close

बालबालिकालाई धेरै टिकटक देखाउनुहुन्छ ? सावधान !

टेकपाना टेकपाना

साउन २५, २०७९ १४:३९

बालबालिकालाई धेरै टिकटक देखाउनुहुन्छ ? सावधान !

काठमाडौं । टिकटक अहिलेको निकै लोकप्रिय सामाजिक सञ्जाल हो । तैपनि आफ्ना बालबालिकाहरूले त्यसबाट के कस्ता सामग्री हेरिरहेका छन् भन्ने कुरा धेरै अभिभावकको साझा चिन्ताको विषय हो । टिकटकमा असान्दर्भिक सामग्रीदेखि प्रयोगकर्ताको डेटा असुरक्षा सम्म तपाईंले थाहा पाउन जरुरी विषयमा आज हामी चर्चा गर्दैछौँ ।

२.६ अर्ब बढी डाउनलोड रहेको टिकटक अहिले १० वर्षदेखि किशोर किशोरीहरूमा निकै आकर्षक सामाजिक सञ्जाल हो । जब अभिभावकहरूले आफ्ना बालबालिकाको मोबाइलमा टिकटक देख्छन्, त्यसपछि यसको सुरक्षाको विषयले चिन्तित बनाउन थाल्छ ।

सन् २०१४ मा लिप-सिंकिङ एपको रुपमा सुरु भएको यो एपको नाम म्युजिकल्ली रहेको थियो । सन् २०१८ मा बेइजिङको कम्पनीले खरिद गरेपछि चिनियाँ एप टिकटकमा मर्ज भएको थियो । त्यसो त लिप-सिंकिङ अहिले पनि एपको मुख्य फिचरको रुपमा रहेको छ ।

तर अहिले भिडिओ क्लिपको रुपमा गर्भ परीक्षणदेखि ‘ब्लो अप’ पपअप चार्ट फिचर सङ्गीतसम्मका फिचर छन् । रमाइला र समस्या समाधानका सामग्रीले गर्दा टिकटक उर्वर लाग्छ ।

तपाईंका बालबालिकाले कुन सामाजिक सञ्जाल एप चलाउँछन् भन्ने कुराले खासै अर्थ राख्दैन । चाहे त्यो बालबालिका लक्षित युट्युव किड्स जस्तो लिमिटेड भर्सन नै किन नहोस् । जसमा सम्भावित सुरक्षाका विषयहरूलाई सम्बोधन गरिएको हुन्छ ।

त्यसैले टिकटकले पनि एपमा प्यारेन्टल कन्ट्रोल (अभिभावकको नियन्त्रण) सुरु गरेको छ । यसै आधारमा आज हामी तपाईंलाई टिकटक प्रयोग गरिरहँदा आफ्ना बालबालिकालाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा बताउँदै छौँ । 

१. बालबालिका शिकारीको निशानामा पर्न सक्छन्

टिकटकले विश्वभर जोसुकै प्रयोगकर्तालाई अर्कासँग सम्पर्क गर्ने सुविधा दिन्छ । जसमा आफ्नै किसिमका खतराहरू रहेका हुन्छन् । अन्य सामाजिक सञ्जाल प्लेटफर्महरू जस्तै टिकटकमा पनि सोझै म्यासेज गर्न सक्ने तथा कमेन्ट गर्न सकिने फिचर रहेको हुन्छ ।

जसले गर्दा सधैं तपाईंका बालबालिकासँग जोसुकैले च्याट गर्न सक्छ, त्यसमा अपरिचित व्यक्तिहरू समेत हुनसक्छन् । टिकटक यस्तो माध्यम हो, जसले पर्फर्मेन्स अर्थात प्रस्तुतिलाई प्रोत्साहन गर्छ र यसका धेरैजसो प्रयोगकर्ता आफ्नो प्रतिभा देखाउन लालायित हुन्छन् ।

