close

अनलाइनबाटै यसरी दर्ता गराउनुहोस् विवाह, जन्म, मृत्यु, बसाईसराई र सम्बन्ध विच्छेद

टेकपाना टेकपाना

पुस २८, २०७६ ९:३२

अनलाइनबाटै यसरी दर्ता गराउनुहोस् विवाह, जन्म, मृत्यु, बसाईसराई र सम्बन्ध विच्छेद

अब अनलाइनबाटै व्यक्तिगत घटना दर्ता गराउन सकिने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्म, मृत्यु, विवाह दर्ता, सम्बन्ध विच्छेद र बसाईसराई दर्ता सहज बनाउन अनलाइन सूचना प्रणाली सञ्चालनमा ल्याएको हो । 

हाल देशभरका स्थानीय तहका कूल ६ हजार ७४३ वडामध्ये दुई हजार ६१८ कार्यालयमा अनलाइन सूचना प्रणाली मार्फत व्यक्तिगत घटना दर्ता गराउन सकिने विभागले जनाएको छ । यो सेवा क्रमशः देशभरका सबै वडाहरुमा विस्तार गर्ने लक्ष्यका साथ काम भइरहेको विभागका निर्देशक सुभास ढकालले जानकारी दिए । 

विभागका अनुसार हालसम्म पाँच लाख ७५ हजार १६२ जन्मदर्ता, एक लाख २६ हजार ४७९ बसाई सराई दर्ता, दुई लाख ४६ हजार ७५७ विवाह दर्ता, ६ हजार ३८२ सम्बन्ध विच्छेद दर्ता र एक लाख ३७ हजार ६२३ मृत्यु दर्ता अनलाइनबाट भइसकेका छन् ।

त्यसो त यो सेवा भर्खरै सुरु भएको भने होइन । १३ चैत २०७३ देखि सुरु भएको यो सेवा अनलाइन सूचना प्रणाली विस्तार हुने क्रम पछिल्लो समय तीब्र भएको छ । यस विषयमा धेरैलाई थाहा नहुन सक्छ ।

तीब्र गतिको इन्टरनेट सेवाको पहुँच नभएकाले तत्कालै सबै वडामा सेवा सुरु गर्न ढिलाई भएको विभाग अन्तर्गतको व्यवस्थापन सूचना प्रणाली (एमआईएस) का टिम लिडर निर्मल शर्मा बताउँछन् । ‘वडा सचिव नभेटिने, प्राविधिक कर्मचारीको अभाव आदि कारणले पनि सेवा विस्तारमा ढिलाई भइरहेको छ,’  उनले भने । सन् २०२१ सम्ममा देशभरका सबै वडामा यो सेवा विस्तार गरिसक्ने सरकारी लक्ष्य छ । 

कुन कुन वडा कार्यालयमा छ अनलाइन सेवा ?

अनलाइनबाटै व्यक्तिगत घटना दर्ता गराउन सुरुमा यस्तो सेवा सम्बन्धित वडा कार्यालयमा उपलब्ध छ वा छैन भनेर थाहा पाउन आवश्यक छ । आफ्नो वडामा अनलाइन सूचना प्रणाली सेवा रहेको यकीन गर्न सुरुमा यहाँ क्लिक गर्नुहोस् । अब तपाईंले जिल्ला, स्थानीय तह, वडा नम्बर सहितका कार्यालयहरु देख्न सक्नुहुनेछ । एकपछि अर्को पानामा नगएरै तपाईंले आफ्नो वडाको जानकारी लिन सक्नुहुन्छ । 

त्यसका लागि माथि सिरानीमा ‘खोज्नुहोस्’ लेखिएको बक्समा क्लिक गर्नुहोस् । अब बक्समा आफ्नो जिल्ला, स्थानीय तह तथा वडाको नाम टाइप गर्नुहोस् । यसरी खाेज्दा तपाईंको वडा भेटिएमा निश्चिन्त हुनुहोस्, तपाईंको वडामा अनलाइन सूचना प्रणालीको सेवा उपलब्ध छ । अन्यथा यस्तो सेवाका लागि तपाईंले अझै केही समय कुर्नुपर्ने हुनसक्छ  ।

यसरी गर्नुहोस् अनलाइन दर्ता

आफ्नो वडामा अनलाइन सूचना प्रणाली रहेको यकीन गरिसकेपछि जन्म, मृत्यु, बसाईसराई, विवाह, सम्बन्धविच्छेद जस्ता व्यक्तिगत घटना दर्ताका लागि यहाँ क्लिक गर्नुहोस् । अब ‘घटना दर्ताका लागि यहाँ थिच्नुहोस्’ लेखिएको अर्थात कलेजी रंग भएको स्थानमा क्लिक गर्नुहोस् । 

अब तपाईंले एउटा विस्तृत फारम खुलेको पाउनुहुनेछ । त्यसमा तीन पुस्ते सहितको विवरण भर्नुहोस् । हलुका रातो रङ्ग भएका स्थान अनिवार्य रुपमा खुलाउनुहोस् । 

सबै विवरण भरिसकेपछि अन्तिममा रहेको ‘पेश गर्नुहोस्’ बटनमा क्लिक गर्नुहोस् । जन्म दर्ता र मृत्यु दर्ताको लागि एउटा फारम भरे पुग्ने भए पनि विवाह र सम्बन्ध विच्छेदमा दुई ओटा र बसाई सराईमा परिवारका सबै सदस्यको छुट्टा छुट्टै फारम भर्नुपर्ने हुन्छ ।

फारम भरिसकेपछि तपाईंले एउटा अस्थायी टोकन नम्बर पाउनु हुनेछ । त्यस्तो टोकन नम्बर लिएर ३५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा गएर व्यक्तिगत घटना दर्ता गराउन सक्नुहुनेछ । कागजात तथा सम्बन्धित व्यक्तिको प्रमाणीकरणपछि तपाईंलाई वडा कार्यालयले १३ अंकको स्थायी नम्बर उपलब्ध गराउनेछ । यस्तो नम्बर भएका सेवाग्राहीले पुनः व्यक्तिगत घटना दर्ता गराउनुपरे फाराम भरिरहनुपर्ने झञ्जट हुँदैन ।

कार्यालयमै जानुपर्ने भइसकेपछि तपाईंलाई अनलाइन सेवाकाे के अर्थ भन्ने लाग्न सक्छ । तर यसबाट छोटो समयमै स्थानीय तहमा व्यक्तिगत घटना दर्ता गराउन सकिने र कार्यालयकाे भार समेत कम हुने टिम लिडर शर्मा बताउँछन् ।

‘तपाईंले अनलाइनमार्फत फाराम भरिसकेपछि वडामा गएर हस्तलिखित रुपमा फाराम भरिरहनु पर्दैन । कार्यालयको भिडभाड पनि कम हुने भएकाले अनलाइन फाराम भरेको अवस्थामा पाँच मिनेटमै तपाईंले प्रमाणपत्र हात पार्न सक्नुहुन्छ ।,’ उनी भन्छन्, ‘अहिलेको कानूनले गर्दा पनि  अनलाइनबाट प्रमाणपत्र जारी गर्न नमिलेको हो । नयाँ कानून बनेर राष्ट्रिय परिचयपत्र वितरण भएपछि भने पुर्ण रुपमा अनलाइन सेवा दिन सकिने अवस्था बन्नसक्छ ।’ 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०