नो महत्त्वपूर्ण बजार गुमाउनुपर्ने भएको छ ।

नोकिया र ओप्पोबीचको पेटेन्ट विवाद फाइभजी प्रविधिसँग सम्बन्धित थियो । गत जुलाईमा जर्मनीस्थित म्यानहेम जिल्ला अदालतले नोकियाको पक्षमा आदेश जारी गर्‍यो र दुई पक्षहरूलाई सम्झौतामा पुग्न आदेश दियो ।

यसमा असफल भएमा ओप्पोका फोनहरूमा बिक्री प्रतिबन्ध लगाउने निर्णय भएको थियो । तर यो मुद्दा आपसी समझदारीमा समाधान हुन नसकेपछि ओप्पो र वनप्लसको उत्पादन बिक्रीमा प्रतिबन्ध लाग्ने भएको छ ।

ओप्पोले आफ्नो जर्मन वेबसाइटबाट स्मार्टफोन र अन्य उत्पादनहरूको सूची हटाइसकेको छ । यद्यपि हाल प्रयोगमा रहेका ओप्पो स्मार्टफोनहरूमा कुनै समस्या नआउने बताइएको छ ।

नयाँ फोनहरूको बिक्रीमा भने प्रतिबन्ध लगाइएको छ । जर्मनीको स्मार्टफोन बजारमा ओप्पोको १० प्रतिशत हिस्सा रहेको अनुमान गरिएको छ र यस क्षेत्रमा कम्पनीले वार्षिक करिब २० लाख स्मार्टफोन पठाउने गरेको थिो ।

त्यसैगरी वनप्लसको जर्मन स्टोरले पनि आफ्ना उत्पादनहरू बिक्री गर्न पाउने छैनन् । जर्मनीको रिटेल अथा अनलाइन स्टोरहरूमा वनप्लसको मोबाइलहरूको सूची हटाइएको छ ।

योसँगै अन्य युरोपेली देशमा पनि ओप्पो र वनप्लसका स्मार्टफोन बिक्रीमा प्रतिबन्ध लाग्ने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३