जसले बालबालिकाहरूमाथि शिकारीहरूलाई चाप्लुसी गर्न अथवा नजिक हुन सहज बनाइदिन्छ । यसमा भएको डुएट्स फिचरले तपाईंलाई अर्को प्रयोगकर्ताको भिडिओ तथा लिप-सिंक तथा नृत्यलाई साथमा राखेर नयाँ क्लिप बनाउन सक्नुहुन्छ ।

यौन पिपासुहरूले यो फिचरको दुरुपयोग गर्न सक्छन् । युवा प्रयोगकर्तालाई म्यासेज पठाउन शिकारीहरूले यही डुएट्स फिचर प्रयोग गर्ने गरेको रिपोर्ट बजफिड् न्युजमा प्रकाशित भएको थियो । 

२. जुनसुकै बेला तपाईं असान्दर्भिक सामग्रीसँग ठोक्किन सक्नुहुन्छ

टिकटकको मुख्य फिड सेक्सन दुई भागमा विभाजित छ । ‘फर यू’ चाहिँ डिफल्ट रुपमा रिफर गरिएको हुन्छ, जसमा इन्स्टाग्रामको एक्सप्लोर पेज जस्तै एल्गोरिदमबाट मिल्दा जुल्दा भिडिओ सुझाइएको हुन्छ ।

तर यदि माथि सिरानीमा बायाँतर्फको ‘फलोइङ’ मा जानु भयो भने त्यहाँ तपाईंले फलो गरेका प्रयोगकर्ताको मात्रै भिडिओ देखिन्छ । यसमध्ये डिफल्ट रुपमा रहेको ‘फर यु’ पेजले भने कहिलेकाहिँ तपाईंलाई जोखिमपूर्ण सामग्रीमा पुर्‍याइदिन सक्छ

यतिसम्म कि तपाईंले आफ्नो अकाउन्टलाई प्राइभेट राख्नुभयो भने पनि पब्लिक फिडमा आउने यौनजन्य तथा हिंसात्मक सामग्रीबाट तपाईं निशानामा पर्न सक्नुहुन्छ ।

खुला किसिमका यौनजन्य टिकटकदेखि शारीरिक रुपमा जोखिम निम्त्याउने स्टन्टहरू देखेर तपाईंका बालबालिकाले पनि त्यस्तै टिकटक बनाउने चाहना राख्न सक्छन् । यति मात्र होइन, जातिवादी तथा विभेदपूर्ण कमेन्ट्री देखि अन्य थुप्रै प्रकारका सामग्री टिकटकमा भेटिने गर्दछन् । 

३. मानसिक स्वास्थ्यका हिसाबले घातक हुनसक्छ

टिकटकमा आउने सामग्री मात्रै घातक नभएर त्यसमा आउने कमेन्ट तथा प्रतिक्रियाले आफैमाथि जोखिम निम्त्याउन सक्छ । व्यङ्ग्यात्मक तथा नकारात्मक किसिमका प्रतिक्रियाले गर्दा बालबालिकाहरू डिप्रेसन तथा तनावको शिकार बन्न सक्छन् ।

त्यतिमात्र होइन, सार्वजनिक रुपमा नै उनीहरूलाई आत्महत्याका लागि दुरुत्साहन मिल्न सक्छ । 

४. एपको प्रकृतिले नै बालबालिका तनावको शिकार हुन सक्छन्

टिकटकले कन्टेन्ट तयार पार्ने कार्यका लागि प्रोत्साहन गर्ने गर्छ । प्रयोगकर्ताले रिएक्सन फिचरले बालबालिकाको कलात्मक प्रतिभालाई सहयोग पुर्‍याउने मात्र नभई उनीहरूको तनावको कारण पनि बन्न सक्छ । बालबालिकाहरू थप धेरै र राम्रा कन्टेन्ट बनाउने दबाबमा आउन सक्छन्, जुन उनीहरूका लागि तनावको विषय बन्न सक्छ ।

विशेषगरी उनीहरू लोकप्रिय नहुँदा यस किसिमको अवस्थामा पुग्ने गर्दछन् । यसका साथै विभिन्न किसिमका च्यालेञ्जहरूमा सहभागी हुनु बालबालिकाहरूका लागि खतराको विषय पनि बन्न सक्छ । उदाहरणको रुपमा सिन्यामन च्यालेञ्ज, चकिङ गेम र किकि च्यालेञ्ज हुनसक्छन् ।

५. प्रयोगकर्ता साइबर बुलिङबाट पीडित बन्न सक्छन्

ट्वीटर र फेसबुकमा मात्र होइन, टिकटकमा पनि प्रयोगकर्ता साइबरबुलिङ तथा ट्रोलिङको शिकार बन्न सक्छन् । खासगरी जब भिडिओ रमाइलो र सफल हुँदैन त्यस्तो बेलामा उनीहरू लज्जित महसुस गर्न सक्छन् । जुन कुरा बदमासहरूका लागि उनीहरूमाथि मजाक गर्ने चारो बन्नसक्छ ।

प्रयोगकर्ताले थुप्रै अकाउन्ट बनाउन सक्छन्, विभिन्न फेक नाममा खोलिएका त्यस्ता अकाउन्टमार्फत उनीहरूले आफूलाई मन नपर्ने व्यक्तिहरूलाई निशानामा पार्ने गर्दछन् । कसैमाथि ट्रोल गर्ने कार्य टिकटकमा निकै लोकप्रिय मानिन्छ । यसका लागि विशेषगरी टिकटकमा रहेको रिएक्सन फिचर प्रयोग हुने गर्दछ ।

टिकटकमा रहेको प्रयोगकर्ताको डेटालाई लिएर सुरक्षाको चिन्ताः गत वर्ष अमेरिकी सरकारले चिनियाँ कम्पनीको टिकटक अधिग्रहणलाई लिएर ‘राष्ट्रिय सुरक्षा समीक्षा’ निकालेको थियो ।

संघीय व्यापार आयोगले बालबालिकाको अनलाइन गोपनीयता संरक्षण ऐन उलङ्घन गरेको भन्दै टिकटकमाथि ५७ लाख अमेरिकी डलर जरिवाना गरेको थियो । जुन बालबालिकाको गोपनीयताको विषयलाई लिएर गरिएको अहिलेसम्मकै ठूलो सार्वजनिक जरिवाना हो ।

यो कानून अनुसार कम्पनीहरूले १३ वर्ष मुनीका बालबालिकाको डेटा संकलन गर्नु अघि अभिभावकको अनुमति लिनुपर्ने हुन्छ । तर टिकटकले यो नियम पालना गरेको थिएन ।

यति मात्रै होइन, टिकटक बालबालिकाको डेटा कसरी संकलन गर्छ र उनीहरूको डेटा डिलिट गर्न अनुरोध पठाउने विषयमा समेत अभिभावकलाई जानकारी गराउन असफल भएको थियो । त्यसैले हजारौँ अभिभावकले टिकटक विरुद्ध उजुरी दिएका थए । त्यसपछि टिकटकले आफ्नो प्लेटफर्मको सुरक्षा र गोपनीयता मजबुत बनाउन लागेको हो । 

टिकटकमा सुरक्षाका उपाय

टिकटकले किशोर किशोरीहरूको सुरक्षाका लागि नयाँ सेफ्टी फिचरहरू ल्याएको छ । जसअनुसार १३ देखि १५ वर्ष उमेर समूहका बालबालिकाले राति ९ बजेपछि पुश नोटिफिकेसन पाउँदैनन् । १६ देखि १७ वर्षबीचका किशोरकिशोरीको पुश नोटिफिकेसन १० बजेपछि बन्द हुन्छ ।

१६ र १७ वर्षका किशोरकिशोरीले डाइरेक्ट म्यासेज इनेबल गर्नेे कार्य सक्रिय रुपमा गर्न सक्छन् । साथै १६ वर्ष मुनीका प्रयोगकर्ताले डाइरेक्ट म्यासेजमा पहुँच पाउन सक्दैनन् । १६ वर्ष मुनीका बालबालिकाले आफ्नो पहिलो भिडिओ राख्न खोजेको खन्डमा उनीहरूको गोपनीयताका लागि उचित विकल्पहरू सुझाउने गरिन्छ ।

जसअनुसार कसले उनीहरूको भिडिओ हेर्नसक्ने भन्ने कुरा नखुलाएसम्म भिडिओ पब्लिस हुँदैन । २०२० को फेब्रुअरीबाट टिकटकले नयाँ प्यारेन्टल कन्ट्रोल सेटिङ सार्वजनिक गर्न थालेको थियो ।

‘फ्यामिली सेफ्टी मोड’ नाम दिइएको यो फिचरको सहयोगमा अभिभावकले आफ्ना किशोर किशोरीको टिकटक अकाउन्ट लिङ्क गर्न सक्छन् र ‘डिजिटल वेलबिङ फिचर’ मार्फत नियन्त्रण गर्न सक्छन् ।

यसबाट अभिभावकले स्क्रिन टाइम, रेस्ट्रिक्ट कन्टेन्ट र डाइरेक्ट म्यासेजलाई सीमित गर्न तथा त्यसलाई पूर्ण रुपमा बन्द गर्न पनि सक्छन् । 

यसरी मिलाउनुहोस् आफ्नो बालबालिकाको टिकटक सेटिङ

टिकटक एप तथा आफ्नो बालबालिकाले प्रयोग गर्ने प्रोफाइलमा गएपछि (टिकटक एपको तल दायाँ कुनामा रहेको प्रोफाइलमा गएपछि) तपाईंले माथि दायाँतर्फ कुनामा तीन ओटा लाइन अर्थात धर्सा भएको बटन देख्न सक्नुहुन्छ । त्यसमा दबाएपछि तपाईं सेटिङ्स एन्ड प्राइभेसी सेक्सनमा पुग्नुहुन्छ ।

त्यहाँ रहेको ‘प्राइभेसी’ मा गएर  आफ्नो भिडिओमा ककसले कमेन्ट गर्न पाउने, कसले डुएट गर्न पाउने, भिडिओमा कसले रिएक्ट गर्न सक्ने, कसले म्यासेज पठाउन पाउने र लाइक गरेको भिडिओ ककसले देख्न पाउने आदि मिलाउन सकिन्छ । यसमा ‘एभ्रिवान’ (जोसुकै), ‘फ्रेन्ड्स’ (साथीहरू) र ‘अफ’ (बन्द) गरी तीन ओटा विकल्प दिइएको छ ।

तर दिमागमा के कुरा राख्नुहोस् भने तपाईंका बालबालिकाले एप खोलेर यी सेटिङलाई कुनै पनि समय परिवर्तन गर्न सक्छन् । त्यसैले यसमा तल रहेको ‘डिजिटल वेलबिङ’ मा गएर हेर्नु महत्त्वपूर्ण छ । यसले पासकोड युक्त स्क्रिन टाइम व्यवस्थापन प्रणालीमा पहुँच दिन्छ । साथै असान्दर्भिक सामग्रीलाई सीमित गर्ने ‘रेस्ट्रिक्टेड मोड’ समेत यसमा तपाईंले पाउन सक्नुहुन्छ ।

अनि अर्को कुरा के नबिर्सिनुहोस् भने यो एप १३ वर्ष वा त्यसभन्दा माथिका बालबालिकाहरूका लागि मात्रै हो । त्यसैले आफ्ना बालबालिकाको टिकटक अकाउन्ट चेक गर्नुहोस् र सही जन्म मिति राख्नुहोस् ।

किनभने केही बालबालिकाले आफ्नो अकाउन्टका लागि गलत उमेर राख्न सक्छन्, जसले गर्दा उनीहरू वास्तविक भन्दा बढी उमेरको लाग्न सक्छन् । यो कुरा खतरनाक छ किन भने उनीहरूको उमेरका लागि असान्दर्भिक वा अनुचित हुने सामग्रीहरू देखा पर्ने सम्भावना बढी हुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३